गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण तीव्र गतिमा अघि बढ्दै

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीव्रगतिमा अघि बढेको छ। हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए।
रंगशालामा एक सय ५० मजदुरले दैनिक काम गरिरहेका छन् भने केही दिनमा यो संख्या दुई सय १० पुर्याइनेछ। प्याराफिट, टावरका पिल्लर, र नालाको ढकनी निर्माणको काम भइरहेको छ।
बागमती प्रदेश सरकारले १० करोड बजेट उपलब्ध गराइसकेको र सङ्घीय सरकारबाट विनियोजित २५ करोड बजेट चाँडै आउने विश्वास महानगरप्रमुख रेनु दाहालले व्यक्त गरिन्।
यो परियोजना हिमालयन कालिञ्चोक बिबिआर जेभीले सञ्चालन गरिरहेको छ। सम्झौता अनुसार ७८ करोड ५० लाखको लागतमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। रंगशाला बनेपछि अन्तर्राष्ट्रियस्तरका खेल सञ्चालन गर्ने महानगरको योजना छ।