भरुवा बन्दुकसहित पक्राउ परे पूर्व असइ खड्का
कञ्चनपुरः कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित प्रहरीकै पूर्वअसइ पक्राउ परेका छन् ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–८, उत्तरी चुरे वन क्षेत्रबाट एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । हिजो (सोमबार) शुक्लाफाँटा नगरपालिका–८ स्थित सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रअन्तर्गत पर्ने चुरे वनबाट भरुवा बन्दुकसहित शुक्लाफाँटा नगरपालिका–६ का खडकबहादुर खड्का पक्राउ परेका हुन् ।
खड्का नेपाल प्रहरीका पूर्वअसइ भएको खुलेको छ । शुक्लाफाँटा सव–डिभिजन वन कार्यालयबाट खटिएका वन रक्षक खेम साउँद र वन स्काउट ईन्द्र बम नेतृत्वको टोलीले खड्कालाई नियन्त्रणमा लिएको हो । चुरे राष्ट्रिय वनमा जडान गरेको क्यामेराहरूको निरीक्षणमा गएको वेला उनलाई पक्राउ गरिएको हो। चुरे क्षेत्रको गिठे भन्ने ठाउँबाट खड्कालाई बन्दुक लुकाइरहेको अवस्थामा देखेपछि पक्राउ गरिएको थियो । खड्का सिकार गर्नकै लागि चुरे वनमा गएको वनको टोलीले दाबी गरेको छ ।
भरुवा बन्दुकसहित पक्राउ परेका खड्कालाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ । इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक झलकप्रसाद शर्माले खड्कामाथि अनुसन्धान भइरहेको बताए । खड्काविरुद्ध हातहतियारदेखि चोरी सिकारीजन्य गैरकानुनी कसुरमा मुद्दा आकर्षित हुने प्रहरीले जनाएको छ । वनको टोलीले सोमबार खड्कालाई प्रहरीमा बुझाएको उनले बताए । अहिले यस विषयमा अनुसन्धान गर्ने काम भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।