तिहारको रौनकभन्दा बढी चिन्ता असिनाको: भक्तपुरका किसान धान भित्र्याउनै व्यस्त!

तिहारको झिलिमिलीले देशभर उत्सवको रौनक ल्याए पनि भक्तपुरका किसानहरूका लागि यो समय खेतमै बिताउने व्यस्त मौसम बनेको छ। असिना र पानीका कारण पाकेको धान झर्ने डरले यहाँका अधिकांश किसानले चाडको रमाइलोभन्दा बढी चिन्ता धान भित्र्याउनेमा केन्द्रित गरेका छन्।
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका किसान सानुभाइ गिरीले भने, “सबै ठाउँमा तिहारको माहोल छ, तर हामीलाई असिना र वर्षाको डर छ। त्यसैले भाइटिकाको दिन बाहेक अरू दिन धान काट्न, चुट्न र भित्र्याउनमै लागेका छौँ।” गिरीका अनुसार यसपालिको काम पूरा गर्न अझै दुई साता लाग्ने अनुमान छ।
धानको माग बढेसँगै चिउरा मिल सञ्चालकहरू खेतमै पुगेर धान किनिरहेका छन्, जसका कारण कतिपय किसानले राम्रोसँग नपाकेको हरियो धान पनि सस्तो मूल्यमा बेच्न थालेका छन्। चाँगुनारायण–७ बागेश्वरीकी प्रमिला कार्कीका अनुसार मिल सञ्चालकहरूले ताइचिन धान प्रतिकिलो ८० रुपैयाँका दरले खेतमै उठाउने प्रस्ताव गरेपछि धेरै किसानले खेतमै बिक्री गरेका छन्।
सूर्यविनायक नगरपालिका–९ चित्तपोलकी सुभद्रा बस्नेत भन्छिन्, “तिहारमा पनि खेतमै धान भित्र्याउनुपरेको छ। यो नै वर्ष दिनको कमाइ हो, त्यसैले अब रोकिनु भएन।” उनका अनुसार यसपालि श्रमिक अभावले किसानहरूलाई थप समस्या भएको छ।
सूर्यविनायक–७ गुण्डुका किसान रविन्द्र बस्नेतले भने, “असिना पानी पर्ने डरले धेरै किसानले हरियो धान पनि काट्न थालेका छन्। सबैले आफ्नै खेतमा काम गर्न थालेका कारण ज्यामी पाइँदैन, पर्म पनि छैन।”
जिल्लाका ताथली, सुडाल, चित्तपोल, कटुन्जे, गुण्डु, नगरकोट, सिपाडोल र दुवाकोटजस्ता गाउँहरूमा अहिले धान काट्ने दृश्य सामान्यजस्तै बनेको छ—जहाँ किसानको श्रम, मौसमको अनिश्चितता र उत्सवको भावना एकैसाथ चलिरहेको छ।
तिहारको उज्यालो बाहिरबाट देखिँदा चम्किलो लागे पनि, खेतका काँटी र हाँसमा झुकेको भिजेको धान हेर्दा बुझिन्छ—भक्तपुरका किसानहरूको तिहार यसपालि खेतकै सुनौलो बालामा मिसिएको छ।