"साउनको बोलबम यात्रा: त्रिवेणीबाट जल लिएर पर्रोहा शिवधाममा भक्तजनको घुइँचो"

रूपन्देहीको सैनामैना नगरपालिका अन्तर्गत पर्ने पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधाममा साउन महिनाको अवसरमा जलार्पण गर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।
प्रत्येक वर्षको साउन महिनामा कपिलवस्तुको लक्ष्मणघाट, गुल्मी, स्याङ्जा, पाल्पाको रिडी, पश्चिम नवलपरासीको त्रिवेणी र तनहुँको देवघाटलगायत विभिन्न तीर्थस्थलबाट गङ्गाजल ल्याएर पर्रोहा धाममा जलार्पण गर्ने परम्परा रहँदै आएको छ।
गुरुपूर्णिमादेखि रक्षाबन्धनसम्म चल्ने बोलबम यात्रा अन्तर्गत शुक्रबार त्रिवेणीबाट जल लिएर आउँदै गरेको करिब ४५० जना भक्तको टोलीलाई बुटवलमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले स्वागत गर्नुभयो।
उक्त यात्रामा व्यासाचार्य पण्डित किशोरकुमार गौतमसहितको टोली सहभागी थियो। पर्रोहा शिवधामका अध्यक्ष चित्रबहादुर कार्कीका अनुसार बोलबमधाममा रहेको पुरानो खण्डित नन्दीको मूर्ति विधिपूर्वक नारायणी नदी किनारको गजेन्द्रमोक्षधाममा जलसमाधि दिइएको छ।
उहाँले धार्मिक यात्राबाट आपसी सद्भाव, आस्था र विश्वास अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो। धामका संरक्षक पण्डित किशोरकुमार गौतमका अनुसार पहेँलो गेरुवावस्त्रमा बोलबम यात्रा गरी यहाँको शिवलिङ्गमा पवित्र जल अर्पण गरे पुण्य प्राप्त हुने विश्वास गरिन्छ।
साथै, बाढी, पहिरो, नदी कटान, भूक्षयजस्ता प्राकृतिक प्रकोप र साउन महिनामा लाग्ने रोग–व्याधिबाट मुक्तिका लागि पनि यो धार्मिक आस्थाले विशेष स्थान राख्दछ। साउन महिनाभर सञ्चालन हुने बोलबम मेला तथा जलार्पण कार्यले पर्रोहा धामलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्दै लगेको स्थानीयको विश्वास छ।