कानुन व्यवसायीको ‘लामा बहस’ मा रवि द्धारा छोटो बहस गर्न आफ्नै वकिललाई निर्देशन
पूर्वगृहमन्त्री तथा विवादित स्वर्णलक्ष्मी सहकारी प्रकरणका अभियुक्त रवि लामिछानेको थुनछेक बहस अहिले काठमाडौँ जिल्ला अदालतमा जारी छ। रविका पक्षका कानुन व्यवसायीहरूले बिहानैदेखि अदालतको बत्ती निभ्न नपाउँदै कानुनका धाराहरू बाँचिरहेका छन्। तर, बहस लम्बिँदै गएपछि रविले आफ्ना कानुन व्यवसायीलाई ‘कम बोल्ने’ निर्देशन दिएका छन्।
रविले भने, "अब बोल्ने काम एकदम कम गरौँ, एकदम छोटो।" सुन्दा लाग्छ, थुनछेक बहसलाई ‘टेड टक’ बनाउने तयारी भइरहेको छ।
वरिष्ठ अधिवक्ता सुशील पन्त र रमनकुमार श्रेष्ठले रविका पक्षबाट बहस गरेर कानुनको ‘प्ले-बुक’ खोले भने सुरज बस्नेतलगायत अन्य कानुन व्यवसायीहरूको ‘स्टार्टर’ अझै बाँकी छ। यसले गर्दा रविको हिरासत बसाइको अवधि लम्बिने सम्भावना बढेको छ।
बिहीबार कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर छुटेका रवि आइतबार काठमाडौँ जिल्ला अदालतमा ‘डबल रोल’ खेल्न पुगेका थिए। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयानपछि उनलाई ‘प्रहरीको जिम्मा’ लगाइएको थियो। बयान त सकियो, तर अब प्रश्न उठ्छ— रविको ‘थुनछेक ट्रायल’ कति दिन लम्बिन्छ?
सरकारी वकिलले जवाफी बहसमा रविलाई ‘कानुनी फिनिसिङ’ दिने तयारी गरिरहेका छन्। अन्ततः न्यायाधीशले ‘थुनामा पठाउने कि धरौटीमा छोड्ने’ भन्ने निर्णय सुनाउनेछन्।
तर, रविको ‘कम बोल्ने’ निर्देशनले कानुन व्यवसायीलाई छोटो बनाउँछ कि रविको हिरासत बसाइ अझै लम्ब्याउँछ? त्यो चाहिँ अदालतको फैसला पछि मात्रै थाहा हुनेछ।