अन्तरवार्ता

नायिका कार्कीको आत्महत्याबारे किशोर श्रेष्ठको सनसनीपूर्ण खुलासा

नायिका कार्कीको आत्महत्याबारे किशोर श्रेष्ठको सनसनीपूर्ण खुलासा

हप्ताको एक दिन सुरक्षा निकायका उच्च पदस्थहरु हैरान हुन्छन्। बुधबार सबेरै अर्दलीलाई पत्रिका पसलमा पठाउँछन्। पत्रिका लिएर उनीहरु बाथरुम छिर्छन्। अरु दिनको तुलनामा धेरै समय बाथरुममा बिताउँछन्।

बाथरुमको कमोडमा बसेर जनआस्था टप टु बटन सिद्धाउछन्। आफ्नाबारे केही समाचार नभए मन चंगा बनाएर बाहिरिन्छन्। सूचनासँग शस्त्रधारी पनि डराउँछन्। नेता र ठूलाबडाको हालत पनि यस्तै हुन्छ। पत्रकारिताको कक्षामा यसै भनिएको थियो। जसको भैंसी उसैको बन, जसका छोरा उसैको धन भनिन्थ्यो। पत्रकारितामा यसैलाई भिन्दै हिसाबले भनिदोरहेछ—जोसँग सूचनाको स्रोत छ, उही नै शक्तिशाली पत्रकार।

पत्रकार जति नै नामी होस्, बदनामी हुन समय लाग्दैन। एउटा सामान्य गल्तीले पनि पत्रकारको जीवनभर कालो धब्बा लाग्न सक्छ। गुरु यसै भनेर पढाउँथे। घुमिफिरी किशोर श्रेष्ठकै नाम आउँथ्यो। नायिकाको नग्न तस्बिर छापेको १२ वर्ष बित्दा पनि जनआस्थाका सम्पादक श्रेष्ठलाई सो घटनाले पछ्याइरहेको छ। जनआस्था र किशोरका बारेमा अनेक उदाहरण सुनेकी एक युवतीले पत्रकारिता थालेपछि किशोरलाई भेटिन् र अन्तर्वार्ता लिइन्।


तपाईंको जन्म र बाल्यकाल ?

बाल्यकाल मलेखु धादिङमा बित्यो । कक्षा एकदेखि आठसम्म मैले त्यहीँ पढेँ ।


पत्रकारिता कसरी सुरु गर्नुभयो ?

उता स्कुलमा हुँदा हप्तामा एक पटक भित्तो पात्रो निकाल्थेँ। म धादिङमा राजनीति गर्थें। म समाज र जीवनका बारेमा बढी सोच्दथेँ, त्यसैले पनि राजनीति गर्ने इच्छा जागृत भएको हुनसक्छ। त्यो समय पंचायतकाल थियो, र राजकाज मुद्दा लाग्यो। पञ्चायतविरुद्ध गएकोमा हाम्रा केही साथीहरू जेल जानुभयो। म भने भागेर काठमाडौं आएर पढ्न थालेँ। नौ कक्षा पढ्दापढ्दै यहाँ पनि पक्रेर जेलमा हालियो। जेल बस्दा हामी ५५ जना राजनीतिक बन्दीहरूको एउटा मेस थियो। त्यसमा झापा संघर्षका मोहनचन्द्र अधिकारीदेखि लिएर थुप्रै नेताहरू हाम्रो साथमा हुनुहुन्थ्यो।

मेसमा सबैभन्दा सानो म थिएँ, १६ वर्षको। मैले त्यहाँ दिउँसो खाना खाएपछि सबैलाई पत्रिका पढेर सुनाउँथें। त्यो ५५ जनाको मेसमा सबैले पत्रिका पढ्न थाले भने त कहिले पढेर भ्याउनु? जेलमा रहेका राजबन्दीलाई भेट्न कोही नआउने। त्यत्रो संघर्ष गरेका नेताहरू, कोही त मारिनु पनि भयो।

