मेरो परिवार मेरो कथा

पर्दा पछाडिको सत्य: सिर्फ ५ हजार घुस दिने सांसदले कहाँबाट पाए एक अर्ब?

पर्दा पछाडिको सत्य: सिर्फ ५ हजार घुस दिने सांसदले कहाँबाट पाए एक अर्ब?

डॉ. वीरेन्द्र महतो, एक प्रभावशाली नेपाली राजनेता र व्यवसायी, आफ्नो राजनीतिक र सामाजिक योगदानका लागि चर्चित छन्। महतोले आफ्नो राजनीतिक यात्रा संघीय समाजवादी फोरमबाट सुरु गरे। उनले सिरहा ५ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आफ्नो पहिलो चुनाव लडे र विभिन्न समयमा तीन पटक सांसद बने। उनले आफ्नो राजनीतिक करियरमा तीन वटा फरक राजनीतिक दलहरूमा सदस्यता लिए, जसमा संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा), र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छन्। २०७० मा, महतोले प्रचण्डविरुद्ध सिराहा क्षेत्रबाट चुनाव लड्ने योजना बनाएका थिए, तर अन्ततः त्यो योजनालाई परित्याग गरे। उनले २०७८ सालमा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका थिए। 


सिरहाको दुर्गम गाउँ कर्जनाहाकी फुलकुमारी महतोको जीवन संघर्षमै बित्यो। सामान्य आयस्रोत भएको परिवारकी बुहारी फुलकुमारीलाई छोराछोरी हुर्काउनै धौधौ थियो। जसोतसो उनले छोराछोरीलाई विद्यालय पठाएकी थिइन्। भाग्यले साथ दियो, सरकारी विद्यालयमा पढे पनि उनका छोराहरू अब्बल दरिए। जेठा छोरा उपेन्द्र महतोले नाम र दाम कमाउन थालिसकेका थिए।

बाँकी दुई भाइ छोरा र छोरीले पनि राम्रै प्रगति गरेका थिए। फुलकुमारीको परिवार फुलबारीजस्तै फक्रदै थियो। उनको बसाइ कहिले काठमाडौं त कहिले सिराहामा हुन्थ्यो। उनलाई आफ्नै घरगाउँमा बस्न बढी मन पथ्र्यो। कर्जनाहास्थित घरमा बसिरहेका बेला फुलकुमारीको छाती दुख्यो। अस्पताल गाउँभन्दा टाढा थियो। एम्बुलेन्सको सुविधा पनि उपलब्ध थिएन। हृदयघातका कारण फुलकुमारीको निधन भयो। फुलकुमारीको निधनले महतो परिवारमा बज्रपात आइलाग्यो। आमाबुबालाई दुःखको अनुभूति हुनै नदिने प्रण गरेका महतो दाजुभाइ अकल्पनीय घटनाका कारण विक्षिप्त भए।

आमालाई अमर राख्ने उपाय खोज्न थाले। आमालाई बचाउन नसके पनि आमाजस्तै अकालमा मर्नबाट अरुलाई बचाएर आमाको आत्मालाई शान्ति दिन उनीहरूले फुलकुमारी महतो ट्रष्टको स्थापना गरे। १४ वर्षअघि स्थापना भएको यो ट्रष्टले देशभर समाजसेवाका काम गर्दै आएको छ। महतो दाजुभाइले ट्रष्टमार्फत मातृभूमि कर्जनाहालाई मिनी सिंगापुर बनाउने अठोट लिएका छन्।

अहिले कर्जनाहाको मुहार फेरिएको छ। महतो दाजुभाइको पारिवारिक लगानीबाट बनेका अस्पताल, वृद्धाश्रम, सुविधासम्पन्न विद्यालय, बाटोघाटो र एकीकृत बस्तीका बहुयोजनाका कारण कर्जनाहाको मुहार फेरिएको छ। जहाँ पुगे पनि जस्तो हैसियतमा रहे पनि आफ्नो माटोलाई बिर्सिन नहुने दाजु उपेन्द्रको आदर्शबाट उत्प्रेरित विरेन्द्र कर्जनाहाको विकासमा निरन्तर खटिएका छन्। उपेन्द्र आफ्ना भाइहरूलाई सम्झाइरहन्छन्, ‘व्यक्ति आफू के बन्यो भन्दा पनि उसले अरूका लागि के गर्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ। आफ्नो कमाइ अरूको भलाइका लागि सदुपयोग हुँदा जस्तो सुखानुभूति अरुबाट पाइँदैन।’ कर्जनाहाको मुहार फेर्न दाजु उपेन्द्रको सोच र लगानीले मुख्य भूमिका निर्वाह गरेको छ। व्यवसायका कारण प्रायः देशबाहिर रहने उपेन्द्रको सोचलाई विरेन्द्रले नेपालमै बसेर सार्थक बनाइरहेका छन्।


