भारतले नेपाललाई पौष्टिक चामल आपूर्तिमा सघाउने भयो, के अन्त्य होला खाद्य संकट?

काठमाडौं— भारत र संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (WFP) ले संयुक्त रूपमा नेपालमा पौष्टिक तत्वयुक्त (फोर्टिफाइड) चामलको आपूर्ति र व्यवस्थापन प्रणाली सुधार्न नयाँ परियोजना सुरु गरेका छन्। भारत सरकारको विदेश मन्त्रालयले गत साउन १६ गते नयाँ दिल्लीमा घोषणा गरेको यो परियोजनाले खाद्यान्न वितरण प्रणालीमा रहेको कमजोर पक्षलाई सम्बोधन गर्दै नेपालमा गुणस्तरीय र पौष्टिक चामलको आपूर्ति व्यवस्थापनमा सुधार गर्ने लक्ष्य राखेको छ।
यो परियोजना नेपालका सरोकारवालाहरूलाई भारतको सफल सार्वजनिक वितरण प्रणाली (PDS) बाट सिक्ने अवसर प्रदान गर्नेछ। मुख्य रूपमा लाभार्थी व्यवस्थापन, भण्डारण तथा वितरण मोडेल, अनुगमन प्रणाली, र गुनासो व्यवस्थापन संयन्त्रमा डिजिटल प्रविधिको प्रयोगलाई जोड दिइनेछ। नेपालमा अहिले पनि पौष्टिक खाद्यान्न व्यवस्थापनका क्षेत्रमा दक्ष कार्यबल र प्रभावकारी तथ्याङ्क सङ्कलन प्रणालीको अभाव छ, जसले खाद्य असुरक्षालाई बढावा दिएको छ।
परियोजनाको पहिलो चरणमा नेपालमा आपूर्ति प्रणालीको वर्तमान अवस्थाको मूल्याङ्कन तथा सरोकारवालाहरूसँग छलफल गरिनेछ। दोस्रो चरणमा नेपाली अधिकारीहरूको टोली भारतको भ्रमण गरी त्यहाँका प्रभावकारी खाद्य व्यवस्थापन प्रणालीहरूको अध्ययन गर्नेछन्। अन्तिम चरणमा प्राप्त ज्ञानका आधारमा नेपालमा लागू गर्न सकिने कार्ययोजना निर्माण हुनेछ। यो सम्पूर्ण कार्यक्रम भारतीय प्राविधिक तथा आर्थिक सहयोग (ITEC) कार्यक्रममार्फत सञ्चालन हुनेछ। सन् २००१ यता यस कार्यक्रम अन्तर्गत ३ हजारभन्दा बढी नेपाली अधिकारीहरूले भारतबाट तालिम लिइसकेका छन्।
यो परियोजना भारत–संयुक्त राष्ट्र संघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत छानिएका चारवटा परियोजनामध्ये एक हो। संयुक्त राष्ट्र महासभाको ७८ औँ सत्रमा सन् २०२३ को सेप्टेम्बरमा घोषणा भएको यस पहलको उद्देश्य एसडीजी (दिगो विकास लक्ष्यहरू) पूरा गर्न दक्षिण-दक्षिण सहकार्यलाई मजबुत बनाउनु हो।
नेपाल र भारतबीचको यो नयाँ सहकार्यले खाद्य सुरक्षाका सवालमा अर्थपूर्ण सुधार ल्याउने सम्भावना देखिएको छ। तर के यो परियोजना दीर्घकालीन रूपमा नेपालको खाद्य संकट समाधान गर्न सफल हुनेछ, वा संस्थागत कमजोरी र राजनीतिक प्रतिबद्धताको अभावमा एउटा अस्थायी पहलमा सीमित रहनेछ भन्ने प्रश्न अहिले पनि बाँकी नै छ।