बाहिरकालाई वास्ता नभएर हो कि बेफुर्सदिलो भएर हो कुन्नि। म जेलमै हुँदा मेरो बुबा बित्नुभयो। काजक्रिया गर्न मलाई छोड्नुपर्छ भन्ने कुरा उठ्यो, र म छुटेँ। त्यसबेला म ९ कक्षामा पढ्दै थिएँ। जेलबाट निस्किएपछि जेलमा संगत गरेका राजनीतिक बन्दीलाई मैले गुन लगाउनुपर्छ भन्ने भावना जाग्यो। बिहानको स्कुल थियो मेरो, छ बजेदेखि एघार बजेसम्म। स्कुल सकेपछि म त्यतिबेला प्रकाशित हुने साप्ताहिक पत्रिकाको पसल-पसल धाउँथेँ। ५/५ प्रति पत्रिका लिन्थें र उपत्यका भरिका जेलमा रहेका राजबन्दीलाई पत्रिका पुर्याउँथेँ। मसँग सानो चाइनिज साइकल थियो। पछि त्यो साइकल पनि पुलिसले लुट्यो। पत्रिका पुर्याएर घर फर्कन्थेँ, खाना खान्थेँ। त्यसपछि जुलुसमा हिँड्थेँ। यसरी म पत्रिका, पत्रकारिता, र पत्रकारहरूसँग जोडिँदै गएँ। पछि अखिलको राजनीति छोडेर पत्रकारिता गर्न थालेँ।


नेता हुन छाडेर पत्रकार भएकोमा पछुतो लागेको छ ?

त्यस्तो कहिल्यै भएन र नहोस् पनि । यसमै कर्म गरेर मर्ने सोच छ ।


राजनीति किन छाड्नुभयो ?

मैले जीवनमा एउटा बाटो त रोज्नै पर्थ्यो। राजनीतिमा मेरो स्वभावको मान्छे पनि भेटिनँ। चित्त नबुझेको कुरा ढाँट्न नसकिने मेरो स्वभाव छ। यस्तो स्वभावले राजनीतिमा उभो लाग्न सक्दिन जस्तो लाग्यो। त्यसै पनि, मेरो दाइले घर-परिवारको सारा सम्पत्ति सिद्धाइदिएको अनि मेरो बुबा बितेको असहज परिस्थितिमा, मैले परिवारको लागि केही त गर्नैपर्थ्यो। त्यो मेरो आर्थिक दायित्व पनि थियो। मैले प्रकाश साप्ताहिकमा रु ७०० बाट जागीर सुरु गरेँ। प्रकाश साप्ताहिक बन्द भएर दृष्टि साप्ताहिक भएको हो। त्यतिबेला ७०० भनेको टन्नै हुन्थ्यो। त्यसपछि आर्थिक अभाव पनि भयो, पारिवारिक दायित्व पनि भयो, र मेरो आफ्नै रुचि पनि। विद्यालयमा मैले भित्ते पत्रिका निकालेको पनि मेरो रुचिले नै हो। यसै रुचिले मलाई पत्रकारितामा डोर्यायो। कविता लेखेर म उपत्यका-भरिमा प्रथम पनि भएको छु र स्वर्ण पदक जितेको छु। लेखनतिर गएँ, अनि पत्रकारितातिर।


लेखनमा रुचि छ भन्नुभयो अहिलेसम्म कतिवटा किताब लेख्नुभयो ?

किताब त मैले दुइवटा निकालीसकेको छु । माघ १९ को महाभारत भन्ने ज्ञानेन्द्रले सत्ता टेकओभर गरेपछिको स्तिथिबारे एउटा छ । अर्को राजपरिवारका सदस्यहरुले गरेका बलत्कार र हत्याका घटनाबारे ।


तपाईसगँ काम गर्ने कोही नामी पत्रकार भए कोही दामी पनि भए , नामी र दामी पत्रकार हुन के गर्नुपर्छ ?

हामी सबैले एउटै टिममा बसेर सँगै काम गरेका साथी हौं। सुधिर शर्मा कान्तिपुरका सम्पादक हुनुहुन्छ, गुणराज लुइंटेल नागरिकका सम्पादक हुनुहुन्छ, अरुण बराल अनलाइन खबरका सम्पादक हुनुहुन्छ, र दिपक अधिकारी एएफपीमा काम गर्नुहुन्छ। कान्तिपुरमा सात–आठ जना साथीहरू छन्। धेरै साथीहरू शिखरमा पुगेका छन्। कसैले टुप्पीमा समातेर तानेर ती मान्छेहरू त्यहाँ पुगेका होइनन्। मेरो त्यस्तो विशेष योगदान छैन। क्षमतावान् मान्छेहरूले प्रतिभावान् व्यक्तिहरूको प्रतिभाले अवसर मात्र पाएका हुन्। यो एउटा फोरम मात्र भएको हो।

