मेरो परिवार मेरो कथा

मोनिका बन्न मनोजले झेलेको महाभारत (भिडियोसहित)

मोनिका बन्न मनोजले झेलेको महाभारत (भिडियोसहित)

‘म को हुँ?’ उनी बारम्बार आफैँलाई प्रश्न गर्थिन्। उनको रूप र व्यवहारले कहिल्यै तालमेल मिलाउन सकेन। केटीका लुगा लगाउन मन लाग्थ्यो, केटीकै बीचमा बस्न मन लाग्थ्यो, र लक्का जवान पुरुषसँग प्रेम गर्न चाहन्थिन्। तर, यसलाई व्यक्त कसरी गर्ने? उनी मनलाई छल्न सक्दिन थिइन्, तर समाजसँग आत्मसमर्पण गरेर केटाजस्तो बन्न पनि सक्दिन थिइन्।

नागरिकता लिने उमेर पुगिसकेको थियो। उनले जिल्ला प्रशासन कार्यालय, कैलालीमा आवेदन दिइन्। नागरिकता आवेदन फारममा उनले महिला वा पुरुष लेखिनन्, तेस्रो लिङ्गी भनेर लेखिदिइन्। यो आवेदन कार्यालयका लागि असामान्य बनिदियो। कुरा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सम्म पुग्यो। प्रजिअले तेस्रो लिङ्गीको प्रमाण प्रस्तुत गर्न भने।

कैलालीकी मोनिका शाही ३७ वर्षकी भइन्। यो उमेरसम्म उनले दुई प्रकारका जीवन जिइन्—पहिले मनोजका रूपमा र अहिले मोनिकाका रूपमा। मनोजबाट मोनिका बन्न उनले वर्षौँसम्म संघर्ष गर्नुपर्‍यो। जन्म पुरुषका रूपमा भएकाले बुबाआमाले नाम मनोज राखिदिए। उमेर बढ्दै जाँदा उनको भावभङ्गिमा र सोचले पुरुष बन्न मान्दैनथ्यो। उनी एक व्यक्तिमा दुई फरक मान्छे थिइन्—समाजका लागि पुरुष, आफ्ना लागि महिला। यस अवस्थाले उनी आफैँलाई पनि प्रष्ट पार्न सक्दिनथिन्। न पुरुषजस्तो बनेर नाटक गर्न सक्थिन्, न आफूलाई पूर्ण रूपमा स्वीकार्न सक्थिन्। यस कारणले परिवारमा पनि समस्या उत्पन्न भयो।

‘म को हुँ?’ यो प्रश्नले उनलाई दिनरात द्विविधामा पारिरहन्थ्यो। रूप र व्यवहारबीचको तालमेल नहुँदा उनी साथीभाइ र गाउँघरमा अनौठो पात्र बनिन्। साथीभाइले उनलाई जिस्काउँथे, हेप्थे, र बचन लगाउँथे। उनी सहन बाध्य थिइन्। धीरे-धीरे उनको नाम लिएर दाजु र दिदीहरूलाई पनि जिस्काउन थालियो।

मोनिका घरकी प्यारी कान्छी छोरी थिइन्। दाजु र दिदीहरूलाई आफ्नो नाम लिएर जिस्काउँदा उनी असह्य पीडा महसुस गर्थिन्। आत्महत्या गर्ने विचार पनि आउँथ्यो। छिमेकीहरूले ‘हिजडाको दाइ’ भनेर जिस्काउँथे। दाजुहरूले कहिल्यै गुनासो गरेनन्, तर उनीहरूलाई परेको भावनात्मक चोट मोनिकाले सहजै बुझ्थिन्। ‘आफ्नो कारणले दाजुहरूलाई अप्ठ्यारो पर्दा मुटुमा खिल परेजस्तो हुन्थ्यो,’ मोनिकाले भावुक हुँदै भनिन्, आँसु झर्दै थ्यो।

आफूजस्तै अरुपनि

सुरुमा उनलाई दैवले ठगेको महसुस हुन्थ्यो। ‘म मात्रै किन यस्तो?’ उनको मनमा यो प्रश्न बारम्बार खेल्थ्यो। कसैलाई भन्न पनि नसकिने र भने अपमानित हुनुपर्ने डरले उनी उकुसमुकुस हुन्थिन्। परिवार, साथीभाइ, छिमेकी सबै साथमा थिए, तर उनी सबैको बीचमा एक्लै महसुस गर्थिन्। आफूसँगै अरु पनि छन् कि छैनन् भनेर बुझ्न थालिन्। धेरैजसोका अनुसार, हजारौँको संख्यामा यस्ता व्यक्ति थिए। उनीहरूको पहिचानका लागि संघर्ष गरिरहेका संस्थाहरू पनि भेटिइन्।

मोनिकाले आफू तेस्रो लिङ्गी हो भन्ने धेरै पछि मात्र थाहा पाइन्। जब पहिचान थाहा पाइन्, उनलाई पिंजडाबाट मुक्त पंक्षीजस्तो लाग्यो। विद्यालयमा पनि उनी असहज महसुस गर्न थालिन्। मनोभावले उनी केटी थिइन्, तर विद्यालय प्रशासनले उनलाई केटीसँग बस्न अनुमति दिदैनथ्यो। यसले गर्दा उनी साथीभाइको बीचमा हाँसोमजाकको पात्र बन्दै गइन्। अन्ततः उनले जनजागृति माध्यामिक विद्यालय छाडिन्।

