पूर्व प्रधानमन्त्री पेटोङटार्नले फेउ थाई पार्टी छोड्दै सिनावात्रा वंशको प्रभाव घट्दै

थाइल्यान्डकी हालै पदच्युत पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले बुधबार आफ्ना पिता थाक्सिन सिनावात्राले स्थापना गरेको फेउ थाई पार्टीको नेतृत्वबाट राजीनामा दिनुभएको छ। पार्टीले सार्वजनिक गरेको विज्ञप्तिमा उहाँको राजीनामा स्वीकृत गरिएको र पार्टी पुनःसंरचना र सुधारको प्रक्रियामा अघि बढ्ने उल्लेख गरिएको छ।
३९ वर्षीया पेटोङटार्नले प्रधानमन्त्रीको रूपमा एक वर्ष पूरा गर्नुअघि नै गत अगस्टमा कम्बोडियासँगको सीमा विवादमा देखिएको भनिएको ‘नैतिकता उल्लङ्घन’ का कारण संवैधानिक अदालतले उहाँलाई पदबाट बर्खास्त गरेको थियो। यसअघि उनी थाइल्यान्डको राजनीतिमा सिनावात्रा परिवारको तेस्रो पुस्ताका रूपमा उदीयमान नेतृको रूपमा देखिएकी थिइन्।
पार्टी प्रमुखबाट राजीनामा दिँदै पेटोङटार्नले आफ्नो निर्णयले फेउ थाईलाई “पूर्ण सुधारतर्फ अघि बढ्न र आगामी निर्वाचनमा पुनः विश्वास जित्न मद्दत गर्ने” विश्वास व्यक्त गरेकी छन्। उनले पार्टीको साधारण सदस्यका रूपमा रहँदै “थाइल्यान्डका लागि निरन्तर परिश्रम गर्ने प्रतिबद्धता” दोहोर्याएकी छन्।
सिनावात्रा परिवार पछिल्ला दुई दशकदेखि थाइल्यान्डको राजनीतिमा शक्ति र विरोधबीचको केन्द्रबिन्दु रहँदै आएको छ। थाक्सिन सिनावात्राले सन् १९९० को दशकमा थाइ राख थाइ पार्टी स्थापना गर्दै लोकप्रियतावादी नीति अपनाएका थिए, जसले ग्रामीण र मध्यम वर्गबीच व्यापक समर्थन पाएको थियो। तर शाही समर्थक र सैन्य अभिजात वर्गले उनको नीतिलाई परम्परागत संरचनाका लागि चुनौतीको रूपमा लिँदै आएका छन्।
७६ वर्षीय थाक्सिन हाल पनि आफ्नै शासनकालमा भएका भ्रष्टाचारका मुद्दामा जेल सजाय भोगिरहेका छन्। यो अवस्थाले परिवारमाथि राजनीतिक र कानूनी दबाब थप बढाएको विश्लेषकहरूको मूल्याङ्कन छ।
सुखोथाई थम्माथिरत ओपन युनिभर्सिटीका राजनीतिक विश्लेषक युटापोर्न इसाराचाईका अनुसार पेटोङटार्नको राजीनामा “कानूनी जोखिम घटाउने र पार्टीलाई थप जटिल विवादबाट जोगाउने रणनीतिक कदम” हो। तर उहाँका अनुसार फेउ थाई पार्टीमाथिको वास्तविक नियन्त्रण अझै पनि सिनावात्रा परिवारकै प्रभावमा रहिरहने सम्भावना उच्च छ।
थाइल्यान्डको समकालीन राजनीतिक इतिहासमा थाक्सिन, उनकी बहिनी यिङलक, र अहिले पेटोङटार्न, सबै प्रधानमन्त्रीको रूपमा उदाएका थिए — तर हरेक पटक सत्ता सैन्य वा न्यायिक हस्तक्षेपका कारण छोटो अवधिमै समाप्त भयो। पेटोङटार्नको यो राजीनामाले सिनावात्रा वंशको दीर्घकालीन राजनीतिक प्रभाव क्रमशः क्षीण हुँदै गएको संकेत गरे पनि थाइल्यान्डको शक्ति–सन्तुलनमा यो परिवारको छायाँ अझै टड्कारो रूपमा बाँकी छ।