आकाशे वर्षाले ल्यायो राहत,सर्लाहीका किसानलाई अब रोपाइँको हर्ष, धानमा हरियालीको बहार

लामो समयको प्रतीक्षापछि सर्लाहीमा परेका झिनो तर पर्याप्त वर्षाले यहाँका किसानको अनुहारमा आशा र हर्षको मुस्कान ल्याएको छ। शनिबार रातभर परेको पानीले विशेषगरी चुरे क्षेत्रका किसानलाई राहत दिएको हो। कृषि प्राविधिकहरू भन्छन्— "यो पानी धानबालीका लागि अमृतसरह बन्यो।"
सुक्खाले गर्दा रोपाइँ रोकिएको थियो, पानीका लागि मोटर चलाउने तर विद्युत् समस्याले गर्दा सिँचाइसमेत कठिन थियो। तर अहिलेको वर्षाले बाँझो खेतमा रोपाइँ गर्न सकिने भएको र रोपिएको धान सुक्नबाट जोगिएपछि किसानहरु खुसी छन्। कविलासी नगरपालिका–७ का रामआश्रित महतो भन्छन्, “आकाशे पानी नपरेको भए, मोटर चलाउने अवस्था पनि थिएन। अहिलेको पानीले केही दिन राहत पाएका छौं।”
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाका अनुसार हालसम्म करिब ७० प्रतिशत धान रोपाइँ भइसकेको छ। “अबको एक साताभित्र बाँकी सबै क्षेत्रमा रोपाइँ सकिने अपेक्षा छ,” उहाँले भन्नुभयो। चुरे क्षेत्रमा बेलाबेला वर्षा भएकाले कुलोबाट सिँचाइ सम्भव भएको र त्यहाँ धानबालीमा हरियाली देखिन थालेको किसान बताउँछन्।
लालबन्दी नगरपालिका–१६ परवानीपुरका कृषक कृष्ण गौतमका अनुसार कालिन्जोर खोलाबाट सिँचाइ हुने क्षेत्रका किसानले रोपाइँ सकाइसकेका छन्। “धान हरियो भएर गाँज हाल्न थालेको छ,” गौतमले भने, “अब मल हाल्ने काम सुरु भएको छ।”
पहिला अत्यधिक सुक्खाले कविलासी, मलंगवा, ब्रह्मपुरी, पर्सा, कौडेना जस्ता पालिकामा गम्भीर समस्या थियो। शनिबार रातिको पानीले यी क्षेत्रका किसानको पनि चिन्ता हटाएको कृषि शाखाले जनाएको छ।