दशैं-तिहार धमाका: अब कानूनमै तासको 'म्यारिज' खेल्ने छुट! म्यारिज ऐन २०८४ आउँदै
ओहो! के दिन आयो, दशैं र तिहार जस्ता महान पर्वलाई तास खेलको महोत्सवमा बदल्नै भ्यायौं! जब देश संविधान संशोधनको ठूलो बहसमा छ, जनताले सरकारलाई जवाफदेही बनाउनु पर्ने बेला छ, अनि "म्यारिज ऐन" जस्तो आधुनिक कानुनको माग हुँदैछ, तब हामी भने तासको "म्यारिज" खेल्दैछौं। त्यो पनि कति बाठो गरी पुरानो राजतन्त्रको समयमा बनेको म्यारिज नियमावलीलाई नयाँ गणतान्त्रिक युगमा पनि ज्यूँदै राखेर! हेर त, कस्तो "व्यवस्थित" छ, मकै, भटमास राखेर पैसाको सट्टा म्यारिज खेलिन्छ, अनि टाट पल्टेकोले 'लाग्यो' भने कस्तो मज्जाले हाँसिन्छ। यस्तो ऐतिहासिक र "महत्वपूर्ण" परम्परा मेटेर तास खेल्नै नपाइने त भइहाल्यो नि! जनताका मुद्दा एकातिर छन्, देशको राजनीति अर्कोतिर, अनि हामी भने शतरन्जामा ओछ्याएर म्यारिजका "राजा" बन्ने ध्याउन्नमा छौं। यस्तो ट्रेन्ड देख्दा हाँस्न पनि मन लाग्छ, रुन पनि।
यस सन्दर्भमा, एकजना वरिष्ठ अधिवक्ताहरूको टोलीले तास खेल्ने व्यक्तिहरूको अधिकारको संरक्षण गर्नका लागि मानव अधिकारको सन्दर्भमा एउटा कानुनको मस्यौदा तयार पारेको छ। यो कानुन केही दिनभित्र संसदबाट पारित हुने अपेक्षा गरिएको छ। यसैको विवरण यहाँ प्रस्तुत छ:
गणतान्त्रिक म्यारिज ऐन, २०८४
म्यारिज खेलको खेल प्रकृयामा थोरै मात्रालाई जानकारी भएको र त्यसका कारण समय-समयमा विवाद उत्पन्न हुने भएकाले म्यारिज खेललाई व्यवस्थित र मर्यादित बनाउनु अत्यावश्यक भएकोले यस ऐनको तर्जुमा गरिएको छ। म्यारिज खेल सबै तहका व्यक्तिहरू—चाडवाड, काजक्रिया, मेलापात, रुद्री वा पुराण, तथा जागिरे वा बेरोजगारसम्मका लागि अत्यन्त महत्त्वपूर्ण र लोकप्रिय भएको हुँदा नियमको अभावले किचलो र झै-झगडा हुने अवस्था निरन्तर उत्पन्न भएको छ। साथै, यस ऐनका कुनै पनि प्रावधान संविधानसँग बाझिएमा संविधानलाई पनि संशोधन गर्ने गरी यो ऐनको व्यवस्था गरिएको छ, ताकि खेलको मर्यादा, विधि, र शान्ति कायम रहोस् र कुनै अन्योलता उत्पन्न नहोस्।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्वभौम नागरिकले यो खेल बिना डर, उच्च आत्मसम्मान, आत्मविश्वास र सम्मानजनक तरिकाले खेल्न सक्दछन्, तर नेपाल प्रहरी वा प्रमुख जिल्ला अधिकारीको निगरानी क्षेत्रमा होइन। यदि उनीहरूद्वारा समातिएमा, सरकारद्वारा कानूनी कारबाहीको कुनै विकल्प रहने छैन। यो ऐन पारित गर्न ढिलाइ भएको कारण जनतामा आक्रोश छ, र संसद् विवादमा तानिएको छ।
