राजनीति

प्रचण्ड र चिनियाँ प्रतिनिधिमण्डलबीच भेट: दुई देशबीचका समझदारी कार्यान्वयनमा जोड

प्रचण्ड र चिनियाँ प्रतिनिधिमण्डलबीच भेट: दुई देशबीचका समझदारी कार्यान्वयनमा जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र चिनियाँ कम्युनिस्ट पार्टीको छिङहाइ प्रान्तीय कमिटीका सचिव तथा केन्द्रीय सदस्य छन् काङ्गले काठमाडौंमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा प्रचण्डले नेपाल र चीनबीच भएका अघिल्ला समझदारीहरूको कार्यान्वयनमा जोड दिँदै, नेपालले चीनको विकासबाट धेरै सिक्न चाहेको बताउनुभयो।

खुमलटारस्थित प्रचण्डको निवासमा भएको उक्त भेटमा उहाँले नेपालको आन्तरिक राजनीतिमा केही उतारचढाव भए पनि दुई देशबीच भएका समझदारीहरू कार्यान्वयन गर्न आफ्नो प्रतिबद्धता रहेको बताउनुभयो। जनयुद्धका समयमा आफूहरूले चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास र माओत्सेतुङका रचनाहरू धेरै अध्ययन गरेको उल्लेख गर्दै, प्रचण्डले नेपाली विशेषतासहितको समाजवाद स्थापनाका लागि चिनियाँ समाजवादबाट धेरै कुरा सिक्न माओवादी केन्द्र इच्छुक रहेको धारणा राख्नुभयो।

सचिव काङ्गले दुई देशबीचको मित्रतालाई अझ बलियो बनाउनुपर्ने बताउँदै, नेपालले चीनको नयाँ विकास चरणबाट फाइदा लिनसक्ने सुझाव दिनुभयो। चीनको विकासको प्रमुख कारण चिनियाँ कम्युनिस्ट पार्टी रहेको उल्लेख गर्दै, उहाँले आफ्नो पार्टीमा भ्रष्टाचारजस्ता गल्तीहरू गर्दा तत्काल कारवाही हुने भएकाले चिनियाँ जनताको विश्वास बलियो भएको बताउनुभयो।

भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत लगायतका नेताहरूको उपस्थिति रहेको थियो। चिनियाँ प्रतिनिधिमण्डलमा नेपालस्थित चिनियाँ राजदूत छन् सोङ्ग लगायतका सदस्यहरू उपस्थित थिए।

यसअघि, उक्त प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गरेको थियो।

हिजो  बिहान सिचुआन प्रान्तको राजधानी छन्तुबाट एअर चाइनाको उडानमार्फत काठमाडौं आइपुगेको सचिव काङको सम्मानमा एमाले महासचिव शंकर पोखरेलले साँझ होटल द्वारिकामा रात्रिभोजको आयोजना गर्नुभएको छ। आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाटको कार्यक्रम छ भने दिउँसो होटल याक एण्ड यतिमा सम्मेलनमा सहभागी हुने योजना छ।

सचिव काङ्ग अपरान्ह जनकल्याण माध्यमिक विद्यालयको कार्यक्रममा सहभागी हुनेछ भने साँझ बत्तिसपुतलीस्थित बाजेको सेकुवामा डिनर खाएपछि दरबार स्क्वायरको अवलोकन भ्रमण गर्नेछन्। भोलि बिहान स्वयम्भू र भक्तपुर दरबार स्क्वायरको अवलोकनपछि चिनियाँ टोली बैंकक हुँदै स्वदेश फर्कने योजना रहेको छ।