समाचार

दशरथ रंगशालामा टिकट नपाएका दर्शकको आक्रोश, प्रधानमन्त्री ओलीको विरोधमा उत्रिए

दशरथ रंगशालामा टिकट नपाएका दर्शकको आक्रोश, प्रधानमन्त्री ओलीको विरोधमा उत्रिए

साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र बंगलादेशबीचको बहुप्रतीक्षित उपाधि भिडन्त साँझ साढे ६ बजे दशरथ रंगशालामा सुरु हुँदैछ। खेलप्रेमीहरूले रंगशाला भरिनुअघि नै टिकट खरिद गर्न खोज्दा निकै समस्यामा परेपछि अब केही दर्शकहरू प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गर्दै रंगशाला परिसरमै विरोध गरिरहेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि टिकट बिक्री खोल्दै सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट, र जावलाखेल फुटबल मैदानमा टिकट वितरण गरिरहेको भए पनि १० हजार टिकट मात्र उपलब्ध गराइएको थियो। टिकट पाउन नसकेका दर्शकहरूले रंगशालाको बाहिर नै भावुक भई आँसु झार्दै टिकटको व्यवस्था, सरकारको बेवास्ता, र खेल व्यवस्थापनमा सुधारको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।

भीआईपीतर्फ अधिकतम दुईवटा र साधारणतर्फ पाँच वटा टिकट मात्र एक जनालाई किन्न पाउने व्यवस्थाले समेत ठूलो संख्यामा दर्शकहरूलाई निराश बनाएको छ।

ADVERTISEMENT