परिच्छेद-११. संक्षिप्त नाम र प्रारम्भः
(क) यो ऐनको नाम "गणतान्त्रिक म्यारिज ऐन, २०८४" रहेको छ।
(ख) यो ऐन म्यारिज खेलाडीहरू र यस खेलप्रति रुचि राख्ने दर्शक तथा अन्य खेलाडीहरूको हकमा मात्र लागू हुनेछ।
(ग) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा:
(क) "तास" भन्नाले एक्का देखि वादशाहसम्मका चिडी, सूरत, ईट र पानका चार प्रकारका तास (चक्की) सम्झनु पर्दछ।
(ख) "बुक" भन्नाले खण्ड (क) मा उल्लेखित थान ५२ को संख्या वा मिश्रित समूहलाई सम्झनु पर्दछ।
(ग) "म्यारिज बुक" भन्नाले खण्ड (क) अनुसारको ४ बुक तास सम्झिनु पर्दछ।
(घ) "दाना तथा गेडा" भन्नाले तास खेल्दा पैसाको आदानप्रदान गर्न तथा विनिमय गर्न सहज होस् भनी पैसाको मूल्यमा सटही गरी राखिएको मकै, भटमास, सिमी, मटर, केराउ तथा अन्य सजिलै गन्न सकिने गेडागुडी वा चिज वस्तुलाई सम्झनु पर्दछ।
(ङ) "खेलाडी" भन्नाले जित्ने नै मनसाय राखी दुई वा दुईभन्दा धेरै तर ८ जनामा नबढ्ने गरी, स्वास्नी, छोरा-छोरीको आँखा छली तथा घरको वा कार्यालयको कामकाज माया मारी, म्यारिजको खालमा घुँडा टेकेर चौबिसै घण्टा बिताउने व्यक्तिलाई सम्झनु पर्दछ।
(च) “टट्टु तथा धुपौरे” भन्नाले घरको वा कार्यालयको कामकाज गर्नको दुःखले म्यारिजको खालमा गएर उँघ्ने वा लम्पसार परेर सुत्ने, हात टेकेर अर्काको तास हेरी "यो फाल, त्यो फाल" भन्ने, हात नटेक "लोदर लाग्यो" भन्दा हतपत पलेटी कस्ने, अरु खेलाडीले "नबोल" भन्दा ङिच्च दाँत देखाएर हाँस्ने वा निन्याउरो मुख बनाउने व्यक्तिलाई समेत सम्झनु पर्दछ।
(छ) “म्यारिजको खाल” भन्नाले सम्भव भएसम्म सुकुल माथि शतरन्जा ओछ्याइएको, अम्मलीहरूको अम्मल अनुसारको पानी, रक्सी, चुरोट, पान-पराग, खैनी, सुर्ती वा अन्य पान मसला वा यस्तै किसिमका अम्मल समेत जुटाइएको निर्धारित स्थानलाई सम्झनु पर्दछ।
(ज) “मुर्गा” भन्नाले खेलको अवधिमा अत्यधिक मात्रामा रुपैयाँ हार्ने हरुवा व्यक्तिलाई सम्झनु पर्दछ।
(झ) “लाग्यो” भन्नाले साथमा भएको नगदी वा जिन्सी सम्पूर्ण सरसामानहरू हारी टाट पल्टी मुर्गा हुने व्यक्तिले तिर्न नसकी ङिच्च दाँत देखाएर दिएको जवाफ सम्झनु पर्दछ। सो शब्दले खल्तीमा (भित्री पकेटमा) पैसा भई भई बदनियतपूर्वक हारेको पैसा नतिर्ने नियतले कुनै पनि ढंगबाट दिएको जवाफलाई समेत सम्झनु पर्दछ।
(ञ) “डबल म्यारीज” भन्नाले खण्ड (ञ) अनुसारका २ जोडी सम्झनु पर्दछ।
(ट) “चौरेला” भन्नाले कुनै पनि रङ्गका एक अंकका ४ कार्डलाई सम्झनु पर्दछ।
