सन् २०२४; अहिलेसम्मकै सबैभन्दा तातो वर्ष, तापक्रम १.५ डिग्री सेल्सियस बढी
भर्खरै सकिएको अङ्ग्रेजी वर्ष सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनेको छ। युरोपेली जलवायु एजेन्सी कोपरनिकसले सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनेको र पहिलो पटक विश्वव्यापी औसत तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियस बढी रहेको बताएको हो।
कोपरनिकस एजेन्सीका अनुसार सन् २०२४ को जनवरीदेखि जुनसम्मको हरेक महिना अहिलेसम्मकै सबैभन्दा तातो महिना थियो। जुलाईदेखि डिसेम्बरसम्म अगस्टबाहेक बाँकी सबै महिना सन् २०२३ पछि दोस्रो सबैभन्दा तातो महिनाका रूपमा रेकर्ड गरिएको थियो।
वैज्ञानिकहरूको अनुसार सन् २०२४ मा विश्वको औसत तापक्रम १५.१ डिग्री सेल्सियस थियो। यो १९९१–२०२० को औसतभन्दा ०.७२ डिग्री र २०२३ भन्दा ०.१२ डिग्रीले धेरै हो। सन् १८५० देखि विश्वको तापक्रमको रेकर्ड राख्न शुरू भएपछि २०२४ सबैभन्दा तातो वर्ष बनेको हो। यो वर्ष औसत तापक्रम १८५०–१९०० को आधार रेखाभन्दा १.६० डिग्री सेल्सियसले धेरै हो।
सन् २०१६ मा पृथ्वीको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखिएको थियो। तर हरितग्यास उत्सर्जन, जीवाश्म इन्धनको प्रयोग लगायतका मानवीय गतिविधिका कारण विश्व तापमानले सीमा पार गर्ने अवस्था आएको प्रतिवेदनमा उल्लेख छ।
अक्सफोर्ड विश्वविद्यालयको भौतिकशास्त्र विभागका र संयुक्त राष्ट्र संघका प्रतिवेदन लेखक माइल्स एलेनले भनेका छन्, हामी विश्व तापमानको सीमा पार गर्नबाट निकै नजिक पुगेका छौँ।