समाचार

काँग्रेस–एमाले गठबन्धनले भारत खुसी!

काँग्रेस–एमाले गठबन्धनले भारत खुसी!

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संसदका दुई ठूला दल मिलेर सरकार बनाएकोमा छिमेकी देश भारत प्रसन्न रहेको बताउनुभएको छ। आफ्नो भारत भ्रमणबारे पार्टी बैठकमा जानकारी गराउँदै मन्त्री राणाले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजूले भारत भ्रमणको क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र सो क्रममा काँग्रेस–एमाले मिलनमा भारतले सकारात्मक दृष्टिकोण राखेको महशुस भएको जानकारी दिनुभयो।

एमाले–माओवादी गठबन्धन सरकारलाई विस्थापित गरी काँग्रेस–एमाले गठबन्धन निर्माणको सूत्रधार मानिएकी आरजूले केन्द्रीय समिति बैठकमा भनिन्, ‘दुई ठूला पार्टी मिलेर सरकार बनाएकोमा भारतको प्रतिक्रिया सकारात्मक छ, रेस्पोन्स राम्रो आएको छ।’

यसअघि काँग्रेस र एमाले मिलेर गठबन्धन बनाएकोमा दक्षिणी छिमेकी असन्तुष्ट रहेको चर्चा थियो। कतिपयले अहिलेको गठबन्धनलाई पश्चिमी शक्तिबाट प्रेरित भएको दाबी पनि गरेका थिए। यस्तो पृष्ठभूमिमा आरजूले भारतीय पक्ष खुशी रहेको रिपोर्ट पार्टीलाई दिनुभएको छ।

पाँच दिने भ्रमण सकेर हिजो नेपाल फर्किएपछि आरजुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न आफ्नो भ्रमण महत्वपूर्ण रहेको बताउनुभएको थियो।