प्रधानमन्त्री ओलीको ६ वर्ष प्रधानमन्त्री बन्ने चाहना छ कि? माधव नेपालको आशंका
काठमाडौं, १० जनवरी – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ६ वर्षसम्म प्रधानमन्त्री रहन चाहने आशंका व्यक्त गरेका छन्।
शुक्रबार सिंहदबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीचको भेटपछि उनले ओली संविधान संशोधनको प्रक्रियाबाट पछि हटेको र यसको बारेमा मिडियामा आएको समाचारमा आधारित रहेर धारणा व्यक्त गरे।
नेपालले भने, “संविधान संशोधनका कुराबाट वर्तमान सरकारका प्रधानमन्त्री पछि हटनुभयो भन्ने सुनिन्छ। कति साँचो हो कति साँचो होइन, जानकारी भएन। मिडिया पढेर धारणा बनाउने स्थिति बन्छ।”
नेपालले ओलीको आगामी ०८७ सम्म प्रधानमन्त्री हुने चाहना रहेको हुनसक्ने सम्भावना पनि व्यक्त गरे। उनले भने, “०८७ सम्म बस्ने उहाँको चाहना होला। हेरौँ, चुनाव नगरी बस्ने हो कि। संसद् भंग गर्ने मान्छेले अर्को ६ वर्ष बसौँला भन्ने सोच्नुभएको छ कि, थाहा भएन।”
प्रधानमन्त्री ओलीले पुस २३ गते केन्द्रीय कमिटी बैठकमा संविधान संशोधन ०८७ मा हुने धारणा राखेपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको थियो। उनले संविधान संशोधनको कार्यमा आफ्नो पार्टीले कार्यदल बनाइसकेको र विपक्षी दलहरूबीच छलफल हुने कुरा पनि बताएका थिए।