राष्ट्रपति पौडेल : छठ पर्वले नेपालीबीच ऐक्य, सद्भाव र संस्कृतिको उज्यालो फैलाउँछ
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वलाई राष्ट्रिय एकता, सामाजिक सद्भाव र मौलिक संस्कृतिको जीवन्त प्रतीकका रूपमा व्याख्या गरेका छन्। उनले विश्वास व्यक्त गरेका छन् कि सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै मनाइने यो पर्वले नेपाली समाजलाई अझ नजिक ल्याउनेछ।
छठ पर्व–२०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले भने, “छठ पर्वले वर्ग, जाति, धर्म र लिङ्गका आधारमा रहेका विभेद र विसङ्गतिहरू हटाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन सन्देश दिन्छ।” उनका अनुसार यस्तो पर्वले मौलिक परम्पराको संरक्षण र पर्यावरणीय चेतनाको प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्दछ।
राष्ट्रपतिले सूर्यविना पृथ्वीमा जीवन असम्भव हुने सन्दर्भ स्मरण गर्दै प्रकृतिप्रति आभार प्रकट गर्ने पर्वका रूपमा छठको मूल्य व्याख्या गरे। “अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठी मइयाको आराधनाले मानवीय करुणा, परिवारिक ऐक्य र समाजिक सद्भाव बलियो बनाउँछ,” उनले भने।
नेपालका विभिन्न नदी, पोखरी र तालतलैयाका किनारमा आज राति व्रतालुहरूले विधिपूर्वक पूजा–अर्चना गर्दै जाग्राम बसेर यो पर्व उल्लासपूर्वक मनाउँदैछन्। जनविश्वासअनुसार छठको व्रतले मनोकामना पूरा हुने, परिवारमा कल्याण ल्याउने र दुःख–कष्ट हटाउने मान्यता छ।