विरेन्द्रको नजरमा उपेन्द्र

विरेन्द्र महतोको आफ्नै पहिचान छ। पिएचडी होल्डर विरन्द्रसँग विदेशमा प्रतिष्ठित जागिरको अनुभव पनि छ। नेपालमा कैयौं व्यवसायिक प्रतिष्ठानको नेतृत्व गरेको विरासत पनि छ। माछापुच्छ्रे बैंकका अध्यक्ष विरेंद्र सभासद् पनि हुन्। उनी भन्छन्, "मलाई मेरो आफ्नै पदले चिनिएको भन्दा उपेन्द्र महतोको भाइको रूपमा चिनिँदा आनन्द लाग्छ। उहाँ हाम्रो कर्मदाता हो, साथै आदर्श।"

गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्ष निर्वाचित भएपछि उपेन्द्र महतो विश्वभर रहेका नेपालीमाझ परिचित भए। छोटो अवधिमा सम्पन्नताको शिखरमा पुगेका उपेन्द्रले कहिल्यै कसैलाई आफू टुप्पोबाट पलाएको भन्ने अनुभूति हुन दिएनन्। दाजुको विनम्रता, विनयशीलता, र सेवाभाव नदेखेको भए सायद विरेंद्र अर्कै स्वभावका हुन्थे। उनी भन्छन्, "दाइले हामीलाई सम्पन्नता मात्रै दिलाउनुभएन, सत्मार्ग पनि देखाउनुभयो।"

धेरै घरपरिवारमा दाजुभाइका बीचमा मनमुटाव र प्रतिष्पर्धा हुन्छ। एक भाइ कमाउने मात्र, अर्को गुमाउने मात्र भएका उदाहरण प्रशस्त देख्न सकिन्छ। उपेन्द्रले यो नियतिलाई आफ्नो परिवारमा दोहोर्याउन दिएनन्। दाजुकै भरथेकमा आफूहरूको व्यवसाय फैलिएको विरेंद्र खुलस्त बताउँछन्। उनी भन्छन्, "हामी अलग भएका छैनौं। सबैले आ-आफ्नो गरिराखेका छौं। तीन भाइमा म आर्थिकरुपमा पछि हुन सक्छु, तर दाजुभाइको प्रगति देखेर म नै बढी खुशी हुन्छु।" अहिले पनि तीन दाजुभाइका बीचमा नियमित छलफल भइराख्छ।

दाजुको स्वीकृति नलिई भाइहरूले नयाँ काम थाल्दैनन्। बयोवृद्ध बुबालाई जानकारी नदिई उनीहरूले नयाँ इँटा थप्दैनन्। उपेन्द्र ८० को दशकमा रुस पढ्न गए। इन्जिनियरिङ पढेका उपेन्द्रले व्यापार थाले। ९० को दशकको आरम्भमा रुस खुला अर्थतन्त्रमा प्रवेश गर्‍यो, उपेन्द्रको व्यवसायले रफ्तार लियो। त्यसपछि महतो परिवारमा सबैका लागि सफलताको ढोका खुल्यो। उपेन्द्रकै सहयोगमा दुई भाइ उच्चशिक्षाका लागि रुस पुगे, जागिरे हुँदै व्यवसायी बने। विरेंद्र भन्छन्, "दाइ नभएको भए के बन्थ्यौं भन्न सकिन्न। यत्ति भन्न सक्छौं, आज जे छौं, त्यो हुँदैनथ्यौं।"

उपेन्द्रले दिएका १ अर्बबाट आरम्भ भएको व्यवसाय उपेन्द्र रित्तो हात रुस हानिएका थिए। कर्मले उनी धनी भए। उनको धनमाथि भाइहरूले दाबी गर्ने ठाँउ थिएन। उपेन्द्र भाइप्रति अनुदार हुन पनि सक्थे। पढाइदिएकै थिए। व्यवस्थापनमा विद्यावारिधी गरेका विरेंद्र विश्वको जुनसुकै ठाउँमा जागिरे हुन सक्थे। कान्छा सुरेन्द्र मेडिकल डाक्टर भइसकेका थिए। दाजु उपेन्द्रले उनीहरूलाई जागिरे होइन, जागिर खुवाउने बाटो अर्थात व्यवसायमा लाग्न प्रेरित गरे।

