समाचार

मनाङमा ५८.९ मेगावाटको नार खोला जलविद्युत आयोजना निर्माण हुने

मनाङमा ५८.९ मेगावाटको नार खोला जलविद्युत आयोजना निर्माण हुने

काठमाडौं । मनाङ जिल्लाका विभिन्न गाउँपालिकाहरूमा ५८.९ मेगावाट क्षमताको नार खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। नार खोला हाइड्रो इनर्जी प्रालिले यो आयोजना निर्माण गर्न लागेको हो।

मनाङको चामे, नार्पाभूमि, नासोँ, र मनाङ डिस्याङ गाउँपालिकामा पर्ने नार खोला र सोती खोलाको पानी उपयोग गरेर आयोजना निर्माण गरिनेछ। यो अर्ध-जलाशय (सेमी-स्टोरेज) प्रकृतिको आयोजना हो, जसका लागि अध्ययन कार्य पूरा भइसकेको छ। आयोजनाले हाल उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। अनुमतिपत्र प्राप्त भएलगत्तै आयोजनाको निर्माण कार्य सुरु गरिनेछ।

आयोजनाअन्तर्गत ८,८२६ मिटर लामो हेडरेस टनेल निर्माण गर्नुपर्नेछ। यो आयोजना अन्तर्गत उत्पादन हुने बिजुली ६ किलोमिटर लामो प्रसारण लाइन मार्फत धारापानी सबस्टेसनमा जोडिनेछ। यसरी उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ।

कम्पनीले २०८५ साल कार्तिकसम्म व्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। नार खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएपछि यसले राष्ट्रिय ऊर्जा उत्पादनमा योगदान पुर्‍याउँदै आर्थिक समृद्धिमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।