रवीन्द्र मिश्रको चर्को संविधान विरोध: 'सार्वभौमसत्तामा विदेशीको हालिमुहाली, आज राति बत्ती निभाउँछु!'

रवीन्द्र मिश्रको चर्को संविधान विरोध: 'सार्वभौमसत्तामा विदेशीको हालिमुहाली, आज राति बत्ती निभाउँछु!'

काठमाडौं, असोज ३ — नेपालको संविधान दिवसको अवसरमा प्रमुख राजनीतिक दलहरूले हर्षोल्लासका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका बेला, राजनीतिक विश्लेषक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्रले संविधान दिवसको चर्को आलोचना गरेका छन्। उनले आफ्नो X.com (पूर्व ट्विटर) खातामा एक लामो पोस्ट गर्दै संविधान दिवसलाई “दुःख दिने संविधान” भनेर व्यंग्यात्मक टिप्पणी गरेका छन्।

मिश्रले आफ्नो पोस्टमा नेपालको वर्तमान अवस्था र संविधानको प्रभावप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै देशको “अन्तर्राष्ट्रिय सम्मान धुलिसात” भएको र “सार्वभौमसत्तामा विदेशीको हस्तक्षेप” रहेको बताएका छन्। उनले देश “भूराजनीतिक भूमरीमा” फसेको र “जातीय तथा धार्मिक संवेदनशीलता बढ्दै” गएको उल्लेख गरेका छन्।

मिश्रको आलोचना यति मात्रमा सीमित छैन। उनले देशमा धनी र गरिबबीचको असमानताको समस्या औंल्याउँदै, धनीहरूको लागि राम्रा शिक्षा र स्वास्थ्य सुविधा भए पनि गरिबहरूका लागि “तन्नम स्कूल” र “खत्तम अस्पताल” मात्र रहेको गुनासो गरेका छन्। उनले थपे, “धनी भए बाँच, गरिव भए मरको स्थिति छ,” भन्दै देशमा गरिबीले चरम सीमा पार गरेको उल्लेख गरे।

त्यसैगरी, मिश्रले देशको बेरोजगारी, न्यून तलब, व्यापार गर्नका लागि लगानीको अभाव, र रेमिटेन्सले मात्र अर्थतन्त्रलाई धानेको कुरा उठाए। उनले देशमा न्यायिक प्रणाली र शिक्षा प्रणालीप्रति प्रश्न उठाउँदै भने, “अदालतबाट न्याय पाउने ग्यारेन्टी छैन,” र “विश्वविद्यालयको डिग्री छ, दक्षता छैन।”

उनको पोस्टमा “नैतिक संकट” र “ज्ञानको संकट” को भयावह स्थिति भएको र राज्यका सबै संस्था नेताहरूको कब्जामा रहेको आरोप लगाइएको छ। मिश्रले नेताहरू र उनीहरूको परिवारको आलिसान जीवनशैलीको कुरा उठाउँदै भने, “परिवार दुखी भए पनि नेतालाई खुशी राख्नै पर्छ।”

मिश्रले संविधानको आलोचना गर्दै भने, “देशलाई दुख दिने संविधान मान्दिन। बहूसंख्यक नेपालीको पीडालाई खिसी गरेर नाचगान गर्दिन।” उनले आफू र आफ्नो परिवारको जीवन राम्ररी चलेको तर अरूको दुःखको भारी बोक्न नसक्ने बताए।

पोस्टको अन्त्यमा, मिश्रले संविधान दिवसको विरोधस्वरूप साँझ ८ बजे एक मिनेट बत्ती निभाउने घोषणा गरेका छन्। उनले भने, “आज साँझ ८ बजे १ मिनेट बत्ती निभाउँछु।”

यो पोस्टले मिश्रका समर्थकहरू र आलोचकहरूबीच सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ। कतिपयले उनको विचारलाई समर्थन जनाए भने, केहीले संविधानको आलोचना गर्ने उनको शैलीलाई गैरजिम्मेवारपूर्ण भनेका छन्।


- देशको अन्तर्राष्ट्रिय सम्मान धुलिसात छ।
- सार्वभौमसत्तामा विदेशीको हालिमुहालि छ।
- देश दिनप्रतिदिन भूराजनीतिक भूमरीमा फस्दै छ।
- जातीय र धार्मिक संवेदनशीलता बढ्दै छ।
- धनीलाई राम्रो, गरिवलाई तन्नम स्कूल छ।
- धनीलाई राम्रो, गरिवलाई खत्तम अस्पताल छ।
- धनी भए बाँच, गरिव भए मरको स्थिति छ।
- ऋण लिएर, जग्गा बेचेर सन्तान विदेश पठा'छ।
- देशमा रोजगारी छैन।
- रोजगारी पाए तलब छैन।
- व्यापार गर्न पैसा छैन।
- मर्नेबेलमा छोराछोरी छैन।
- छोराछोरीको सास आउँछ कि लास थाहा छैन।
- ठूला व्यापारीलाई नयाँ लगानी गर्न विश्वास छैन।
- विदेशी लगानीकर्तालाई आउने चहाना छैन।
- रेमिटेन्सले अर्थतन्त्र धानेको छ।
- अदालतबाट न्याय पाउने ग्यारेन्टी छैन।
- विश्वविद्यालयको डिग्री छ, दक्षता छैन।
- घुस नखुवाई, नेता नचिनी कुनै काम बन्दैन।
- 'नैतिक संकट' र 'ज्ञानको संकट' भयावह छ।
- राज्य चलाउने सबै संस्था नेताको कब्जामा छ।
- नेता र तिनका परिवारको जीवन आलिसान छ।
- परिवार दुखी भए पनि नेतालाई खुशी राख्नै पर्छ।
- अपवादलाई छोडेर देशमा कोही बस्नै चाहाँदैनन्।
- कुनबेला देश भड्खालोमा पर्ने हो थाहा छैन।

तर यी भनेका सामान्य समस्या हुन्। हामीजस्तै अरूले पनि मेहनत गर्नुपर्यो नि। अनि भै'हाल्छ। संविधानलाई दोष दिएर हुन्छ? देशको संविधानसँग यिनको कुनै सरोकार छैन।

म र मेरो परिवारको जीवन राम्ररी चलेको छ। अरू सबैको दुखको भारी म बोकेर हिँड्न सक्दिन। देशभन्दा मेरो विचार माथि छ। त्यसैले 'संविधान दिवस' दीपावली गरेर हर्षोल्लासका साथ मनाइन्छ। कसैलाई केही भन्नु छ?

पुनश्च - मलाई चाहिँ केही भन्नु छ:
जसले जे भने पनि, पत्याउँदिन। देशलाई दुख दिने संविधान मान्दिन। बहूसंख्यक नेपालीको पीडालाई खिसी गरेर नाचगान गर्दिन। आज साँझ ८ बजे १ मिनेट बत्ती निभाउँछु।

संम्बधित खबर