समाचार

“देश बचाउन दह्रो खुट्टा टेकेर अघि बढ्नुस्”-कलाकारहरूको प्रधानमन्त्री कार्कीलाई आग्रह!

“देश बचाउन दह्रो खुट्टा टेकेर अघि बढ्नुस्”-कलाकारहरूको प्रधानमन्त्री कार्कीलाई आग्रह!

प्रधानमन्त्री सुशीला कार्कीलाई नेपाली सिनेमाका नौ जना चर्चित कलाकारले बुधबार बालुवाटारमा भेट गरी भ्रष्टाचारविरुद्धको अडान र आगामी निर्वाचनका तयारीमा अडिग रहन आग्रह गरेका छन्। उनीहरूले सरकारले सुरु गरेको सुधार अभियान र सुशासनका प्रयासलाई कु–सूचना र प्रचार–प्रोपोगान्डाले कमजोर पार्ने प्रयासप्रति चिन्ता व्यक्त गर्दै “अविचलित भएर अघि बढ्न” प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

कलाकारहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीसमक्ष सरकारको पक्षमा सार्वजनिक समर्थन जनाउँदै भनेका थिए, “हामी कुनै व्यक्तिगत मागका लागि आएका होइनौँ, यो देश नै सुरक्षित रहोस्। यो सरकार दृढताका साथ अघि बढोस्, हामी साथमा छौँ।”

पूर्वप्रधानन्यायाधीशको निष्कलंक छविसँगै मुलुकको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नेतृत्व सम्हाल्नुभएकोमा उनीहरूले कृतज्ञता पनि प्रकट गरे। अभिनेत्री ऋचा शर्माले भनिन्, “यो कठिन समयमा देश सम्हाल्न आमा आउनुभएको छ भन्ने महसुस भइरहेको छ। यहाँको सादगी र स्पष्ट बोलाइले नागरिकमा भरोसा बढाएको छ।”

अभिनेता निश्चल बस्नेतले सामाजिक सञ्जालमा फैलिरहेको भ्रम र नकारात्मक प्रचारलाई निरुत्साहित गर्न सरकार खुला संचारमा रहनुपर्ने सुझाव दिए। “सरकार नबोलेको कारण दूषित स्वरहरू हाबी भएका छन्,” उनले भने, “सही धरातलमा हुनुहुन्छ भने डराउनुपर्ने छैन। हामी समर्थनमा छौँ।”

संगीतकार कालीप्रसाद बाँस्कोटाले समाजलाई भड्काउने प्रवृत्तिप्रति सावधानी अपनाउन सुझाव दिँदै भने, “भड्काउनेहरू सजिला छन्, सम्हाल्नेहरू कठिन। अहिले सम्हाल्ने समय हो।” अभिनेता विपिन कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालका पछिल्ला वक्तव्यले सरकार नडराएको सन्देश दिएको उल्लेख गर्दै “अब जनतालाई पनि दृढ सरकारको अनुभूति भएको” बताए।

प्रधानमन्त्री कार्कीले कलाकारहरूको समर्थनप्रति आभार व्यक्त गर्दै भनिन्, “तपाईंहरूजस्तो प्रभावशाली समुदायको सहयोग आवश्यक छ। हामी असल नियतले काम गरिरहेका छौँ। गल्ती भए औँल्याइदिनुहोस्, तर गाली वा भ्रमले हल्लिँदैनौँ।”

छलफलमा अभिनेता विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, रिचा शर्मा, र कर्माल उपस्थित थिए। भेटघाटको संयोजन पुकार बमले गरेका थिए।

राजनीतिक अस्थिरता र जनआन्दोलनपश्चात् बनेको यो सरकारप्रति कलाकारहरूको यस्तो ऐक्यबद्धता नेपाली सांस्कृतिक क्षेत्रले राजनीतिप्रति देखाएको नयाँ जिम्मेवारीको संकेत हो — जहाँ कला, नागरिक चेतना र सुशासनप्रतिको आशा एउटै स्वरमा मिसिएको छ।