(ठ) “डब्बल चौरेला” भन्नाले नियम २ को खण्ड (ठ) बमोजिमका जोडीलाई सम्झनु पर्दछ।
(ड) “सिक्वेन्स” भन्नाले एकै रङ्गका क्रमिक ३ देखि ५ कार्ड सम्मको तासलाई सम्झनु पर्दछ।
(ढ) “जोक्कर” भन्नाले कटुवाले माल काटेपछि पल्टिएको मालको विभिन्न रङ्गको तासलाई सम्झनु पर्दछ।
(ण) “माल” भन्नाले कटुवाले तास काटेपछि घोप्ट्याई वा उत्तानो पारी खेलाडीको बीचमा बुकले थिचेर राखिने तास वा चक्कीलाई सम्झनु पर्दछ।
(त) “वाई सी एल” भन्नाले मूल जोक्करलाई सम्झनु पर्दछ।
(थ) “कटुवा” भन्नाले ३ सिक्वेन्स पुगेपछि सबै खेलाडीहरूले देख्ने गरी जोक्कर वा माल काट्ने व्यक्तिलाई सम्झनु पर्दछ। तर, पहिल्यै जोक्कर पल्टाउने खेलमा, तास बडुँवालेको देब्रेपट्टि बसेर माल काट्ने व्यक्तिलाई समेत जनाउँदछ।
(द) “सुको मरु झा” भन्नाले कटुवाले माल काटेपछि जोकर समेत नपरेको अवस्थालाई सम्झनु पर्दछ।
(ध) “अल्टर” भन्नाले कटुवाले काटेको मालको विपरीत रङ्ग र अंकको तासलाई सम्झनु पर्दछ।
(न) “बाटो खर्च” भन्नाले खेलको अवधि (पिरियड)मा अत्यधिक हारी टाट पल्टी, १ कि.मि. भन्दा टाढाको गन्तव्यमा पुग्नुपर्ने मुर्गा भएमा, उक्त मुर्गालाई जितुवा मध्ये जेठो जितुवाले भाडा बापत अप्ठ्यारो नमानी दिने खर्चलाई सम्झनु पर्दछ।
(प) “बडुवाल” भन्नाले शर्त बमोजिम सर्वप्रथम वा त्यसपछि तास बाँड्ने भान्सेलाई सम्झनु पर्दछ।
(फ) “कटफर” भन्नाले ४ जना सम्म खेलाडी भए प्रत्येक २ राउण्डमा, र सो भन्दा माथि खेलाडी भए, प्रत्येक राउण्डमा बुकबाट ठुलो तास पल्टाउने खेलाडीले रोजेको स्थानमा बस्न पाउने गरी स्थान सट्टापट्टा गर्ने कार्यलाई सम्झनु पर्दछ।
(ब) “१३ प्वाईन्ट” भन्नाले अघिल्लो दिनको ह्याङ्ग वा धङ्गधङ्गीले हो वा अन्य कुनै पनि भूलवश खेलाडीले नियम बमोजिम नगरी अन्यथा गरे बापत तिराईने जरिवानालाई सम्झनु पर्दछ।
(भ) “डुप्ली” भन्नाले एकै रङ्गका एकै अंक भएका जोडी तासलाई सम्झनु पर्दछ।
(म) “डुप्ली शो” भन्नाले ७ डुप्ली बनाएर लेस भएपछि, ८ डुप्ली बनाई गरिने शो लाई सम्झनु पर्दछ।
(य) “बेटर” भन्नाले पहिलो तास बाँडेर १० वा सोभन्दा माथिको माल परेपछि वा माल नपरेपछि खेलिने दोब्बरको खेललाई सम्झनु पर्दछ।
(र) “खाल” भन्नाले संसारमा कुनै पेशा, नोकरी गर्न नसकेपछि वा नपाएपछि, स्वास्नी, छोराछोरी पाल्नै पर्ने बाध्यताले वा सानोतिनो पेशा वा रोजगारी भए तापनि, बढी सम्पत्ति आर्जन गर्ने मनसायले आफ्नै घरमा खाल स्थापना गरी बसेको हुतिहारा वा नामर्द व्यक्तिलाई सम्झनु पर्दछ।
