धरान उपमहानगरपालिकाले २०८२/८३ का लागि दुई अर्ब २० करोड बजेट सार्वजनिक!

धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार बसेको १७औँ नगरसभामा उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गर्दै यसलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई केन्द्रित गरिएको स्पष्ट पारे।
राजस्वको स्रोतमा ८० करोड ५३ लाख ६५ हजार आन्तरिक आम्दानीबाट जुटाउने अनुमान गरिएको छ भने संघीय सरकारले ८९ करोड २९ लाख, प्रदेश सरकारले सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटमार्फत ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट दुई करोड र गत वर्षको मौज्दातबाट सात करोड प्राप्त हुने देखाइएको छ।
खर्चतर्फ सहर योजनासहित भौतिक पूर्वाधारमा ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदमा ४६ करोड ८५ लाख, स्वास्थ्यमा करिब सात करोड, सामाजिक विकासतर्फ चार करोड ८६ लाख, आर्थिक विकासमा करिब एक करोड ३० लाख, वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनमा दुई करोड ७४ लाख, कानुन तथा न्याय सम्पादनतर्फ २० लाख, सार्वजनिक जग्गा संरक्षणमा १५ लाख, राजस्व परिचालनमा ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ पाँच करोड पाँच लाख विनियोजन गरिएको छ।
धरानका २० वटै वडाका लागि २१ करोड छुट्याइएको छ। नगर कार्यपालिकाको तर्फबाट निःसर्त विनियोजन एक अर्ब ३१ करोड ९२ लाख, ससर्त अनुदान ६० करोड ५६ लाख, समपूरक बजेट एक करोड ८२ लाख र विशेष अनुदान पाँच करोड ४३ लाख राखिएको छ।
उपप्रमुख बेघाका अनुसार नगरपालिकाले प्रस्तुत बजेटलाई स्थानीय आवश्यकता र जनअपेक्षा पूरा गर्ने उद्देश्यले तयार पारेको हो। शिक्षादेखि स्वास्थ्यसम्मका प्राथमिक क्षेत्रलाई प्राथमिकता दिइएकाले यसले नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा नगरपालिकाले गरेको छ।