सल्यानको जीवनरेखा अवरुद्ध: लुहाम–कालीमाटी सडकमा पहिरो, ४ दिनसम्म यात्रा ठप्प

कर्णाली प्रदेशको राजधानी सुर्खेत र पश्चिम दाङलाई सल्यानसँग जोड्ने मुख्य वैकल्पिक मार्ग लुहाम–काभ्रा–कालीमाटी सडक आइतबार बिहानैदेखि पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। कालीमाटी गाउँपालिका–१ को दलपुरे भन्ने स्थानमा सुख्खा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो।
स्थानीय वडा अध्यक्ष रविलाल बस्नेतका अनुसार पहिरो निरन्तर झरिरहेकाले ठूलो ढुङ्गा खस्ने उच्च जोखिम रहेको छ। “सडक माथिबाट अझै पनि ढुङ्गा झर्ने सम्भावना छ, तीन–चार दिनसम्म सडक खुल्ने देखिँदैन,” अध्यक्ष बस्नेतले बताए। उनले घटनाबारे सम्बन्धित प्रहरी युनिटलाई जानकारी गराइसकेको समेत जनाए।
लुहामस्थित त्रिवेणी गाउँपालिकाबाट सुर्खेत र दाङ जान यो मार्ग सबैभन्दा छोटो दूरीको भए पनि काभ्रादेखि कालीमाटीसम्मको सडक खण्ड अत्यन्त जीर्ण अवस्थामा रहेको छ। पर्याप्त बजेटको अभाव र प्रदेश तथा संघीय सरकारको कमजोर प्राथमिकताले गर्दा यो सडकको समयमै स्तरोन्नति हुन सकेको छैन।
सडक बन्द हुँदा दैनिकजसो सवारी साधन प्रयोग गर्ने सर्वसाधारण, विद्यार्थी, बिरामी, व्यवसायीहरू प्रभावित बनेका छन्। स्थानीयले सडक तत्काल खुलाउन प्रदेश सरकारसँग आग्रह गरेका छन्। तर निरन्तर पहिरो झर्ने क्रम रोकिएन भने जोखिम अझ बढ्न सक्ने जनाइएको छ।