कभर स्टोरी

विआईए: अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायता कि शोषण?

विआईए: अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायता कि शोषण?

छोग्याल रिम्पोछेले जनवरी ४, २०१५ मा "जनवरी ३ सुन्दर दिन रहेको" भन्दै फेसबुकमा एउटा स्ट्याटस लेखेका थिए। त्यस दिन "बीआईए लेट्स ज्वाइन ह्याण्ड्स" नामक कार्यक्रम आयोजना भएको थियो, जसमा लगभग ३०० जना अपाङ्गता भएका व्यक्तिहरू, स्वदेशी तथा विदेशी स्वयंसेवकहरूको सहभागिता रहेको थियो। प्रमुख अतिथिका रूपमा प्रदीपकुमार ज्ञवालीले कार्यक्रममा उपस्थित भएका थिए।

छोग्याल रिम्पोछे एक दयालु, मनकारी र सहयोगी भावना भएका बौद्ध धर्मगुरु हुन्। १९८५ मा नेपालमा जन्मिएका रिम्पोछे अहिले स्विजरल्याण्डमा बस्छन्। उनी प्रायः चीन, भारत, अमेरिका, युरोपलगायत विश्वभर नै भ्रमण गर्छन् र चीन, भारत, नेपाल र भूटानमा आफ्नो गतिविधि सञ्चालन गर्छन्।

रिम्पोछेले आफ्नो जीवनको सुरुवातमा नै भिक्षु जीवन अपनाउने इच्छा राखे। २००० मा उनले भारतको हिमाचल प्रदेशमा बौद्ध दर्शनमा अध्ययन सुरु गरेका थिए र २०१० मा खेन्पो डिग्री प्राप्त गरे। नेपाल फर्किनु अघि उनले बेइजिङ विश्वविद्यालयमा चिनियाँ भाषाको अध्ययन गरे। नेपाल फर्केपछि उनले काठमाडौंमा आफ्ना बुबा-आमाले सञ्चालन गरेको अनाथाश्रमको जिम्मेवारी लिए। २०१४ मा उनले बीआईए (बोधिसत्व इन एक्सन) फाउन्डेशन स्थापना गरे।

रिम्पोछेले नेपाललाई आफ्नो सामाजिक तथा धार्मिक कामको केन्द्र बनाउन चाहन्थे। बीआईए मार्फत नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको प्रपोजल छनौट गरी, तिनलाई प्रोजेक्टको रूपमा सञ्चालन गर्ने र विभिन्न समूहहरू बनाएर प्रोजेक्ट सञ्चालन गर्ने उद्देश्य राखिएको थियो। यस क्रममा ७ प्रोजेक्ट छानिएका थिए। रिम्पोछेको इच्छाअनुसार थप ५ प्रोजेक्ट थपेर १२ वटा प्रोजेक्ट सञ्चालन गर्ने घोषणा गरिएको थियो। जसका लागि तत्काल १४६ जना अपाङ्गता भएका व्यक्तिहरूलाई छनौट गरिएको थियो।

प्रोजेक्टले अपाङ्गता भएका व्यक्तिहरूलाई सीप सिकाउने, रोजगार दिने, र आएको आम्दानीको ठूलो हिस्सा उनीहरूलाई नै बाँड्ने उद्देश्य राखेको थियो। बाँकी पैसाले देशको कुना कन्दरामा, गाउँदेखि सहरसम्म सबै जिल्लामा प्रोजेक्ट सञ्चालन गर्ने योजना थियो। काठमाडौका विभिन्न स्थानमा कोठा भाडामा लिएर परियोजना सञ्चालन गर्न समानहरू किनियो। सबैभन्दा पहिले काठमाडौको बत्तिसपुतलीमा सिलाईकटाई सम्बन्धी प्रोजेक्ट सुरु भयो। त्यस्तै ठमेल, ग्वार्को, साखु, किर्तिपुरलगायतका स्थानमा पनि प्रोजेक्टहरू सञ्चालन भए।

अपाङ्गता भएका व्यक्तिहरू खुसी थिए, रिम्पोछेप्रति कृतज्ञ थिए। स्वदेशी तथा विदेशी स्वयंसेवकहरूले रिम्पोछेको सहयोग गरिरहेका थिए। तर, यो अवस्था लामो समय टिकेन। अभियानमा सहभागी स्वदेशी तथा विदेशी स्वयंसेवकहरू बीच मोर्चाबन्दी हुन थाल्यो। विदेशीहरूले आर्थिक सहयोग पनि गर्ने हुँदा उनीहरूको पल्ला भारी भयो। नेपालीहरू अपमानित हुँदै बीआईएबाट बाहिरिए।

नेपालीहरू बाहिरिएपछि विदेशीहरू बीचमा पनि विवाद भयो। विवाद यति धेरै भयो कि रिम्पोछेको पनि आलोचना भयो। अन्ततः व्यवस्थापक गोकर्ण ढुंगाना मात्रै बाँकी रहे। 

