वामदेव गौतम नेकपा एमाले प्रवेश गर्ने : स्वागत गर्न तयार भए केपी शर्मा ओली
![वामदेव गौतम नेकपा एमाले प्रवेश गर्ने : स्वागत गर्न तयार भए केपी शर्मा ओली](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/EditorialDesk_84/2025/01/kp-sharma-oli-bamdev-gautam-768x512.jpg)
काठमाडौँ, १९ जनवरी – लामो समयको रस्साकस्सीपछि नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम अब नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। उनले केही दिनदेखि नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने प्रयास गरेका थिए, तर अन्तिम समयमा समाजवादीलाई धोका दिँदै उनले एमालेमा जानको लागि कदम चालेका छन्।
यसअघि, वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको वरिष्ठ नेता भएर पार्टीमा जाने कुरा निश्चित भइसकेको दाबी गरेका थिए, तर अरू जिम्मेवारीका विषयमा अन्तिम निर्णय गर्न बाँकी रहेको बताएका थिए।
समाजवादी पार्टीमा जानको तयारीमा रहेका गौतमको मनोबल उच्च थियो, तर पार्टीको केन्द्रीय समितिको बैठकले विभिन्न समयमा पार्टीबाट अलग भएका नेताहरूसँग एकता गर्न आग्रह गरेपछि गौतमले एमालेमा फर्किने निर्णय गरे।
गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुई चरणमा कुराकानी गरेका छन् र आज बिहान पनि ओलीसँग फोनमा कुरा गरेका थिए। स्रोतका अनुसार, ओलीले गौतमलाई एमालेमा छिट्टै स्वागत गर्ने आश्वासन दिएका छन्।
यो घटनाले नेपालको राजनीतिक परिप्रेक्ष्यमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ, विशेषगरी एमाले र समाजवादीका बीचको हालको स्थिति र भविष्यको गठबन्धनको दृष्टिकोणमा।