(ल) “पुरानो कोदो” भन्नाले खेलाडीले पहिल्यै खेलेको म्यारीजको उठ्न बाँकी रकमलाई सम्झनु पर्दछ।
(व) “डिपोजिट” भन्नाले खेलाडीहरूको आपसी विश्वासमा रकम तिर्ने विषयमा संकट भएको अवस्थामा खेलाडीहरूको सहमतिमा राखिएको डिपोजिट रकमलाई सम्झनु पर्दछ।
(स) “म्याच फिक्सिङ” भन्नाले तास पूर्वनिर्धारित रुपमा मिलाएर जानाजानी कसैलाई हराउने नियतले खेलिने खेल सम्झनु पर्दछ।
परिच्छेद-२
३. यस खेलसँग सम्बन्धित विभिन्न नियम, माल गणना विधि, शो व्यवस्था, र खेलाडीको जिम्मेवारीहरूलाई ऐनद्वारा व्यवस्थित गर्दै खेलको रोचकता र निष्पक्षता कायम गरिने छ।
(क) खेलाडीको संख्या: यो खेल २ जना देखि ८ जना सम्ममा नबढ्ने गरी खेल्न सकिनेछ। यसरी २ देखि ८ जना सम्मले खेल्दा शर्त बमोजिम घोप्टो वा उत्तानो पारी खेल्न सकिनेछ।
(ख) माल गणना विधि: यस खेलमा निम्न बमोजिम माल गणना हुनेछ।
(अ) कटुवाले काटेको रङ र अंकको मुनिको टिप्लु र पप्लु २/२ को माल हुनेछ।
(आ) खण्ड (क) मा उल्लेखित दुवै तास भने ४ को माल हुनेछ।
(इ) १ टनेला ५ को, २ टनेला १५ को र ३ टनेला परेमा स्वतः ४० को माल हुनेछ।
(ई) १ अल्टर ५ को, २ अल्टर १५ को, ३ अल्टर २५ को, ४ अल्टरको ३० को, जोक्करको ५ को, २ जोक्करको १५, ३ जोक्करको २५, ४ जोक्करको ३० को माल हुनेछ।
(उ) पल्टेको तासको पप्लु वा टिप्लु तथा दुवै भएमा ९ को माल र म्यारिज १० को माल हुनेछ।
(ऊ) उल्लेखित माल बाहेक, खेलाडीहरूले शर्त बमोजिम अन्य जोक्करलाई माल थप गरेर खेल खेल्न सक्नेछन्।
(ग) डुप्ली खेल सम्बन्धी व्यवस्था: यस खेलमा डुप्ली खेल्दा हातमा ७ डुप्ली भएपछि भुइँमा देखाएर लेसमा बस्न सकिनेछ, र ८ डुप्ली भएमा सो गर्न सकिनेछ। तर उत्तानो पारी खेलिएको खेलमा डुप्ली भुइँमा पछार्नु पर्ने छैन। यस बापत ५ प्वाइन्ट सलामी खान पाइनेछ। तर, ७ डुप्ली हुँदा सम्म हातमै राखेमा गणना हुँदा कायम भएको प्वाइन्ट तिर्नु पर्ने छैन।
(घ) टनेला तथा डुप्लीमा हुने शो सम्बन्धी विशेष व्यवस्था: यस खेलमा ३ टनेला प्रारम्भमा परेमा वा ८ डुप्ली हातमा परेमा स्वतः शो हुनेछ।
(ङ) बेटर खेल खेलिने व्यवस्था: यस खेलमा १० को माल भन्दा माथि परेपछि वा माल नपरेको अवस्थामा खेलाडीहरूको आपसी सहमति अनुसार बेटर गेम खेल्न सकिनेछ।
(च) जोक्करलाई माल मानी खेल्न सकिने: यस खेलमा माल बाहेक खेलाडीहरूको सहमति अनुसार बाहिरको जोक्करलाई १ वा २ वा ३ वा ४ राखेर अल्टरको गणनामा पनि खेल्न सकिनेछ।
(छ) 'लाग्यो' भन्न नपाइने: खेल खेल्दै गर्दा खेलाडीले हारी टाट पल्टी मुर्गा भएपछि 'लाग्यो' भन्न पाइने छैन। यस्तो खेलाडीले डिपोजिटमा धक्का लाग्ने बित्तिकै उठ्नुपर्नेछ।