जनआस्थामा क्षमता नभई टुप्पीले तानेर मात्र माथि जान कोही सक्दैन। सबभन्दा ठूलो कुरा, आफ्नै क्षमता हुनुपर्छ, इच्छाशक्ति हुनुपर्छ, र लगनशीलता हुनुपर्छ। छिटै नाम कमाऊ, छिटै दाम कमाऊ भनेर हिँड्नेहरूको पतन छिट्टै हुन्छ। त्यसैले संघर्ष गर्नुपर्छ। हाम्रोमा के छ भने, फास्टफुडको चलन आएको छ—केही गरिहालौं, प्रतिक्रिया जे–जस्तो भए पनि पछि सोचौं भन्ने हतारको प्रवृत्ति धेरै देखिएको छ। त्यसैले अहिलेको पत्रकारितामा दुर्घटना धेरै हुने गर्छ।


दुर्घटना त तपाईको जीवनमा पनि भयो । श्रृषा कार्कीको नग्न तस्बिर छापेकोमा कुनै पछुतो छ ?

मलाई दुईवटा कुरा छन्। पछुतो कुन सन्दर्भमा भने, हामीले लेखेपछि उनले आत्महत्या गरिन्। एउटा मान्छेको ज्यान गयो, त्यस कुरामा पछुतो छ। तर, प्रोफेसनल्ली भन्ने हो भने, हामीले केही नराम्रो काम गरेको होइन। यसको बारेमा म वर्णन गरिदिन्छु। मलाई थाहा छ, मैले जतिसुकै राम्रो काम गरे पनि, ठूलो ब्रेकिङ दिए पनि, मान्छेहरूले मलाई 'श्रृषा कार्कीको हत्यारा' भनेरै चिन्नेछन्। किनभने हामी नकारात्मकताबाट ग्रसित छौँ। अरु कुरा सबै ओझेलमा परिहाल्छ।

तपाईंलाई म एउटा कुरा बताइदिन्छु, त्यो पत्रिका बुधबार निस्क्यो। त्यसपछि पनि उनी नियमित हाम्रो सम्पर्कमा थिइन्। शनिबार उनी बुबा र भाइलाई लिएर यहाँ आइन्। बुबा र भाइलाई सम्झाइदिनु भनिन्, किनभने उनलाई थाहा थियो त्यो ओरिजिनल हो भनेर। उनले गल्ती गरेको पनि थाहा थियो। उनलाई एक पुलिसको सईले आठ हजार रुपैयाँ तिरेर सहमतिमा लगेका थिए। उनले मेरो बुबालाई सम्झाउनु पर्यो भनेर यहाँ ल्याइन्। मैले बुबालाई भने, 'हाम्रो गल्ती हो, हामी खण्डन गरिदिन्छौँ, केटाहरूले बदमासी गरेछन्, के के मिसमास भएछ' भनेर नाटक गरेँ। त्यो घटना सोमबार बिहान घट्यो। त्यसको ठीक ६ दिनपछि उनले आत्महत्या गरिन्। कुनै मानिसलाई कुनै कुराले सक्ने भए, त्यसबाट हार खान चौबीस घण्टा पनि लाग्दैन।

श्रृषाले छ दिनसम्म कसरी रेसिस्ट गर्न सकिन्? त्यो सोमबार उनले आठ बजे दिदीलाई फोन गरेर 'ट्याक्सी लिनु, अब हामी सिन्धुपाल्चोक जाने, दशैं नमनाएर' भनिन्। दिदी आउँदै थिइन्। पन्ध्र मिनेटमा छतमा गएर उनले आत्महत्या गरिन्। त्यो घटनाक्रम हेर्दैनन् मान्छे। नेपाल पुलिसको सई उद्धव भण्डारी जसले फोटो खिचेका थिए, उनको श्रीमतीकोमा श्रृषा र उनको प्रेमी प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको बडीगार्ड क्याप्टेन प्रकाश देउजा गएछन्। 'यहीं घरमा मेरो फोटो खिचेको' भनेर देखाएछन्। उद्धबकी श्रीमती पनि पुलिसको हवल्दार। हवल्दार इश्वरी भण्डारीमाथि हेलमेटले हान्ने काम भएछ। इश्वरीले उद्धवलाई फोन गरेर 'के गरेको यस्तो, मलाई त हिर्काउन आए, मान्छेहरू, एउटा आर्मीको मान्छे र आइमाईले हिर्काए' भनेर फोन गरे।

