कला साहित्य

जाँ..." शब्द: हाम्रो थेगो कि आयातित गाली?

शशी थापा सुब्बा

जाँ..." शब्द: हाम्रो थेगो कि आयातित गाली?

मैले लिम्बू भाषा निकै पछि मात्र सुनेको र सिकेको हुँ। म झण्डै तेह्र वर्षको हुँदा, दार्जिलिङबाट पढेर आएपछि, भाषा सिक्ने क्रममा थिएँ। काका, दिदी, दाइहरूको मुखबाट बारम्बार निस्कने शब्द एक दिन मैले मेरो युमा (बोजू) सँग सोधेँ, ‘बोजू, जाँ... लाई लिम्बूमा के भन्छ?’

बोजूले भन्नुभयो, ‘के दिक चै भन्छ र हौ? चाँठै (मेरो बोजूले त त्यो पनि अशुद्ध नेपालीमा भन्नु हुन्थ्यो) भन्छ नि।’ लिम्बूमा के भन्छ त? ‘तिम्रो बाजे बराजुले कहाँबाट सुनेर सिकेको, हाम्रो होइन है! याक्थुङ पान्ओ ग होपा! (लिम्बू भाषामा त छैन)’ भन्नुभएको थियो। त्यसबेलादेखि यो लिम्बू भाषा होइन भनेर त बुझेकी थिएँ तर गाली हो कि के हो भनेर धेरै पछि मात्र ज्ञान भयो। आमा बाबाले चैँ नबोल्ने हुँदा घरमा यस्तो शब्द बोलिएको थिएन तर पछिपछि खै कसरी हो, रिसको झोकमा धेरैचोटी मुखबाट ननिस्किएको चैँ होइन!

अहिले नेपाली सिनेमामा जसरी मूलवासी समुदायका कथाहरू लेख्न वा देखिन थालिएको छ, त्योसँगै थेगोको रूपमा प्रचलित केही शब्दहरू पनि त्यहाँको रहनसहन र बोलीचालीलाई सार्थक पार्नकै निमित्त कथामा जोडिएर आउन थालेका छन्। यसलाई सिधै प्रयोग नगर्दा घुमाएर (जाँड खाने र चिनी खाने) भनेर पनि बुझाइन्छ। सिधै भन्दा यसलाई अश्लील वा अपाच्य शब्द भनेर पनि मानिन्छ।

यसको प्रयोग र विरोध दुवै ‘जारी’ चलचित्रमा पनि नभएको होइन तर आम दर्शकहरूले त्यसलाई सजिलै पचाए। अहिले फेरि नयाँ नेपाली चलचित्र ‘घर ज्वाइँ’ मा पनि यस्तै शब्दहरूको व्यापक प्रयोग भएको रहेछ। चलचित्रको ट्रेलर रिलिज भएसँगै केही विवाद र विरोधका आवाजहरू पनि सुनिन थालेका छन्।

अब यता मैले बुझेको वा मैले तलासेको कुरा यति हो कि हामी कुनै पनि मूलवासी जनजातिहरूको आ–आफ्नो मातृभाषा जुन छ, त्यहाँ कहीँ कतै पनि यी शब्दहरू छैनन्। शरीरका सम्पूर्ण अङ्गहरूको नाम भए पनि मैले जानेसम्म यो ‘जाँ...’ शब्दको चैँ नाम निशान छैन। पछि कसैले बनाए भने के जान्नु मेरो जानकारीमा पटक्कै छैन। लिम्बू भाषामा त झन् पटक्कै छैन। मभन्दा ७८ वर्ष जेठी बोजूले नै यस्तो शब्द लिम्बू भाषामा छैन भनेपछि अवश्य नै छैन। छ भने पनि त्यसलाई गालीको रूपमा प्रयोग गरिन्न नै होला।

तर हिमाली भेगदेखि महाभारत र चुरे पर्वतहरूबाट ओरालो हुँदै नुन र सुनको व्यापार चलेपछि सहरतिरकै नेपाली भाषीहरूबाट ढाकरमा बोकेर आयातित गरिएको शब्द हुनुपर्छ पक्कै पनि। त्यसपछि मात्र ‘जाँड खाने र चिनी खाने’ भाषा हाम्रा पुर्खाले थेगोको रूपमा प्रयोग गर्न थालेको हुनुपर्छ।

न त हामीले सोध्यौँ, न पुर्खाहरूले नै बुझे वा सोधे ती थेगोहरूको शब्दार्थ। यसलाई बोल्दा अलिकति पनि लाज नमानी सजिलै बोल्नु भनेकै शब्दको अर्थ नबुझ्नु नै हो। हुनसक्छ, त्यो बेला सहर पुगेर आएको धाक वा नयाँ केही सिकेको प्रमाण–पत्र...? मतलब आयातित शब्द नै हुनुपर्छ।

अचम्म चाहिँ यो कुरामा लाग्छ कि पूर्व ताप्लेजुङको लिम्बू र पश्चिम रुकुम पूर्वको तक्सेराको मगरबीच चिनजान वा अरू कुनै सम्बन्ध पनि नहुन सक्छ। ती लिम्बू र ती मगरको आ–आफ्नै मातृभाषा र संस्कृति छन्। उनीहरू एक–अर्काका भाषा पनि बुझ्दैनन्। तर पनि किन यो शब्द सबैतिर मिल्छ? उताको मगर र यताको लिम्बूले कसरी सिके त यस्ता शब्द? अनि अर्को कुरा उनीहरूका आ–आफ्ना भाषामा किन छैनन् यस्तो शब्द? किनकि यो उनीहरूको मौलिक भाषा होइन पक्कै पनि।

