कोसीका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आक्रमण : काँग्रेसको घोर भर्त्सना
![कोसीका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आक्रमण : काँग्रेसको घोर भर्त्सना](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/EditorialDesk_84/2025/01/uddavthapadojpgfgiv3.jpg)
काठमाडौँ । नेपाली काँग्रेसले कोसी प्रदेशका पूर्व मुख्यमन्त्री तथा कोसी प्रदेश सभापति उद्धव थापामाथि झापामा भएको आक्रमणको घोर निन्दा र भर्त्सना गरेको छ।
नेपाली काँग्रेसद्वारा आइतबार जारी विज्ञप्तिमा केही व्यक्तिले शनिबार राति नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कने क्रममा सुरुङ्गा नजिक थापामाथि गरेको आक्रमणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। विज्ञप्तिमा घटनामा संलग्न दोषीहरूलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति यस्तो छ:
“नेपाली काँग्रेस कोसी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि झापामा भएको आक्रमणप्रति काँग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। झापाको कन्काई नगरपालिका सुरुङ्गा नजिक उहाँमाथि केही व्यक्तिले गरेको आक्रमणले उहाँको निधारमा चोट लागेको छ। काँग्रेस उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरी अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाही गर्न माग गर्दछ।”
यो घटना प्रजातान्त्रिक मान्यताविपरीतको मात्रै नभई कोसी प्रदेशमा देखिएको अस्थिरताको संकेतसमेत हो। पार्टीले यस्ता घटनाहरूको रोकथाम र जिम्मेवार निकायले दोषीलाई समयमै कानुनी कठघरामा उभ्याउनुपर्नेमा जोड दिएको छ।
नेपाली काँग्रेसले कानुन र विधिको शासनलाई अक्षुण्ण राख्न सरकार र सम्बन्धित निकायलाई सशक्त रूपमा क्रियाशील हुन आग्रह गरेको छ। पार्टीले घटना पछाडि रहेका कारणहरूको गहिरो अनुसन्धान गरी थप यस्ता घटना हुन नदिन सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेको छ।