बीआईएमा रहेका अपाङ्गता भएका व्यक्तिहरूले थान्का, मूर्ति, गलैँचा, डोका आदि उत्पादन गर्छन्। तर, तिनलाई उचित ज्याला दिइएको छैन। उनीहरूले उत्पादन गरेका सामान बीआईए इन्स्टिच्युटले विक्रि गर्छ। नारायणटार शाखामा करिब चालिस जना अपाङ्गता भएका व्यक्तिहरू सीप सिकेर सामान उत्पादन गर्छन्। तर, उनीहरूलाई मात्र मासिक चार हजार रुपैयाँ दिइन्छ, जसले गर्दा उनीहरू व्यवस्थापन प्रति रुष्ट छन्। 

ब्यवस्थापक ढुंगानाले भने बीआईएमा अपाङ्गता भएका व्यक्तिहरूको श्रम शोषण भएको अस्वीकार गरेका छन्। उनी भन्छन्, "बीआईएको उद्देश्य भनेको अपाङ्गता भएका व्यक्तिहरूलाई पालेर राख्ने होइन, सीप सिकाउनु हो।" 

रिम्पोछेको उद्देश्य अधुरो रह्यो, र बीआईएको अवस्था दिन प्रतिदिन खराव हुँदै गएको छ। अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्न नसकेको र व्यवस्थापकले उनीहरूको श्रम शोषण गरेको आरोपहरू उठिरहेका छन्। 

समाजसेवा र संरक्षणका नाममा बीआईएले अपाङ्गता भएका व्यक्तिहरूलाई चरम श्रम शोषण गरेको पाइन्छ। संस्थामा बसिरहेका व्यक्तिहरूको संस्थापक रिम्पोछे प्रति कुनै गुनासो छैन, तर व्यवस्थापक ढुंगानाको जीवन शैली दिन प्रतिदिन फेरिएको छ। 

विआईएले थप प्रोजेक्ट भने सञ्चालन गर्न सकेको छैन। संस्थापक रिम्पोछेले प्रारम्भिक उदेश्य पुरा गर्न नसकेको र संस्थाले देशब्यापी सेवा दिन नसकेको देखिन्छ। व्यवस्थापक ढुंगानाले अपाङ्गता भएका व्यक्तिहरूलाई शोषण गरेर, चन्दाको व्यापार गरिरहेको आरोप छ।

बीआईएमा रहेका अपाङ्गता भएका व्यक्तिहरूले काम गरे वापतको उचित ज्याला पाउन सकेका छैनन्। सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक उनीहरूले पाउनुपर्ने अधिकार भएको भए तापनि व्यवस्थापकले तिनलाई थोरै रकम मात्र दिएका छन्।

यस विषयमा समाचारहरू प्रकाशित भए पछि व्यवस्थापक ढुंगानाले अपाङ्गता भएका व्यक्तिहरूलाई धम्की दिएका थिए। रिम्पोछेले संस्थाको सम्पूर्ण ब्यवस्थापन व्यवस्थापक ढुंगानाकै जिम्मामा रहेको र हालको गतिविधिमा रिम्पोछेको पनि संरक्षण रहेको स्पष्ट देखिएको छ।

छोग्याल रिम्पोछेले यस विषयमा कुनै जवाफ दिन चाहेनन्, र ध्यानमा रहेको भन्दै फोन काटे। यसबाट स्पष्ट हुन्छ कि बीआईएको हालको अवस्था रिम्पोछेले पनि बेवास्ता गरेका छन्।


बिआईए अवार्ड

बोधिसत्व इन एक्शन (बिआईए) फाउण्डेशनले २०१९ मा बिआईए अवार्ड घोषणा गरेको थियो। यस अवार्डले अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई सम्मान गर्ने उद्देश्य राखेको थियो। उक्त वर्षको समाचार अनुसार, अवार्डको लागि आवेदन फाउण्डेशनको वेभसाइटमा गएर दिन सकिन्थ्यो। आवेदनको अन्तिम मिति २०१९ अगस्ट १५ (साउन ३०) थियो, र अवार्ड वितरण कार्यक्रम भाद्र १० गते फाउण्डेशनको वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्ने योजना थियो। 

फाउण्डेशनले वार्षिकोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत राख्ने बताएको थियो। बिआईए फाउण्डेशनले विभिन्न ११ विधामा १३५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई तालिम तथा सीपमूलक कार्यमा सहभागिता गराउँदै आएको छ। हालै मात्र, फाउण्डेशनले कीर्तिपुरमा ३० जना अपाङ्गता भएका व्यक्तिहरूलाई चारवटा विधामा तालिम तथा सीपमूलक कार्य सञ्चालन गर्ने योजना बनाएको थियो। साथै, फाउण्डेशनले ५० जना अपाङ्गता भएका व्यक्तिहरूलाई नि:शुल्क आवास सुविधा पनि उपलब्ध गराएको थियो।

यद्यपि, २०१९ पछिको कुनै पनि समयमा बिआईए अवार्डको निरन्तरता रिपोर्ट गरिएको छैन। यो अवार्ड कार्यक्रमले बिआईए फाउण्डेशनको सामाजिक योगदानको एक महत्वपूर्ण पक्षको रूपमा रहेको थियो।