(ज) खालमा हराएको वस्तुको जवाफदेही स्वयं खेलाडी नै हुनु पर्ने: यस खेलमा खेलाडीहरूले हारी टाट पल्टी जो सुकैको पनि जुत्ता, रिङ, चेन, घडी, ज्याकेट तथा अन्य नगदी वा जिन्सी सरसामानहरू जमानत राखेको वा हराएकोमा, सो को जवाफदेही खाले नभई स्वयं खेलाडी नै हुनु पर्नेछ।
(झ) पुरानो कोदो नयाँ खेलमा हिसाब गर्न नहुने: कुनै खेलाडी मुर्गा भए पछि अघिल्लो खेलको पुरानो कोदो भन्दै नयाँ खेलमा हिसाब गर्न पाइने छैन। यस्तो उठ्ती रकम तुरुन्तै खालमै उठाउनु पर्नेछ वा माफ मिनाहा गरी अन्यत्रको खेलमा हिसाब नगर्ने घोषणा गरी उठ्नुपर्नेछ।
(ञ) खेल खेलिरहेको समयमा कोही लिन आएमा तुरुन्त उठ्नु पर्ने: खेल भइरहेको समयमा कुनै पनि खेलाडीको स्वास्नी, छोरा-छोरी वा अन्य नातेदार आएर "उठ्नुस्" भनेमा, खेलाडीले तुरुन्त आफ्नो हिसाब किताब सुल्झाएर उठ्नुपर्नेछ।
(ट) जितुवालाई जितौरी बाँड्न बाध्य नपारिने: खेलको अन्त्य भएपछि जित्ने खेलाडीलाई जितौरी बाँड्न बाध्य पारिने छैन। जितुवाले आफ्नो स्वेच्छाले दिएको जितौरीलाई दर्शकहरूले आफ्नै आम्दानी सम्झी ग्रहण गर्नु पर्नेछ। तर, 'तैंले यति उति दिनु पर्छ' भन्दै दबाब दिन पाइने छैन।
(ठ) बाटो खर्च दिइने: खेलको समयमा अत्यधिक हारी टाट पल्टी हार्ने मुर्गालाई जित्ने खेलाडीहरू मध्येबाट १ कि.मि.भन्दा परसम्मको गन्तव्यमा जानु पर्ने भएमा बाटो खर्च दिन सकिनेछ। तर जितुवाले जुत्ता टिपेर भाग्न खोजेमा, ऐनको दण्ड सजाय सम्बन्धी व्यवस्थाअनुसार कारवाही गरिनेछ।
४. म्यारिज खेल तथा खालमा निषिद्ध कार्यहरू:
(क) गलत शो गर्न नहुने।
(ख) खेलाडी तथा दर्शकबीच मुख छाड्न वा हात हाल्न नहुने।
(ग) खालेको स्वास्नी, छोरी वा चेलीहरू माथि गिद्धे दृष्टि लगाउन नहुने।
(घ) धारिलो हतियार लिएर आउन निषेध।
(ङ) इशारा वा कुनै माध्यमबाट अन्य खेलाडीलाई मालको जानकारी दिन नहुने।
(च) वाई.सि.एल. काटेमा, काट्ने व्यक्तिले ५ प्वाइन्ट स्वतः पाउनेछ। पुनः काट्दा पुनः परेमा १० प्वाइन्ट स्वतः पाउनेछ।
परिच्छेद-३
५. यस खेलमा निम्न बमोजिमको दण्ड सजायको व्यवस्था गरिएको छ:
(क) १३ प्वाईन्ट पर्ने: यस खेलमा कुनै पनि खेलाडीले आफ्नो व्यक्तिगत लाभ लिने उद्देश्यले वा अन्य कुनै दूषित मनसायले वा भूलवस खेलाडीहरूको आँखा छली माल थप्ने, फेरबदल गर्ने, ७ देखि माथि वा मुनीको तास/चक्की राखी सो गर्ने आदि गलत तथा निषिद्ध कार्य गरेको ठहरेमा, फेला परेमा, त्यस्तो खेलाडीलाई १ पल्टको लागि १३ प्वाईन्ट जरिवाना तिराई तास हाप्न लगाईनेछ। अन्यथा ऐनको ५ (ग) बमोजिम कारवाही गरिनेछ।
