समाचार

भटौलीको पुल कटानले रामेछापको वैकल्पिक राजधानी मार्ग ठप्प, सेना र सशस्त्र परिचालन

भटौलीको पुल कटानले रामेछापको वैकल्पिक राजधानी मार्ग ठप्प, सेना र सशस्त्र परिचालन

रामेछाप, मन्थली सदरमुकामलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँ आवागमनका लागि महत्वपूर्ण वैकल्पिक मार्गको रूपमा रहेको भटौली खोलाको पक्की पुलमा शुक्रबार रातिको अविरल वर्षाले कटान गरेपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

भारी वर्षापछिको बाढीले मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने पुलको पकरबासपट्टिको छेउ कटान गरेपछि पुलको एक भाग खाल्डोमा परिणत भएको हो। यसले गर्दा दुईपाङ्ग्रे सवारीबाहेक अन्य ठूला सवारीसाधन पूर्णरूपमा रोकिएका छन्।

जिल्ला प्रशासन कार्यालयका प्रमुख श्यामकृष्ण थापाका अनुसार नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको छ। “पुल जोखिममा रहेकाले तत्काल मर्मत आवश्यक छ,” प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो।

पुलको अवस्था गम्भीर भएको थाहा पाएपछि प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा तथा सुरक्षा निकायका प्रमुखहरूको टोलीले स्थलगत निरीक्षण गरी सम्बन्धित निकायलाई तत्काल मर्मतको निर्देशन दिएको छ। तर, खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण पौडेलले समयमै सूचना दिए पनि बेवास्ता गरिएकाले यस्तो अवस्था आएको गुनासो गर्नुभयो।

स्थानीय केदारप्रसाद ढुङ्गेलका अनुसार शुक्रबार रातिको वर्षाले पुल वरिपरिका अन्य संरचनासमेत बगाएको छ। यो पुल रामेछापको तीन गाउँपालिका जोड्ने मात्र होइन, खुर्कोटको पुल बगाएपछि दोलखा, रामेछाप र ओखलढुङ्गाका सवारीसाधनका लागि काठमाडौँ आवतजावत गर्न प्रयोग हुने वैकल्पिक मार्गसमेत हो। हाल पनि १५ टनभन्दा बढी भार बोक्ने ठूला सवारी यही बाटो प्रयोग गर्दै आएका थिए, तर पुल क्षतिग्रस्त भएपछि जिल्लाको राजधानीसँगको मुख्य आवागमन नै ठप्प भएको छ। जिल्ला प्रशासनले यथाशीघ्र मर्मत कार्य अघि बढाउने तयारी गरिरहेको जनाइएको छ।