उद्धवले उताबाट श्रृषालाई फोन गरेर जथाभावी बोल्दै भनेछन्, 'तैले के खोज्या? तेरो अरू पनि फोटो छ, निकालिदिउँ?' उद्धवले धम्काएपछि 'मेरो अरू केही उपाय छैन' भनेर आत्महत्या गरेकी हुन्। त्यो इतिहास खोतल्नेहरूले खोजेर हेरे हुन्छ। डर त त्यस्तो मान्छेलाई हुन्छ जसले पहिलो चोटि गल्ती गरेको छ। उनको बारेमा पहिला पनि डब्बु क्षत्री भन्ने पत्रकारले यस्तैगरी फिल्मी म्यागजिनमा लेखे। त्यस्तै एउटा फोटो राखेर 'केके सम्बन्ध' भनेर लेखे, अनि बसुन्धारा भुसालले पुतलीसडकको अफिसमा गएर पिटे। डब्बु क्षत्री साह्रै पटके यो मामलामा। उनी आत्तिनुपर्ने खासै केही थिएन यो मामलामा।

दोस्रो, जेठ १३ गते कृष्ण सेनलाई महेन्द्र पुलिस खोरमा कुटेर मारियो। कुटेर मारेपछि प्रहरी इन्काउन्टरमा मारिएको देखाउनलाई मरेको मान्छेको छातीमा दुई गोली दागियो। राति विष्णुमतीमा लगेर लास डढाइयो। त्यो समाचार जनआस्थाले पहिला ब्रेक गर्यो।

जेठ १३ गतेको कुरा थियो। असारको पहिलो हप्ता छापियो त्यो समाचार। त्यसपछिको सिक्वेन्स हेर्नुस्। त्यसपछि माओवादी द्वन्द्वकाल चर्किन थाल्यो। एमर्जेन्सी लाग्यो, हामीलाई केही गर्न बाँकी राखिएन। त्यसपछि नेपाल पुलिसका आईजी प्रदिपको छोरो दीप समलिंगी हो, त्यसकारण त्यसको घरबार टुट्यो भनेर लेखियो जनआस्थामा। कति मान्छे मलाई भेट्टाउँछु भन्दै हिँडे। यस्तो हुँदै गयो। अमर सिंह ठकुरी भ्याली डिआईजी थिए। अमर सिंह शाह ठकुरीले कृष्ण सेनलाई कुटेर मारेको भन्ने खबर लेखियो, जनआस्थाले। जनआस्थाको सबै फाइल निकालेर हेर्नुस्। मैले यहाँ बोलेको कुरा ट्याली गर्नुस्। नेपाल पुलिस, नेपाली आर्मीको चिफ, भ्याली पुलिसको चिफ सबैको सिक्वेन्स हेर्दै जाँदा मलाई र जनआस्थालाई फसाउन षडयन्त्र गरिएको देखिन्छ।

असोज २३ गते श्रृषाको समाचार छापियो, उनले २९ गते आत्महत्या गरिन्। त्यसपछि हाम्रो विरुद्ध सामाजिक अपराधको केस हालीयो। त्यसलाई छ दिनपछि हत्याको अभियोग लगाइयो। त्यतिबेला देउवालाई बर्खास्त गरेर राजाले सत्ता टेकओभर गरेका थिए। सडकमा को आयो? लोकेन्द्र बहादुर चन्द, धर्मबहादुर थापा, सडकभरि मण्डलेको जुलुस। श्रृषाको त्यो मुद्दाको फाइल हेर्नुस्, त्यसमा श्रृषालाई बोग्ने ४५ जनाको नाम छ। लोकमान सिंह कार्की, खुमबहादुर खड्का, केशव स्थापित अनि शर्मिला मल्ल। आफ्नी श्रीमतीलाइ मारुती भ्यानमा हालेर सोल्टी होटेल पुर्याउन जाने को? ग्राहक बनेर? कृष्ण मल्ल। सबै स्टोरी त्यो फाइलमा छ। अहिले पनि हेर्न सक्नुहुन्छ। ती सबैको एकता भयो र सबैले जुलुस निकाले। मुद्दा दर्ता गरे, अनेक गरे। हाम्रा विरुद्ध ज्यान मुद्दा दर्ता भयो। दुई वर्षसम्म म, विश्वमणि र यादव पाण्डे तीनजनामाथि ज्यान मुद्दा लाग्यो। समय सधैँ बलवान् हुँदैन। समयले सधैँ साथ दिंदैन भन्छन्। अब कहाँबाट ल्याएर कृष्ण सेनलाई मारेको कुरा ल्याएर बदला लिन थाले भन्दाखेरी, जनआस्थालाई त बदनाम गराउनु थियो। २०४६ सालको संविधानले नेपालको पत्रकारितामा जतिसुकै जे लेखे पनि छापाखाना खोस्न पाइँदैन, पत्रिकाको दर्ता खारेज हुँदैन भन्ने व्यवस्था गरेको छ। पत्रिका खारेज गर्न नसकेपछि, पत्रिका बन्द गर्न नसकेपछि हुलहुज्जत गरियो।