त्यसकारण हाम्रा अग्रजहरूसँगै सिकेर सुनेर हुर्कने हामीभन्दा अघिल्लो पुस्ता केही विकट गाउँहरूमा यो थेगोको रूपमा मात्रै प्रचलित छ र यो शब्दसँगको हाम्रो भावनात्मक सम्बन्ध भनेको शब्दार्थको ज्ञान बिना बाजे वा बाबु, काका, दाजुहरूले धाप मारेर प्रयोग गरेको गर्विलो क्षण वा हँसीमजाक गर्दाको रमाइलो सम्झना र रिस पोखाउने माध्यम मात्र हो। हामी मूलवासीहरू सजिलै अश्लील गाली बोल्छौँ र यस्तो संस्कार चल्न दिनुहुन्न भन्ने कसैको सोच छ भने यो सरासर गलत हुन जान्छ। जब शिक्षाको प्रवेशसँगै शब्दको अर्थ बुझ्ने क्रम बढ्यो नि यो पनि अब हराउने क्रममा छ। किनकि यो शब्द हाम्रो पुस्ताले रिस उठेको बेलामा मात्र र हामीभन्दा पछिल्लो पुस्ताले अपवादको रूपमा मात्र प्रयोग गर्ने गरेको देखिन्छ।

त्यसअर्थमा बाजे बराजुहरूले अरूबाटै पैँचो लिएर अर्थै नबुझी यत्रो वर्ष बचाइदिएका यी दुर्लभ शब्दहरू करिब करिब जसको हो, उसैलाई फिर्ता पठाइसकेकै अवस्थामा पुगेको छ। वास्तवमा यो नेपाली भाषा नै हो र यसको अर्थ पनि नेपाली भाषाविज्ञहरूसँग नै होला तर नेपाली सबै सभ्य भइटोपलेको हुनाले यस्ता दुर्लभ शब्दहरू अब हराउने निश्चित छ। बरू फ्लिमहरूमा सङ्ग्रह भएर बस्नु त इतिहासमा पढ्न र हेर्न पाउनु हो नि किन विरोध गर्ने र?

ज–जसलाई यो शब्दले लाज लागेको छ र ज–जसले बुझेर गलत हो भनिरहनुभएको छ भने यो गलतै हो तर के गर्ने, मेरो बाजेले अझै बुझेकै छैन र आफ्नो रिस वा उत्साह वा अचम्म अनि भनौँ गर्व गर्ने बेलामा समेत प्रयोग गरिरहनुभएकै छ। यो जसले सिकायो, शब्द सिकाएर अर्थ नबुझाइएको परिणाम होला नत्र चेलीबेटीको असाध्यै सम्मान र अधिकार दिने जातिहरू नै यस्तो शब्द किन प्रयोग गर्दा हुन् उबेलै! अहिले आएर बुझे पनि पुस्तैनी थेगो र आदत दुवै बन्यो होला।

हामीले हिन्दी र अङ्ग्रेजी फिल्महरूमा यस्ता स्थानीय वा प्रान्तीय गाली–गलौज भएको पचाउँदै आए पनि नेपाली फिल्मले वास्तविक र यथार्थपरक कथाहरू भरखरै मात्र सुरु गरेकाले पनि होला हामीले स्थानीयरूपमा बोलिने भाषालाई पचाउन बानी नपरेको। नत्र त मान्छे कुटेको, मान्छे मारेकोदेखि महिलालाई बलात्कार गरेकोसम्म दृश्यहरू पचाउँदै आएका छौँ। त्यो पनि त गलत हो नि, के हामीले त्यो सिक्छौँ त तुरुन्तै? त्यस्तो गलत गर्नेले त फिल्म नै नहेरी पनि गरिरहेकै हुन्छ। यो फिल्म नै हेरेर सिक्छ भन्नु त बेकार हो। विरोध गर्नेहरू फिल्ममा आउनुभन्दा पहिले यस्ता शब्दहरू नबोलेको र नसुनेको कतै होला र? तसर्थ हामीले यो शब्दसँग लाज मान्नु र विरोध गर्नुको तुक छैन।

यही शब्दलाई लिएर अब बबण्डर उठाउनु पनि ठीक होला र? फिल्ममा समाज र समय बुझाउने अनि देखाउने हो आखिर कोही त्यो ठाउँमा पुग्नुभयो भने त्यहाँ सबैको मुखमा क्लिप लाउन सकिने होइन, तसर्थ विरोध गर्नु बेकार छ। यो फगत् मेरो अनुमान र सोच हो। तर यो भन्दा अतिरञ्जित र विकृतिपूर्ण शब्दहरू भए सेन्सरबोर्डले अवश्य कैंची चलाउला नि त! (हाल बेलायतमा रहेकी सुब्बा कवि, गीतकार तथा रङ्गकर्मी हुन्। यो लेख ब्लास्ट खबरबाट लिइएको हो।)