समाचार

"नेपाली महिला क्रिकेट टोलीको चुनौती! कप्तान इन्दू बर्माले गरिन् ठूलो घोषणा!"

"नेपाली महिला क्रिकेट टोलीको चुनौती! कप्तान इन्दू बर्माले गरिन् ठूलो घोषणा!"

काठमाडौं, १७ माघ – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दू बर्माले बिहीबारदेखि सुरु हुने त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपालले उपाधि जित्ने दाबी गरेकी छिन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ। सिरिजअघि आयोजित पत्रकार सम्मेलनमा कप्तान इन्दूले आफ्नो टोली पूर्ण रूपमा सन्तुलित रहेको बताइन्। प्रधानमन्त्री कप क्रिकेट खेलेका अनुभवी खेलाडीहरूका साथै यू-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान पूजा महतोसहित दुई खेलाडी टोलीमा समावेश भएकाले नेपाल बलियो रहेको उनले उल्लेख गरिन्।

ब्याटिङ सुधारका लागि यो सिरिज निकै महत्वपूर्ण रहने बताउँदै उनले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचाल्ने लक्ष्य राखेको खुलाइन्। साथै, उनले महिला क्रिकेटमा दर्शकहरूको उपस्थिति बढाउन आग्रह गर्दै मैदानमा आएर समर्थन गर्न अपिल गरिन्।

थाइल्यान्डकी कप्तान नारुइमोल चाइवाईले उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताइन् भने नेदरल्यान्ड्सकी कप्तान बेबेट्टे डी लिडेले नेपालमा क्रिकेट खेल्न पाउँदा टोली उत्साहित रहेको प्रतिक्रिया दिइन्।

नेपालले बिहीबार नेदरल्यान्ड्सविरुद्ध खेल्दै सिरिजको सुरुवात गर्नेछ।