हामीलाई जेल हालिदिएपछि पत्रिकामा कसले लेख्ने? सिताराम बरालको टेबल त्यहीं थियो, पुलिसले आएर तोडफोड गरेर डायरी जति सबै लिएर गयो। सिताराम त फेरि माओवादीसँग अलि नजिकको मान्छे। कुन बेला कससँग भेट भएर के के भएको थियो, उसले सबै लेखेको थियो त्यो डायरीमा। पुलिसको डिआईजी अमर सिंह शाहले सितारामलाई बोलाएर भने, 'तैले किशोर श्रेष्ठको कर्तुत ननिकाले, तलाई पनि आतंकवादीमा फसाइदिन्छु।' त्यसपछि उनले राजीनामा दिए। 'म जनआस्थामा छैन' भनेर कान्तिपूरमा उनको स्टेटमेन्ट पनि छापिएको थियो। तर उनले जनआस्था छोडेको तीन वर्ष मात्र भयो। उनले राजीनामा दिए पनि हामीसँगै काम गरेका हुन्। अब तपाईंलाई मैले एउटा काम दिएँ। ल, खोज्नोस्। श्रृषालाई पनि न्याय होस्, उनी मरेको मान्छेलाई किन अन्याय गर्ने? हामीलाई पनि न्याय होस्।

नेपालका अरु पत्रकार भन्नेहरू वा भनौँ, आफूलाई अनुसन्धानकर्ता भन्नेहरूका लागि पनि प्रेरणाको स्रोत होस्। तपाईंलाई चाहिएको डकुमेन्ट म दिन्छु, पोष्टमार्टम रिपोर्ट दिन्छु, पुलिसको रिपोर्ट दिन्छु, अदालतले बोलेको कुरा दिन्छु, सारा कुरा दिन्छु। तपाईंलाई श्रीषाको दाइ र बुबासँग पनि भेटाइदिन्छु। जनआस्थामा भएको कुरा के थियो भनेर सोध्नुस्। ल, तपाईंलाई मैले यो काम अनुरोध गरेँ। किनभने यस्ता कुराहरूले मान्छेहरूलाई हेर्ने दृष्टिकोण नै अर्कै बनाइदिन्छ। त्यतिबेला हामी भाग्यले बाँचेका थियौँ। हामी पक्राउ परेनौँ। लुकेर पत्रकारिता गर्यौँ र पत्रिका निकालिरह्यौँ। पत्रिका निस्किरहेपछि त्यतिबेलाका भ्याली डिआईजी अनन्त भट्टराईले चिठी लेखे।

विक्रम थापा त्यतिवेलाको डिएसपी थिए। विक्रम थापाले कृष्ण सेनलाई कुटेर मारे भनेर हामीले स्टोरी लेखेका थियौँ। अनन्तले चिठी लेखे विक्रम थापालाई तोक लगाएर। 'जन आस्थाका सम्पादक किशोर श्रेष्ठ काठमाडौँमै घुमिफिरी पत्रकारिता गरिरहेको भेटिएकाले निजलाई समातेर तुरुन्तै पक्राउ गरी दाखिला गराउनु' भनेर सर्कुलर जारी गरे। त्यसले त के बताउँछ भने, किशोर श्रेष्ठ पक्रने ठूलो कुरै भएन। उनीहरूको मोक्ष त पत्रिका बन्द गराउने रहेछ। ल, कानूनको नजरमा म अपराधी, ज्यानमारा किशोर श्रेष्ठलाई पक्रेर दाखिला गर्नु ठीक होला तर पत्रिका सञ्चालन गरिरहेको बुझेपछि निजलाई पक्राउ गर भनेपछि पत्रिका बन्द गराउने धारणा रहेछ।


त्यसको मतलव जनआस्थाको रिस गर्ने धेरै छन् समाजमा ?