(ख) खेल भइरहेकाे अवस्थामा कटुवाले माल काटेपछि माल वा जोक्कर परेन भनी कुइकुई गर्दै म्यारीजको बुक चलाउने, था...था...थु...थु... गर्ने तथा ताससम्म हुत्याउने जस्तो अपराध गरेमा, त्यस्तो खेलाडीलाई १३ प्वाईन्ट तिराई तुरुन्त खालेले खेलबाट बर्खास्त गरी अर्को खेलाडी नियुक्त गर्न सक्नेछ।
(ग) खालमा मुख छाड्ने तथा गाली गलौज, बेइज्जती गर्न नहुने: यस ऐनमा कुनै पनि खेलाडीले एक अर्काबीच व्यक्तिगत मनमुटाव गर्ने तथा खेलको प्रसङ्गमा अनावश्यक वादविवाद, किचलो सृजना गरी खेलमा अवरोध ल्याउने/गराउने, तथा नाकमा, मुखमा मुक्का बजाउनेसम्मको जघन्य अपराध गरेमा, त्यस्तो खेलाडीलाई तुरुन्तै भविष्यमा अयोग्य नठहरिने गरी निष्काशन गरिनेछ र सो खालका लागि स्वतः अयोग्य हुनेछ। निजको पुनरावेदन कहीं लाग्ने छैन।
(घ ) धारिलो हतियार लिएर आउन निषेध: कुनै पनि खेलाडी, टट्टु वा धुपौरेले खेल भइरहेको समयमा धारिलो हतियार लिएर आई, देखाई वा आतङ्कति पारी लिई आएको धारिलो हतियार प्रहार गरी खालमा रहेका कुनै पनि व्यक्तिलाई घाइते बनाएमा, ३५ दिन भित्र निको नहुने चोट लागेको अवस्थामा ऐन बमोजिम कारवाहीको लागि नजिकको प्रहरी कार्यालयमा बुझाईदिनु पर्नेछ। तर ३५ दिन भित्र निको हुने प्रकृतिको चोट भएमा प्रहारकर्ताले घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्नु पर्नेछ।
(ङ) आफन्त लिन आएमा जुरुक्क उठ्नु पर्ने: खेल भइरहेको समयमा कुनै पनि खेलाडीको स्वास्नी, छोराछोरी वा अन्य नातेदार आई “उठ्नोस्” भनेमा खेलाडीले तुरुन्त आफ्नो हिसाब किताब मिलान गरी खालबाट जुरुक्क उठ्नु पर्नेछ। तर “एकै हात, एकै हात” भनी खेललाई लम्ब्याई लिन आएको व्यक्तिले आवेशमा आई तास च्यात्ने वा हुर्याई दिएर म्यारीज खेलको गरिमामा आँच पुर्याउने जस्तो जघन्य अपराध गरेमा, त्यस्तो खेलाडीलाई तासको मूल्यसहित १० प्रतिशत रकम जरिवाना स्वरूप असूल उपर गराइनेछ। यस्तो सजायबाट असूल भएको रकममध्ये ५ प्रतिशत रकम म्यारीज खेल वरिपरि झुम्मिएर होस् वा उंघी उंघी भए पनि खेल सफल बनाउन लागि परेका टट्टु वा धुपौरेलाई चिया नास्ताको शीर्षकमा तुरुन्त खर्च गर्नु पर्नेछ।
