समाचार

आकाशेपानीले किसानको अनुहारमा ल्यायो चमक

आकाशेपानीले किसानको अनुहारमा ल्यायो चमक

लामो खडेरीपछि परेको वर्षाले सुनसरीका किसानको अनुहारमा उत्साह छाएको छ। धान रोप्न नपाएर चिन्तित बनेका कृषकहरू अहिले रोपाइँमा जुट्न थालेका छन्। इनरुवा, कोशी, भोक्राहा, हरिनगर, वराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीजस्ता स्थानीय तहमा केही दिनयता भएको निरन्तरको वर्षाले जमिन भिजेपछि किसानले धान रोप्ने तयारी थालेका हुन्।

भोक्राहा नरसिंह गाउँपालिकाका किसान सुरेन्द्र उराँवले भने, “अकासे पानीकै भरमा खेती गर्ने हामी किसानलाई अहिलेको पानी अमृतसरह भएको छ।” किसान बबलु खड्गा भन्छन्, “अबका केही दिनमा रोपाइँ पूरा गर्ने सोच बनाएका छौँ।”

स्थानीय चन्दन मेहताका अनुसार, पहिले रोपिएको धानको बीउ सुक्न थालेको थियो, अहिलेको वर्षाले बीउ बचाउनुका साथै रोपाइँ गर्न बाँकी किसानहरूलाई राहत दिएको छ। भूमिगत सिँचाइ प्रयोग गर्ने केही किसानले मल हाल्न नसकेको गुनासो गर्दै आएका थिए, पानी आएपछि त्यस समस्या पनि केही हदसम्म समाधान भएको उनीहरू बताउँछन्।

कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार जिल्लाका केही क्षेत्रमा नहर र पम्पसेटको प्रयोगबाट रोपाइँ भइरहेको थियो भने अन्य क्षेत्रमा आकाशेपानीले रोपाइँको गति तिव्र बनाएको छ।

पानी परेपछि खोला, नदी तथा नालामा समेत जलसतह बढेको छ। इनरुवा–भोक्राहा सीमास्थित सुनसरी खोला, बूढीखोला, सप्तकोशी, मरिया खोला, गडनलगायत स्थानमा पानी बढेको स्थानीयवासीले बताएका छन्।

यो वर्षाले सुक्खा र चिन्तामा रहेका किसानहरूमा नयाँ आशा जगाएको छ। यदि वर्षा निरन्तर भयो भने सुनसरी जिल्लामा धान उत्पादनमा सकारात्मक प्रभाव पर्ने देखिएको छ।