सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर
बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार उनीहरूमाथि रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
लामिछानेविरुद्ध मात्रै व्यक्तिगत दुई करोड रुपैयाँ र सामूहिक दुई करोड रुपैयाँ गरी चार करोडभन्दा बढी बिगो मागदाबी गरिएको छ। मुद्दा दर्ता भएसँगै अब लामिछानेले रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ।
यो प्रकरणमा लामिछाने तेस्रो पटक अदालत पुगेका हुन्। यसअघि उनीविरुद्ध कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको थियो। ती मुद्दामा उनी धरौटीमा रिहा भएका थिए।
सहकारी ठगी प्रकरणले ठूलो जनचासो र विवाद उत्पन्न गरिरहेको बेला यस मुद्दाले न्यायालयमा थप चर्चा पाउने देखिन्छ।