कैलालीमा माघी पर्वको तयारी तीव्र, थारू समुदायले भव्य रूपमा मनाउने तयारीमा

कैलाली – थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ। पश्चिम नेपालका तराई क्षेत्रका थारू बस्तीमा माघी पर्वको तयारीले उत्साहको माहोल सृजना गरेको छ। माघी पर्व नयाँ वर्षको आरम्भका रूपमा उल्लासका साथ मनाइन्छ र यस पर्वको तयारीमा थारू समुदायका सदस्यहरू व्यस्त छन्।
माघी पर्वको तयारी नजिकिएसँगै कैलाली, कञ्चनपुर र अन्य थारू बस्तीमा चहलपहल बढेको छ। पर्वलाई भव्य रूपमा मनाउन घरपरिवारका सदस्यले आ-आफ्नो जिम्मेवारी ग्रहण गरेका छन्। पुरुषहरू खाद्यान्नको जोहो गर्न गाउँगाउँ धाइरहेका छन् भने महिलाहरू दुना, टपरी बनाउन व्यस्त छन्।
पर्वको तयारीका लागि विशेषगरी अन्डी धानको चामल, पिठो, दुनाटपरी गाँस्ने, जङ्गलबाट दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत गर्ने लगायतका कार्य धमाधम भइरहेको छ। थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले भने, “माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटा लगायत खानाका परिकार खाने चलन छ।”
यो पर्वको अवसरमा नयाँ वर्षको शुभारम्भ हुने भएकाले थारू समुदायका मानिसहरू नयाँ लुगा किन्न सहर र बजारतर्फ जाने क्रममा छन्। रोजगारीका लागि विदेशमा रहेका थारू समुदायका सदस्यहरूले माघी पर्व घर फर्केर मनाउने गरेका छन्।
माघी पर्वको समयमा पाहुना धेरै आउने भएकाले महिलाहरूलाई ढिक्री र रोटी लगायतका खानाका परिकार तयार गर्न व्यस्तता छ। कैलालीको गोदावरी नगरपालिका–७ फकलपुरका माधव चौधरीले माघी पर्वलाई विशेष तामझामका साथ मनाउने तयारी भइरहेको जानकारी दिए।
साथै, माघी पर्वका दिन थारू समुदायका मानिसहरूले नजिकैको नदी वा तलाउमा गएर नुवाइधुवाई गरेर ठूलो व्यक्तिबाट आर्शीवाद लिने परम्परा पनि रहेको छ।
माघी पर्वको दौरान विशेषगरी अन्डी चामलको भात रोटी, ढिक्री, बरिया, घोंगी, सुङ्गुरको मासु, माछा, गङ्गटालगायतका पारम्परिक पकवानहरू तयार पारिन्छ। थारू समुदायका विभिन्न लोकसंस्कृतिका झल्कने नाचगान, मेला र महोत्सवका कार्यक्रमहरू पनि आयोजना गरिन्छ।