स्याङ्जा–पर्वत सडक पहिरोले अवरुद्ध, यात्रुहरू बाटोमै अलपत्र

अविरल वर्षाले स्याङ्जा–पर्वत सडक खण्ड अवरुद्ध बनेको छ । वालिङ नगरपालिका–१४, डुम्रेभन्ज्याङमा पहिरो खस्दा सोमबार बिहानदेखि सडक आवागमन ठप्प भएको हो ।
वालिङदेखि पर्वतको पयुँ र व्यादी जोड्ने प्रमुख सडक पहिरोका कारण अवरुद्ध भएपछि दुई जिल्लाबीच ओहोरदोहोर गर्ने सवारीसाधन ठप्प छन् ।
यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । वालिङ–१४ का वडाध्यक्ष बोधराज कुँवर (राजु)का अनुसार पहिरो झर्ने क्रम जारी रहे पनि डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ । यसैबीच आइतबार बिहानदेखि परेको निरन्तर वर्षाका कारण अधिकांश ग्रामीण सडकहरू समेत अवरुद्ध वा क्षतिग्रस्त भएका छन् ।
स्थानीयवासी र यात्रुहरू वर्षा र पहिरोको दोहोरो मारमा परेका छन् ।