प्रजिअले तेस्रो लिङ्गीको प्रमाण मागे

केही वर्षपछि उनी ब्लु डायमण्ड सोसाइटीको सम्पर्कमा आइन्। त्यहाँ उनले आफूसँगै धेरैलाई भेटिन् र पहिचान लुकाएर नलुक्ने साहस बटुलिन्। तेस्रो लिङ्गीको पहिचानका लागि कानूनी प्रावधान, वैज्ञानिक आधार र सफलताका कथा बुझ्न पाइन्। नागरिकता लिने उमेर पुगिसकेको थियो। उनले जिल्ला प्रशासन कार्यालय, कैलालीमा आवेदन दिइन्। नागरिकता आवेदन फारममा उनले महिला वा पुरुष लेखिनन्, तेस्रो लिङ्गी भनेर लेखिदिइन्। यो आवेदन कार्यालयका लागि असामान्य बनिदियो। कुरा प्रमुख जिल्ला अधिकारीसम्म पुग्यो। प्रजिअले तेस्रो लिङ्गीको प्रमाण प्रस्तुत गर्न भने।

महिला वा पुरुष भनेर लेखेको भए के प्रजिअले प्रमाण माग्थे? उनलाई लाग्यो, नागरिकता प्रमाणित गर्ने बेला प्रजिअले कतिको प्रमाणित गरे, तर कसैलाई लिङ्गको प्रमाण देखाउन भनेनन्। उनले राज्यबाटै विभेदको महसुस गरिन्। भारी मन लिएर कार्यालयबाट फर्किन्, तर हरेश खाइनन्। ‘मेरो लिङ्गको बारेमा मभन्दा ठूलो प्रमाण के हुन्छ?’ भन्दै प्रश्न प्रशासनलाई तेर्स्याइरहिन्। अन्ततः उनले तेस्रो लिङ्गीका रूपमा नागरिकता पाइन्। राहदानी बनाउन पनि उस्तै झमेला। व्यक्तिको लिङ्ग निजी मामिला भए पनि राज्यले अनेक उल्झन देखाउँथ्यो। प्रशासनले नागरिकता दिए पनि परराष्ट्र मन्त्रालयको राहदानी विभागले थप प्रमाण खोज्थ्यो। अन्ततः उनले राहदानी पाउन सफल भइन्। जेन्डरमा लेखियोः ‘ओ’ अर्थात् ‘अदर।’ उनी ‘ओ’ राहदानी पाउने पहिलो नेपाली हुन्। पहिलो हुनुको खुशी जति छ, त्यसका लागि संघर्ष गर्दाको पीडा उत्ति नै। उनीपछि ‘ओ’ राहदानी पाउने धेरै भइसके। उनले बाटो खोलिदिएपछि अरूका लागि हिँड्न सजिलो भएको छ।

मोनिकाले गर्नुपरेको संघर्ष र भोग्नुपरेको सास्ती अब दोहोरिदैन। संविधानले तेस्रो लिङ्गीको पहिचानलाई प्रत्याभूत गरेको छ। धर्म, वर्ण, जात, जाति, लिङ्ग उत्पत्ति, भाषा वा वैचारिक आस्थाका आधारमा नागरिकलाई भेदभाव गर्न नमिल्ने प्रावधान संविधानमा छ। तेस्रो लिङ्गी विवाहलाई नेपालको अदालतले मान्यता दिइसकेको छ। आफूहरूको संघर्षकै कारण तेस्रो लिङ्गीमैत्री संविधान र कानून बनेकोमा मोनिकालाई गर्व लाग्छ। ‘अधिकार मागेर पाइँदैन, खोसेर लिनुपर्छ,’ उनको अनुभव यही भन्छ। उनी सोच्दिन, पहिल्यै खुलेको भए धेरै समस्या टरिसकेको हुन्थ्यो। गुपचुप बस्दा समस्या बल्झिँदो रहेछ। गुपचुप रहेका तेस्रो लिङ्गीलाई आफ्नो पहिचान बेलैमा खुलाउन मोनिका आग्रह गर्छिन्।

बुबाआमा नहुँदा

मोनिकालाई आमाबुबाको अनुपस्थिति खट्किएको छ। २० वर्षअघि बुबा बित्नुभयो। आमालाई पनि दैवले छाडेन, १० वर्षअघि आमा बित्नुभयो। बुबाआमा जीवित रहँदा मोनिका पहिचानका लागि संघर्ष गरिरहेकी थिइन्। आज राज्यले उनलाई ग्रहण गरेको छ। समाजमा पनि उनका बारेमा सकारात्मक सोच पैदा भएको छ। अस्तित्व नभेटिँदा आत्महत्या गर्न चाहने मोनिका आज धेरैका लागि प्रेरणाको स्रोत बनेकी छिन्। ‘जन्म दिएर पनि कर्म दिन नसकेको भन्दै अफसोच् मान्ने बुबाआमा यतिबेला भइदिएको भए कति खुशी हुनुहुन्थ्यो होला?’ मोनिकाको मनमा यो प्रश्न बारम्बार बिझिरहन्छ। आमाले सधैं मोनिकाको घरजम भएको देख्न चाहनुहुन्थ्यो। सम्भव भएन। उनले कुराकानीको बिट मार्दै भनिन्, ‘विवाहका लागि कुराकानी भइरहेको छ। छिट्टै केटा साथीसँग विवाह गर्दैछु।’


सूचना - यो सामग्री पहिलो पटक आइतबार, ०९ जेठ २०७३ गते प्रकाशित भएको थियो, र आज पुनः सोही सामग्रीसहित पुन: प्रकाशित गरिएको हो। -सम्पादक