समाचार स्वास्थ्य राजनीति

स्वास्थ्य समस्या समाधानमा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य : सभामुख घिमिरे

स्वास्थ्य समस्या समाधानमा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य : सभामुख घिमिरे

काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य समस्या कुनै एक मुलुकमा मात्र सीमित नभई विश्वव्यापी रहेको बताउँदै यसको समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य भएको टिप्पणी गर्नुभयो। उहाँले ज्ञान, प्रविधि र सहकार्यलाई एउटै मञ्चमा राखेर साझा दृष्टिकोणमार्फत काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै, “साझा दृष्टिकोण र सहकार्यद्वारा समस्याको समाधान खोजौँ, यो अन्तर्राष्ट्रिय सहभागिताले त्यस दिशामा काम गरोस्,” भन्ने धारणा राख्नुभयो।

घिमिरेले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा व्याख्या गरेको स्मरण गराउँदै नीतिनिर्माणमा संसदको प्रतिबद्धता प्रष्ट पार्नुभयो। उहाँका अनुसार नेपालले महिला स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ, जसमा सन् २००० यता मातृ मृत्युदर ७० प्रतिशतले घट्नु प्रमुख उपलब्धि हो।

यसै क्रममा प्रतिनिधिसभा सदस्य चन्दा कार्कीले ग्रामीण क्षेत्रमा अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा पुग्न नसकेको चिन्ता व्यक्त गर्नुभयो। उहाँले यसको समाधानका लागि सरकारी स्तरमै ठोस प्रयास आवश्यक रहेको बताउनुभयो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विकास देवकोटाले भने स्त्रीरोगसम्बन्धी सेवालाई प्रभावकारी बनाउन सरकारले स्थानीय तहसम्म सहयोग गर्दै आएको जानकारी दिनुभयो।

चीन, भारत र नेपालका स्त्रीरोग विशेषज्ञहरूको सहभागितामा सम्पन्न यस कार्यक्रममा क्षेत्रीय अनुभव र रणनीतिहरू आदान–प्रदान गरिएको थियो। यस किसिमको अन्तर्राष्ट्रिय सहकार्यले महिला स्वास्थ्यका दीर्घकालीन चुनौती समाधान गर्ने आधार बलियो बनाउन सक्छ भन्ने अपेक्षा राखिएको छ।