(च) जिस्क्याउन वा गिज्याउन नहुने: यदि कुनै खेलाडीले वा हेर्न, उंघ्न, लम्पसार परेर सुत्न वा सिक्न, अथवा मान्छे बोलाउन आउने व्यक्तिले खालेको स्वास्नी वा छोरी, चेलीमाथि कुदृष्टि राखी जिस्क्याउन वा गिज्याउने, आँखा झिम्क्याउने, हात समाउने, गालामा म्वाई खाई दिने वा अन्य यहाँ लेख्न नमिल्ने जस्तो जघन्य अपराध गरेमा त्यस्ता बिल्टुवालाई खालेले उतिखेरै खालबाट बाहिर निकाली नाङ्गेझार पारी सिस्नु पानी लगाउन सक्नेछ। सो कार्य गर्ने बिल्टुवा अन्य कानूनी कार्वाहीबाट समेत मुक्त हुने छैन।
(छ) जितुवा खेलाडी भाग्न नहुने: जितुवा खेलाडी आफन्तहरू लिन आएको अवस्थामा बाहेक, घटीमा १० राउण्ड खेल नखेली भाग्न पाउने छैन। त्यस्ता जितुवा खेलाडी खेल छोडी नगएको अवस्थामा खेलको अन्तमा जितौरी नबाँडी दूषित मनसायले खालबाट भाग्न वा बाहिरिन खोजेमा, त्यस्तो खेलाडीलाई खेलमा खालेले कठालो समाई जितेको सबै पैसा थुत्ती बाहिर पठाइनेछ। यस्तो कार्यमा उपस्थित अन्य खेलाडी तथा टट्टु वा धुपौरेले समेत मद्दत गर्नुपर्नेछ।
(ज) मादक पदार्थ सेवन गरेका खेलाडीलाई मुर्गा बनाउन नपाईने: कुनै पनि खाले वा खेलाडीहरूले कुनै पनि नशामा भएको खेलाडीलाई विभिन्न प्रलोभन देखाई वा ललाई फकाई खेलमा बसाई, साथमा रहेको नगद वा जिन्सी सम्पूर्ण सर-सामानहरू जितेर लिने खेलाडी वा खालेलाई बढीमा ३ वर्षको लागि निलम्बनमा राखी खाल स्थापना गर्न नदिने वा खेलाडीहरूको हकमा उल्लिखित अवधि सम्मका लागि खेलमा सहभागी हुन वञ्चित गरिनेछ।
(झ) म्याच फिक्सिङ गर्न नपाइने: म्याच फिक्सिङ गरेको ठहर भएमा जिन्दगीभर तास छुन नपाइने गरी प्रतिबन्ध लगाइनेछ। यो प्रतिबन्धलाई विश्वव्यापी बनाउन विश्व म्यारीज ब्युरोलाई समेत पत्र लेखिनेछ। यसमा कसैको उजुरबाजुर लाग्ने छैन।
परिच्छेद-४
६. अन्य नियम, विनियममा असर नपर्ने: यस ऐनमा उल्लेख भएका नियमहरुले क्षेत्रगत रुपमा बनेका, चलनचल्तीमा रहेका नियम, विनियमलाई कुनै पनि प्रकारले असर गर्ने छैन।
७. लागू हुने: यो ऐन केवल म्यारीज प्रेमी खेलाडीहरु वा यससँग सम्बन्धित जो कोही व्यक्तिलाई मात्र लागू हुनेछ।
८. संयोग हुने: यो ऐनमा व्यवस्था गरिएका कुराहरु अन्य नियम, विनियमसँग मेल खान गएमा केवल संयोग मात्र हुनेछ।
९. अमान्य हुने: यस ऐनमा बाझिएका कुनै पनि कुराहरु बाझिएको हदसम्म अमान्य हुनेछन्।
१०. बाधा अड्काउ फुकाउने: यस ऐनमा व्यवस्था गरिएका कुराहरु बाहेक अन्य परिस्थिति सृजना भई खेलमा अवरोध आएमा, खेलाडीहरुको आपसी समझदारीबाट बाधा अड्काउ फुकाउन कुनै समस्या हुने छैन।
११. संशोधन: यस ऐनमा संशोधन वा सुझाव दिन चाहनेले नेपाल म्यारीज संघ, केन्द्रीय कार्यालय, घट्टेकुलामा लिखित राय वा सुझाव दिन सक्नेछन्।
यो कथा व्यंग्य र ठट्टाको रूप हो। यो कार्यको कुनै कानुनी वैधता छैन।- सम्पादक