पोखरा सडक खण्डमा सुख्खा पहिरो, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ–पोखरा सडक खण्ड बिहीबार बिहान अवरुद्ध भएको छ।
लमजुङको मध्यनेपाल नगरपालिका–९ स्थित बिमिरेभञ्याङमा बिहान करिब ७:३० बजेतिर पहिरो खसेको हो। स्थानीय सुरज गुरुङका अनुसार रुख र चट्टानसहित ठूलो पहिरो खसेपछि लमजुङबाट पोखरा र पोखराबाट लमजुङतर्फ गएका सवारी साधनहरु रोकिएका छन्।
"अहिलेसम्म साना ढुङ्गा र माटो झर्ने क्रम जारी छ," उनले बताए। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकुमार शाह तेलीले सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिनुभयो। “पहिरो हटाउन डोजर परिचालनको तयारी भइरहेको छ,” उहाँले भन्नुभयो, “हाल सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।”
सडक सञ्चालन कहिले सम्भव हुन्छ भन्ने स्पष्ट हुन बाँकी रहेको जनाइएको छ। लगातार सुक्खा पहिरो खसिरहेकाले जोखिम कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ।