समाचार

दोहामा राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट: ‘नेपाल जेनजी आन्दोलनपछि जवाफदेही शासनको यात्रामा’

दोहामा राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट: ‘नेपाल जेनजी आन्दोलनपछि जवाफदेही शासनको यात्रामा’

दोहा (कतार) — राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच मंगलबार दोहामा भेटवार्ता भएको छ। राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहा पुगेका हुन्।

भेटमा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघले सामाजिक विकासका क्षेत्रमा निभाउँदै आएको नेतृत्वको प्रशंसा गर्दै भने, “नेपाल शान्ति, न्याय र दिगो विकासका साझा लक्ष्यहरूमा राष्ट्रसंघसँग हातेमालो गर्न तयार छ।”

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटका क्रममा उनले जेनजी आन्दोलनपछि नेपालले नयाँ राजनीतिक चरणमा प्रवेश गरेको उल्लेख गर्दै भने, “आन्दोलनले जवाफदेही, पारदर्शी र भ्रष्टाचारमुक्त शासनको माग गरेको छ, र सरकारले युवाको ती आकांक्षा पूरा गर्ने प्रतिबद्धता लिएको छ।”

राष्ट्रपतिले प्रतिनिधिसभा विघटन भई फागुन २१ गते आमनिर्वाचन तोकिएको जनाउँदै यस निर्वाचनले “राजनीतिक स्थायित्व र सुशासनको नयाँ अध्याय सुरु गर्ने” विश्वास व्यक्त गरे। उनले थपे, “हामीले जेनजी आन्दोलनपछि संविधान र लोकतन्त्रको रक्षा गर्दै देशलाई सुरक्षित अवतरण गराएका छौं।”

जलवायु परिवर्तनबारे विशेष चिन्ता व्यक्त गर्दै पौडेलले भने, “नेपालले विश्वस्तरमा नगण्य कार्बन उत्सर्जन गरे पनि यसको नोक्सानी disproportionate रूपमा हामीले भोगिरहेका छौं।” उनले सगरमाथा आधार शिविरको सन्दर्भ दिँदै भने, “जहाँ पहिले सेता हिमालहरू थिए, अहिले ती काला पहाडमा बदलिँदै छन् — यो दृश्य मात्र होइन, जीवन र जलस्रोत दुबैको संकट हो।”

गरिबी निवारण, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा नेपालले गरेको प्रगतिबारे जानकारी दिँदै उनले भने, “नेपाल दिगो विकास एजेन्डा २०३० का लक्ष्यहरूतर्फ दृढतापूर्वक अघि बढिरहेको छ।” साथै, उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाको निरन्तर योगदानलाई महासचिवले उच्च सम्मान दिएको उल्लेख गरे।

महासचिव गुटेरेसले नेपालजस्ता जलवायु जोखिममा परेका मुलुकका लागि विकसित राष्ट्रहरूबाट सहयोग सुनिश्चित गर्न राष्ट्रसंघ सक्रिय रहेको बताए। उनले नेपालको मानव अधिकारको सुधार र समस्या समाधान क्षमतालाई सराहना गर्दै भने, “नेपालका संस्थाहरू आफ्ना चुनौतीहरू समाधान गर्न सक्षम छन्।”

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।