वैश्विक सञ्चार पूर्वाधारमाथि चीनको संगठित हमला
बेइजिङ, २०२५— चीनले हालै वैश्विक सञ्चार पूर्वाधारलाई लक्षित गर्दै एक संगठित आक्रमण रणनीति अपनाएको देखिन्छ। समुद्री फाइबर अप्टिक केबलहरूलाई निशाना बनाउँदै, चीनले डिजिटल सञ्चार नेटवर्कलाई कमजोर पार्ने प्रयास गरिरहेको छ।
सबैभन्दा पछिल्लो घटना ताइवानमा देखियो, जहाँ चिनियाँ सम्बन्धित एउटा कार्गो जहाज "सिङ शुन ३९" ले ट्रान्स-प्यासिफिक एक्सप्रेस केबललाई क्षति पुर्यायो। यो केबल धेरै देशहरूलाई जोड्ने अत्यन्त महत्त्वपूर्ण सञ्चार लाइन हो। अनुसन्धानपछि जहाजमा सात जना चिनियाँ नागरिक रहेको पाइएपछि यो कार्य अनायास भएको नभई रणनीतिक आक्रमण भएको पुष्टि भएको छ।
यस्तै घटनाहरू अन्य देशहरूमा पनि देखिएका छन्। बाल्टिक समुद्रमा लिथुआनिया, स्विडेन, फिनल्यान्ड र जर्मनीलाई जोड्ने दुईवटा समुद्री इन्टरनेट केबलहरू २४ घण्टाभित्रै काटिए। यस आक्रमणको प्रमुख आरोपी चिनियाँ झण्डा बोकेको "यी पेंग ३" जहाजलाई घटना स्थलको नजिक देखिएको थियो। जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले स्पष्ट रूपमा भने, "कसैले पनि यी केबलहरू संयोगले काटिएको विश्वास गर्दैन।"
चिनियाँ रणनीति केवल केबल काट्नेमा सीमित छैन। सन् २०१७ देखि २०२३ सम्म, ताइवानले करिब ३० पटक समुद्री केबल भाँचिने घटना भोगिसकेको छ, जसले विभिन्न क्षेत्रमा इन्टरनेट पहुँचमा अवरोध सिर्जना गर्यो। चीनको यो रणनीति केवल भौतिक क्षतिमा सीमित नरही आर्थिक, साइबर, र प्राविधिक फाइदा लिने गहिरो रणनीतिक खेल को हिस्सा भएको बताइन्छ।
विशेषज्ञहरू चीनको यस किसिमको गतिविधिलाई "ग्रे जोन आक्रमण" को संज्ञा दिन्छन्, जहाँ प्रत्यक्ष युद्ध नगरी नै रणनीतिक अस्थिरता सिर्जना गरिन्छ। समुद्री सञ्चार नेटवर्क ध्वस्त पार्ने रणनीति, सैन्यीकृत माछा मार्ने जहाजहरू र ताइवान आसपासको क्षेत्रमा चिनियाँ गस्ती बढाउने प्रवृत्तिले चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ रणनीतिक दृष्टिकोण देखाउँछ।
यसरी सञ्चार पूर्वाधारमाथि आक्रमण गरिनुका गम्भीर भू-राजनीतिक असरहरू छन्। ताइवानमा अवस्थित TSMC (Taiwan Semiconductor Manufacturing Company) जस्ता उच्च-प्रविधि उत्पादन केन्द्रहरूका लागि स्थिर इन्टरनेट अत्यावश्यक छ। यी केबलहरू ध्वस्त पार्नाले वैश्विक प्रविधि आपूर्ति शृङ्खलालाई समेत प्रभाव पार्न सक्छ, जसले चीनको प्राविधिक महत्त्वाकांक्षालाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ।
युरोपेली राष्ट्रहरू यस घटनाप्रति सचेत बनेका छन्। लिथुआनियाका रक्षा मन्त्रीले भने, "यदि उचित जवाफ दिइएन भने, शत्रु राष्ट्रहरूले थप आक्रमण गर्नेछन्।" कानूनी विज्ञहरू अनुसार, यस्ता घटनाहरूलाई अन्तर्राष्ट्रिय कानूनी मञ्चमा लैजानुपर्ने आवश्यकता छ, जसले भविष्यमा यस्ता आक्रमणहरूको रोकथाम गर्न सक्छ।
यस आक्रमणको सामना गर्न ताइवानले चीन-सम्बन्धित व्यवसायहरूसँग सम्बन्ध नभएका लो-अर्थ अर्बिट (LEO) उपग्रहहरूमा लगानी गर्न थालेको छ। यसबाहेक, अन्तर्राष्ट्रिय कानूनी विज्ञहरू चीनको रणनीतिक हस्तक्षेपलाई कानूनी रूपमा प्रत्युत्तर दिन सकिने उपायहरू खोजिरहेका छन्।
चीनको यो रणनीति केवल प्राविधिक अवरोध सिर्जना गर्ने होइन, बरु मनोवैज्ञानिक युद्धको हिस्सा हो, जसले अन्तर्राष्ट्रिय समाजको धैर्यता परीक्षण गरिरहेको छ। यदि समयमै उचित कूटनीतिक, आर्थिक, र प्रविधिक प्रतिकार नतिइयो भने, भविष्यमा चीनले अझ आक्रामक रूप लिने सम्भावना छ।
प्रविधि मात्र होइन, अन्तर्राष्ट्रिय सञ्जालको नियन्त्रणका लागि चीनले अब महासागरको गहिराइमा पनि युद्ध सञ्चालन गरिरहेको छ। यो नयाँ रणनीतिक लडाइँ चुपचाप तर योजनाबद्ध रूपमा अगाडि बढिरहेको छ, जसले सम्पूर्ण विश्वका सञ्चार पूर्वाधारलाई जोखिममा पार्न सक्छ।