पशुपतिमा आज साउने सोमबारको तेस्रो भीड

साउन महिनाको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। बिहान ३ बजेबाटै मन्दिरका सबै चार ढोका खोलिएसँगै दर्शनार्थीहरूको भीड बढ्दै गएको पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव सुवासचन्द्र जोशीले जानकारी दिनुभयो।
साउने सोमबारको अवसरमा भक्तजनको सहज प्रवेश सुनिश्चित गर्न चारवटा अलग–अलग लाइनको व्यवस्था गरिएको छ—गौरीघाट–उमाकुण्ड, मित्रपार्क–दक्षिणामूर्ति, जयवागेश्वरी–शंकराचार्य मठ, र पिङ्गलास्थान–पञ्चदेवल हुँदै पशुपतिमा प्रवेश गरिँदैछ।
साउन महिना र सोमबारलाई भगवान् शिवको प्रिय समय मानिने धार्मिक विश्वासअनुसार, आजको दिन शिव मन्दिरमा पूजा गर्दा मनोकांक्षा पूर्ण हुने, अटल सौभाग्य प्राप्त हुने र समृद्धिको आशिष पाइने जनविश्वास रहेको छ। विशेषगरी विवाहित महिलाहरू श्रीमान्को दीर्घायु र अविवाहित युवतीहरू योग्य वर पाउने कामनाका साथ व्रत बसेर शिवको पूजा गर्दै छन्।
हरियो र रातो पहिरनमा सजिएर आएका महिलाले आज पशुपति क्षेत्र पूरै हरियाली बनाएका छन्। कोषले भीड व्यवस्थापनका लागि अतिरिक्त जुत्ता–चप्पल राख्ने कक्ष र निःशुल्क बस सेवा पनि सञ्चालनमा ल्याएको छ। चक्रपथका चार स्थानबाट चलेका ती बसहरूमा चढेर धेरैले सहज रूपमा पशुपतिमा दर्शन गर्न पाएको प्रतिक्रिया दिएका छन्।
धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार साउन सोमबारको व्रत सबैका लागि समृद्धि र शान्तिको कामनासहित गर्ने परम्परा हो। घरघरमा महिलाहरूले पारिवारिक सुखशान्तिका लागि उपवास बसेर पूजा गर्ने चलन छ।
यो वर्षको साउन महिनामा ५, १२, १९ र २६ गते गरी चार सोमबार परेका छन्। आजको तेस्रो सोमबार विगतका सोमबारभन्दा अझ बढी भक्तजनको भीड देखिएको छ। व्रतको समापन अन्तिम सोमबार गोदान र पूर्णपात्र अर्पण गरेर गरिन्छ भन्ने परम्परा पनि प्रचलित छ।