विरेंद्र भन्छन्, "दाइले एक दिन हामी दुबैलाई १०/१० मिलियन अर्थात एक-एक अर्ब नेपाली रुपैयाँ दिन्छु। सके केही कमाओ, नसके केही गुमाएर भए पनि व्यवसाय सिकाओ भन्नुभयो। त्यही रकमले हामीले व्यवसाय थालेका हौं। मैले नेपालमा व्यवसाय गर्न थाले, भाइले बेलारुसमा गर्‍यो। जे जति व्यवसाय फैलाउन सकेका छौं, त्यही रकमको जगमा फैलिएको हो।" विरेंद्र आफ्नो सम्पत्ति कति छ भन्न चाहँदैनन्, तर उनले दिएको विवरण हेर्दा उनी अरबौंको पूँजीका मालिक हुन्। भाइको विशाल साम्राज्य बेलारुसमै फैलिएको छ।

महतो परिवारको राजनीतिक जीवनमा, उपेन्द्र महतो सबैजसो पार्टीका सहयोगी हुन्। महतो परिवारबाट सहयोग नलिएको सायदै कुनै पार्टी होला। सानैदेखि विरेंद्रमा भिन्दै स्वभाव थियो। उनी सामाजिक क्रियाकलापमा दाइ र भाइभन्दा बढी सक्रिय हुन्थे। ठूलो भएपछि दाइका गतिविधि र अर्ति-उपदेशले उनलाई झन् बढी सामाजिक बनाउन प्रेरित गर्‍यो। "आफ्नो माटो भुल्ने र कमाएर आफू मात्रै मोटाउने मान्छेको कुनै अर्थ हुँदैन" भन्ने उपेन्द्रको उपदेशले उनलाई सधैं केही नयाँ गर्ने प्रेरणा दियो। समाजसेवा गर्दै जाँदा उनले मधेशको दुर्दशा गहिरो गरी बुझ्दै गए। कारण पनि जान्दै गए। राजनीतिबाटै आमूल परिवर्तन नगरी नहुने निष्कर्षमा उनी पुगे।


परिवार, राजनीति, र सिद्धान्त

विरेन्द्र महतो, जो आफ्नो जीवनमा सधैं एउटा स्पष्ट उद्देश्य लिएर अघि बढिरहेका छन्, दोस्रो संविधानसभाभन्दा पहिले संघीय समाजवादी फोरममा प्रवेश गरे। उनी आफ्नो जन्मथलो सिराहा ५ बाट चुनावी मैदानमा उत्रन चाहन्थे। तर, यो क्षेत्र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवारीका लागि घोषणा गरिसकेका थिए। प्रचण्डले विरेन्द्रलाई सो क्षेत्रबाट चुनावमा प्रतिष्पर्धा नगर्न आग्रह गरे, र यो आग्रह पटकपटक दोहोरियो। विरेन्द्रमाथि दाजुमार्फत पनि दबाब आयो, जसले गर्दा उनी प्रत्यक्ष निर्वाचनमा सहभागी हुनबाट रोकिए। यद्यपि, उनी सभासद् त भए, तर प्रत्यक्ष निर्वाचित हुने अवसर गुमाए।

यो घटना विरेन्द्रको राजनीतिक यात्राको एउटा महत्वपूर्ण मोड हो। प्रत्यक्ष चुनावमा सहभागी हुन नपाउँदा पनि, विरेन्द्रले सिरहामा दर्हो राजनीतिक आधार बनाइसकेका छन्। उनी भन्छन्, "म सामान्य परिवारमा हुर्के। दाजुको छाहारीमा सम्पन्न भए। म पैसा कमाउनका लागि राजनीति गर्दिन। मधेशको पहिचान र देशको समृद्धिका लागि राजनीतिमा लागिरहेको छु।"

विरेन्द्रको राजनीतिक यात्रा व्यक्तिगत परिवारिक सम्बन्धसँग पनि गाँसिएको छ। उनकी बहिनी जुली र ज्वाईं रघुबीर महासेठ एमालेको राजनीतिमा छन्, जबकि विरेन्द्र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)मा छन्। यो देख्दा, महतो परिवारले "मिलीजुली राजनीति" गरेको भान हुन्छ। जब हामीले यही विषयमा विरेन्द्रसँग प्रश्न गर्यौं, उनले स्पष्ट पार्दै भने, "बहिनी र ज्वाईं किशोर अवस्थादेखि नै राजनीतिमा लागेका हुन्। राजनीतिक रूपमा जे जस्तो भए पनि, हामीले परिवारमा राजनीतिको छायाँ पर्न दिएका छैनौं। हामी परिवारलाई कुनै पनि हिसाबले प्रभावित गर्न दिँदैनौं।"

