समाचार

२० किलो मलका लागि किसानको रित्तो बोरासहित फर्कनु पर्यो,कोहलपुरमा सहकारीको चरम लापरवाही

२० किलो मलका लागि किसानको रित्तो बोरासहित फर्कनु पर्यो,कोहलपुरमा सहकारीको चरम लापरवाही

साझा चोकस्थित सहकारी संस्था लिमिटेडले सूचना जारी गर्दै साउन १८ गते प्रतिकिसान २० किलोका दरले रासायनिक मल वितरण गरिने जानकारी दिएपछि सयौँ किसानहरू आइतबार बिहानैदेखि सहकारीको गेटमा लामबद्ध भए। तर घण्टौँ लाइन बसेपछिसमेत मल नपाउँदा उनीहरू रित्तो बोरा बोकेर घर फर्किन बाध्य भए।

“८ वर्ष भयो शेयर सदस्य बनेको, अहिलेसम्म एक किलो पनि मल पाएन”, किसान लालबहादुर बुढा भन्छन्, “चार पटक लाइन बसेँ, न कुपन पाइयो, न मल। सधैं महँगोमा बाहिरबाट मल किन्नुपर्छ।” यस्तै दुःखेसो किसान शेरबहादुर खड्काको पनि छ। “हामीलाई मल कहिल्यै पर्दैन। टाठाबाठाका घरमा मल पुग्छ, हामी भने लाइनमै गाह्रो।”

कोहलपुर–१२ का आसिराम सार्की भन्छन्, “मलका लागि यत्रो दुःख! हरेक वर्ष यही समस्या हुन्छ, नेताहरू भाषण गर्छन् तर हामीले कहिल्यै राहत पाउँदैनौँ।” साढे १० बजेतिर सहकारीले अर्को सूचना निकालेर भिडभाडको कारण मल वितरण स्थगित गरिएको जानकारी गरायो। सूचनामा कुपन पाएका किसानहरूले सोमबार बिहान १० बजेपछि मल लिन सक्ने उल्लेख थियो।

बाँकी किसानहरूले अर्को कोटा आएपछि मात्र मल पाउने जनाइएको छ। सहकारीका अध्यक्ष पारसनाथ थारूले सदस्य धेरै भए पनि कोटा कम आएको कारण समस्या भएको बताए। “१०,३०० सदस्य छन्, तर अन्य सहकारीसरह बराबरी कोटा दिइन्छ। मागअनुसार सरकारले मल नै दिन सक्दैन भने हामी कहाँबाट ल्याएर बाँड्ने?” थारूका अनुसार असारमा १८० बोरा युरिया मल वितरण गरिएको थियो भने अहिले आएको २०० बोरा मलका लागि ३५० कुपन वितरण गरिएको थियो।

तर भिडभाडका कारण मल वितरण असफल भयो। “कुपन पाएका किसानलाई गेटभित्रै मल दिन थाल्दा गेट तोडेर अन्य किसान पसेपछि वितरण रोक्नुपर्‍यो”, उनले भने। सरकारको मल व्यवस्थापनको ढिलासुस्ती र सहकारीहरूको समन्वय अभावले किसानहरू वर्षेनी हैरान हुने गरेका छन्। अध्यक्ष थारू भन्छन्, “हामी पनि किसान हौं, पीडा बुझ्छौं तर हात बाँधिएको छ। सरकारले समयमै मागअनुसारको मल दिनुपर्छ, नत्र यस्तो अवस्थाले उत्पादन क्षमतामै असर गर्छ।”