शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक

लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव उच्च भएपछि कञ्चनपुरस्थित शारदा ब्यारेज भएर हुने चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा बहाव एक लाख नौ हजार नौ सय ८० क्यूसेक पुगेपछि सवारी रोकिएको हो। “महाकालीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि सुरक्षा सावधानीस्वरूप चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ,” बोहराले जानकारी दिए।
नदीमा पानीको सतह बढेसँगै दुर्घटनाको सम्भावना रहेकाले ब्यारेजमा ट्रक, कार, जीपजस्ता सवारीसाधनलाई रोक लगाइएको हो। पैदल यात्री तथा दुईपाङ्ग्रे सवारीको हकमा भने यथावत् रुपमा आवागमन भइरहेको जनाइएको छ।
प्रहरीले पानीको सतह घटेसँगै परिस्थिति हेरेर यातायात खोल्ने निर्णय लिने जनाएको छ। अहिले महाकाली आसपासका बस्तीमा पनि बाढीको जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिएको छ।