समाचार

प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न थोत्रो गाग्री लिएर गएका धरानका मेयर हर्क साम्पाङसँग सिंहदरबारमै खोसियो थोत्रो गाग्री

प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न थोत्रो गाग्री लिएर गएका  धरानका मेयर हर्क साम्पाङसँग सिंहदरबारमै खोसियो  थोत्रो गाग्री

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबारमा रित्तो गाग्रीसहित प्रवेश गर्न खोज्दा प्रहरीसँग तनाव उत्पन्न भएको छ। धरानमा खानेपानी समस्याको विषयलाई लिएर दबाब दिन प्रधानमन्त्री र खानेपानीमन्त्रीसँग भेट गर्न उनी सिंहदरबार प्रवेश गर्न लागेका थिए।

सिंहदरबारको पूर्वी र दक्षिणी गेटमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो। मेयर साम्पाङको साथमा रहेको गाग्री प्रहरीद्वारा खोसिएपछि स्थिति केही समय तनावपूर्ण बनेको थियो। यद्यपि, प्रहरीले उनलाई सिंहदरबार प्रवेश गर्न अनुमति दिएको छ।

धरानका स्थानीयबासीले लामो समयदेखि भोग्दै आएको खानेपानी समस्यालाई समाधान गर्न मेयर साम्पाङले आफ्नो कार्यकालभरि प्राथमिकतामा राखेका छन्। मेयर निर्वाचित हुनु अघि नै खानेपानी मुद्दालाई मुख्य एजेन्डा बनाएका साम्पाङ आफ्नो भूमिकामा सक्रिय रूपमा काम गरिरहेका छन्।

साम्पाङको यो कदमले केन्द्र सरकारको ध्यान आकर्षित गर्न खोजिएको हो। खानेपानीको समस्या समाधानका लागि उनले यसअघि पनि विभिन्न अभियान चलाएका थिए।