अभियस्ली, छन् । जनआस्थाबाट निस्केको टाउको दुखाइ कसलाई थिएन? पारसलाई थियो, ज्ञानेन्द्रलाई थियो, दरबारलाई थियो, सेनालाई थियो, पुलिसलाई थियो, र मण्डलेलाई पनि थियो। चार वर्ष अगाडि, मोहन वैद्य र बाबुराम भट्टराईको उपस्थितिमा भएको एउटा कार्यक्रममा मलाई पत्रकारिताको पुरस्कार दिइएको थियो। त्यतिबेला मैले प्रचण्डलाई त्यही मञ्चबाट उक्त चेक हस्तान्तरण गर्दै भनेको थिएँ, "यो चेक तपाईँले राख्नोस्, तपाईँका पत्रकारहरू दुःखद अवस्थामा छन्, उनीहरूको लागि कल्याण कोष बनाइदिनोस्।" तर, प्रचण्डले त्यो चेक नै पचाए।

तपाईँहरू हावाको पछाडि दौडिनुहुन्छ। प्रचण्डले मलाई गणतान्त्रिक पत्रकार मोर्चाको नेतृत्व लिन आग्रह गरे, तर मैले स्वीकारिनँ। युद्धकालमा जनआस्थामा समाचार छापिएपछि धेरै माओवादीहरूको ज्यान जोगिएको थियो। तर पछि, प्रचण्डले मलाई दरबारिया देखे। रविन्द्र श्रेष्ठले माओवादी छोडेर जनआस्थामा लेख्न थालेका थिए। शक्तिखोरमा, प्रचण्डले दरबारिया पत्रिकामा लेख्न थाल्यो भनेर भाषण गरे। जब दरबारभित्रका सबै गोप्य कुराहरू छाप्दा म क्रान्तिकारी भएँ, तर तपाईँको कुरा छाप्दा म दरबारिया भएँ? सेनाबारे लेख्दा पनि म सेनाको मान्छे भएँ?


प्रचण्डले चेक पचाए भन्नुभयो, त्यो कसरी भयो ?

मलाई पुरस्कार दिइएको थियो । त्याे चेक थियाे । मैले यो पुरस्कार वापत पाएको रकम अहिल्यै नै म तपार्इलाई हस्तान्तरण गर्दैछु भने । तपाईले 'सिड मनि' मानेर यसलाई राख्नोस् र पैसा थपिदिएर कल्याण कोष बनाइदिनुस् भनेर मैले दिएको हुं । उनले हुन्छ भने । तर कल्याण कोष बनाएनन् । चार बर्ष भइसक्यो । चेक फिर्ता पनि गरेनन्, कल्याणकोष पनि बनाएनन् । फर्काउने भनेको होइन तर जुन कामको लागि दिएको त्यो कामको लागि सदुपयोग त हुनुपर्यो नि । म हरेक बर्ष जेठको १३ गते आयो कि फेसबुकमा लेख्ने गर्छु । ‘प्रचण्ड जी तपाइले त्यो चेक कहाँ पचाउनुभयो ?’ जेठ १३ मा कृष्णसेनको हत्या भएको हो । म उनको नाममा कल्याणकारी कोष स्थापना होस् भन्न चाहन्छु । प्रचण्डले गर्नुपर्छ ।


तपाईलाई कस्ताकस्ता सूचना आउछ, त्यो चेकको बारेमा सूचना आएन ?

उहाँले त्यो चेक साट्नुभयो या साट्नुभएन भन्ने कुरा गर्यो भने त्यसको समापन चाहिँ नराम्रो हुन सक्छ । उहाँले चेक साट्नुभयो भन्ने कुरा मैले बुझेँर पत्ता लगाए भने त मैले उहाँलाई त्यो चेक कहाँ पचाउनुभयो भनेर प्रश्न गर्ने नैतिक धरातल नै पाउँदिन ।


तपाईसगँ व्यक्ति व्यक्तिको सूचना कहाँबाट आउँछ ? तपाईसगँ त सबै मानिस डराउछन् भन्छन् नि ?