विरेन्द्रको यो भनाइले उनको सिद्धान्त र परिवारप्रतिको प्रतिबद्धतालाई उजागर गर्छ। उनले राजनीति र परिवारलाई अलग राख्दै, मधेशको पहिचान र देशको समृद्धिका लागि आफ्नो उद्देश्यमा दृढ रहेको देखाउँछन्। विरेन्द्र महतोको राजनीतिक यात्रा र पारिवारिक सम्बन्धको यो कथा, एक व्यक्तिको संघर्ष, सिद्धान्त, र सामाजिक उत्तरदायित्वको उदाहरण हो।


व्यक्तिगत जीबन र रोमान्स

विरेन्द्र कुरा गर्न सिपालु र फरासिला छन्। उनी मनका कुरा निडर भएर व्यक्त गर्छन्। कोमल वलीले गाएको “मनमा आट र गोजीमा गांठ भएको केटा” प्रसंगको जिकिर गर्दै हामीले उनलाई सोध्यौं, "गाठ पनि छ, आट पनि छ, रोमान्स कत्तिको हुन्छ?" उनले मुस्कानसहित उत्तर दिए, "म रोमान्टिक छु। तर, नेपाली समाजमा सामान्य विषयलाई पनि अनर्थमा बुझ्ने गरिन्छ। दिल खोलेर रोमान्स गर्न मन लागे यूरोपतिर हानिन्छु।"

समयको अभाव भए पनि उनले घरपरिवार, राजनीति, व्यवसाय, र समाजसेवामा समय व्यवस्थापन गरिरहेका छन्। उनी भन्छन्, "सक्रिय जीवन नै सबैभन्दा सुन्दर जीवन हो। म एकै ठाँउमा, एउटै कुर्सीमा केही घण्टा पनि बस्न सक्दिन।" उनका केही सोख छन्—घुम्ने, रमाउने, र गाडी चढ्ने। उनी सहयोग गर्न पाउँदा रमाउँछन्, र भन्छन्, "दिनहुँ कोही न कोही सहयोगका लागि मेरोमा आइरहन्छन्। वास्तविक पीडामा परेकालाई सहयोग गर्दा परमसन्तुष्टि प्राप्त हुन्छ।"


महतोको जीवन कथा नेपाली समाजमा संघर्ष, सफलता, र सामाजिक उत्तरदायित्वको अनोठो मिश्रण हो। आफ्नो राजनीतिक करियरको उतार-चढावसँगै, उनले व्यक्तिगत जीवनमा पनि महत्वपूर्ण परिवर्तन र प्रतिबद्धता देखाएका छन्। संघीय समाजवादी फोरमबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्दै, उनले विभिन्न पार्टीमा सदस्यता लिएर मधेशको पहिचान र देशको समृद्धिका लागि समर्पित रहे। पारिवारिक उत्तरदायित्वलाई पनि उनले कहिल्यै बिर्सेनन्, जहाँ उपेन्द्र महतोको प्रेरणाले उनलाई सामाजिक क्रियाकलापमा सक्रिय बनायो। फुलकुमारी महतो ट्रष्टको स्थापना गरेर, उनले आफ्नो आमाको स्मृतिलाई अमर बनाउने प्रयास गरे, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यलाई निरन्तरता दियो। विरेन्द्र महतोको जीवनशैली र विचारधाराले उनलाई एक सच्चा समाजसेवी, सफल व्यवसायी, र द्रढ राजनेतामा परिणत गरेको छ, जसले आफ्नो व्यक्तिगत सफलता भन्दा समाजको भलाइलाई पहिलो स्थानमा राखेका छन्। यसरी, विरेन्द्र महतोको जीवन नेपाली समाजका लागि एउटा प्रेरणादायी कथा बनेको छ, जहाँ संघर्ष र सफलताको सँगसँगै समाजप्रतिको जिम्मेवारी पनि महत्त्वपूर्ण छ।


थप पड्नुहोस : माछापुच्छ्रे बैंकका पूर्वअध्यक्षको विवादास्पद कथा: के उनी झुट बोलेका हुन्? 

वीरेन्द्र महतो