समाचार

नेपालगन्जका ९ वडामा विपद् जोखिम नक्साङ्कन सम्पन्न, अब सबै वडामा विस्तार

नेपालगन्जका ९ वडामा विपद् जोखिम नक्साङ्कन सम्पन्न, अब सबै वडामा विस्तार

नेपालगन्ज उपमहानगरपालिकाले भूकम्प र आगलागी जस्ता विपद्को जोखिम न्यूनीकरणका लागि पुरानो बजार क्षेत्रअन्तर्गत ९ वडामा जोखिम तथा क्षमता नक्साङ्कन कार्य सम्पन्न गरेको छ। वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ११ मा गरिएको नक्साङ्कन कार्यले घर, सडक, खुला क्षेत्र र सार्वजनिक पूर्वाधारको जोखिम मूल्याङ्कन समेटिएको छ।

नापी शाखा प्रमुख मनराज थापाका अनुसार सहरी क्षेत्रमा जोखिम उच्च भएकाले त्यहीँबाट सुरु गरिएको हो र अब बाँकी २३ वटै वडामा विस्तार गरिनेछ। उपप्रमुख कमरुद्दिन राइले स्थानीय तहमा विपद् व्यवस्थापनका प्रभावकारी काम भएको उल्लेख गर्दै आगामी दिनमा थप प्राथमिकता दिनुपर्ने बताए।

प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले नक्साङ्कनको आधारमा विपद् न्यूनीकरणका योजना निर्माण गरिने जानकारी दिए। सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोग, युएनडीपी, युनिसेफ, युएन ओमान, एचआइ र सिडिएम नेपालको प्राविधिक सहकार्यमा यो कार्य सम्पन्न भएको हो।