कहाँबाट आउँछ त्यो त न मैले भन्न मिल्यो न तपाईले सोध्न । आउन त आउछ नि । तपाई आफू मरेर भए पनि सोर्सलाइ बचाउनुस, तपाईलार्इ सूचना आउँछ । दास्रो कुरो, तपाईलाई दिइएको सूचनालाई व्यक्तिगत फाइदाको नामले दुरुपयोग गर्नुभयो भने त्यो तपाईको इथिक्समा रहँदैन । तपाई त्यही दिन मर्नुहुन्छ । मैले बुझको के हो भने नेपालको पत्रकारितामा विश्वासको ठूलो खडेरी छ । मान्छेले सितिमिति आफ्नो जागिर , जिन्दगी धरापमा राखेर कसैलाइ सूचना दिदैँन । तर कोही मान्छे यस्तो स्वाभिमानी पनि हुन्छ कि जसले सोच्छ यदि मैले यस्तो नराम्रो कुरा बाहिर ल्याउन सकिन भने म बाँच्नुको अर्थ हुँदैन । यदि कोहि मान्छे यस्तो डिटरमिनेसन लिएर आउँछ भने त्यस्तो सोर्सप्रति हामी इमान्दार हुनुपर्छ । नत्र भने दरबारको त्यत्रो चार पर्खाल भित्र भएको सूचना जनआस्थामा कसरी आयो ? सेनाको सूचना कसरी आयो ? त्यसैले तपार्इं आफ्नो सोर्सप्रति इमान्दार रहनुस् । अहिलेको पत्रकारले सिक्नुपर्ने कुरा त्यहि हो ।


जादाँ जादैँ के भन्न चाहनुहुन्छ पत्रकारीता गर्दै गरेका व्यक्तिहरुलाइ ?

मैले तपाईहरुलाई पनि भन्ने कुरा त्यहि हुन्छ, हतारमा कुनै पनि समाचार पोष्ट नगर्नुस् । किनभने मैले तपाईलाई आज यो ठाउँमा बसेर भन्दै छु । मैले १६ बर्षको उमेरदेखि पत्रकारिता गरेको आज म ४६ बर्ष भएँ । यो तीस बर्षसम्म त सरकारी जागीर गरेको भएपनि आज मेरो पेन्सन पाकिसक्थ्यो होला । यो ठाउँमा आएर मैले मित्र कमाएको छु । त्यस्तैगरि मैले गुडविल कमाएको छु र त्यसैगरि मैले शत्रु पनि कमाएको छु । हरेक हप्ता जनआस्थामा आउने एभरेज समाचार जति पनि आउंछ , त्यसको सत्तरी प्रतिशतको दरले शत्रु कमाइरहेको छु । शत्रुहरु मैले चिनेर होइन उनीहरुको बारेमा र उनीहरुको कर्मको बारेमा लेखेको भएर कमाउंछु । मलाई मानहानीको मुद्दा लाग्न सक्छ , साइबर क्राइम लाग्न सक्छ तर हामीलाइ मुद्दा लाग्यो भने प्रशाासनले सितिमिति केस दर्ता गर्दैन पहिलो कुरो । दास्रो कुरो , दर्ता गरेपनि यसलाइ जेल नै हालौँ भनेर उनीहरुले आटँ गर्न सक्दैनन् ।

म यो ठाउँमा बसेर घमण्डका साथ भन्दैछु , किन भन्दै छु भने उसले पचास पटक सोच्नुपर्ने हुन्छ । त्यसैले नयाँ नयाँ मान्छेलाइ किचिमिचि पार्न कत्ति पनि समय लाग्दैन, किनभने तपाइको पक्षमा बोल्ने पनि कोहि मान्छे हुदैनन् । त्यसकारण हतार गर्नुभएन । सुनेको कुरा र देखेको कुरा सुन्ने वित्तिकै र देख्ने वित्तिकै लेखिहाल्नु पर्छ भन्ने छैन । पुष्टि गर्न समय लिनुपर्छ , यसको लागि पछि परिएला । त्यो अघि बढेर अनुजा बानियाँ, रसेन्द्र भट्राइको जस्तो केसमा फस्नुभन्दा त पछि पर्नु राम्रो होइन र ? आफ्नो क्रेडिबिलिटिको सवाल आउछ कि कसो ?


सूचना - यो सामग्री पहिलो पटक शुक्रबार, २८ जेठ २०७३ गते प्रकाशित भएको थियो, र आज पुनः सोही सामग्रीसहित पुन: प्रकाशित गरिएको हो। -सम्पादक