आन्दोलनको घाउ अझै निको छैन-कोटेश्वरकी गीता र काभ्रेका कमलले चाडपर्व अस्पतालमै बिताए!
गत भदौ २३ गतेको जेन–जि आन्दोलनले काठमाडौँका धेरै नागरिकका जीवनमा अनपेक्षित घाउ छोडेको छ। तीमध्ये एक हुन् सप्तरीकी ४८ वर्षीया गीता साह, जसको कोटेश्वरस्थित घडी पसल आन्दोलनकै दिन आगलागीमा परेपछि जलेर अशक्त भइन्। माइतीघरबाट सुरु भएको प्रदर्शन जब कोटेश्वरसम्म आइपुग्यो, प्रहरी चौकी नजिकै रहेको उनको पसल बाहिर उनी घटनाक्रम हेर्न निस्किँदा पेट्रोल मिसिएको आगोले शरीर पोल्यो। उनलाई तत्काल उद्धार गरी कान्तिपुर अस्पताल लगिएको थियो, तर भिडका कारण पछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा सारियो। अहिले पनि उनी त्यहीँको प्लास्टिक सर्जरी वार्डमा उपचाररत छिन्, शरीरको करिब १८ प्रतिशत भाग गम्भीर रूपमा जलेको छ।
उनका अनुसार, कम्मर मुनि र दायाँ हातमा घाउ गहिरो छ। लामो उपचारका कारण दशैँ र तिहारजस्ता चाड अस्पतालकै बेडमा बिताउनुपरेको गीता भन्छिन्, “बाहिर झिलिमिली देख्दा पनि मन भारी हुन्छ, यो वर्ष तिहारमा घर नै अँध्यारो भयो।” उनी अस्पतालमा रहँदा छोरा राहुलले पसल र घरको जिम्मेवारी सम्हालेका छन्। राहुल विदेश जाने तयारीमा थिए, तर आमा अस्पताल भर्ना भएपछि त्यो योजना अनिश्चित बनेको छ।
यस्तै, सोही दिन गोली लागेर घाइते भएका काभ्रेका २७ वर्षीय कमल घिमिरे पनि केएमसीकै हाइकेयर युनिटमा उपचाररत छन्। बानेश्वरमा दूध पु-याउन आएका उनी आन्दोलनको भिड हेर्न केही क्षण रोकिँदा छातीमा गोली लागेर ढलेका थिए। उनका काका प्राणनाथ घिमिरेका अनुसार गोलीले फोक्सोमा गम्भीर क्षति पुर्याएको छ। केही समय बोल्न नसके पनि अहिले उनी बिस्तारै निको हुँदैछन्। काका भन्छन्, “सरकारले निःशुल्क उपचार भनेको छ, तर औषधि र खानेखर्च आफैंले तिर्नुपर्दा धेरै गाह्रो परेको छ।”
कमलका लागि दशैँ र तिहार दुवै अस्पतालको शय्यामा बित्ने बाध्यता बन्यो। “अस्ति दशैँमा मैले नै उसलाई टीका लगाइदिएँ, यो तिहार भने भाइटीका पनि अस्पतालमै होला,” काका प्राणनाथले भावुक हुँदै भने।
जेन–जि आन्दोलनका घाइतेहरू अहिले पनि विभिन्न अस्पतालमा उपचाररत छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा ३ जना, बि एन्ड बि अस्पतालमा १ जना र नोबेल मेडिकल कलेजमा १ जना गरी ११ जना अझै अस्पतालमै छन्। आन्दोलनका क्रममा घाइते भएर उपचारका लागि देशभर २,५७१ जना अस्पताल पुगेका थिए।
आन्दोलनको तातो धुवाँ र चर्को नाराबीच घाइते भएका यी नागरिकहरूका लागि अबको समय शारीरिक मात्र होइन, मानसिक पुनर्निर्माणको पनि यात्रा हो — जसले उनीहरूको जीवनलाई फेरि सामान्य बनाउन राज्य र समाज दुवैको सहानुभूति र सहकार्यको परीक्षा लिँदैछ।