राष्ट्रपति पौडेलको दोहामा भनाइ – “गरिबी निवारण, समावेशीकरण र दिगो विकास नै लोकतन्त्रको मेरुदण्ड”
कतार, दोहा — राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको स्थायित्व र समृद्धिको मूल जग नै सामाजिक समावेशीकरण, गरिबी निवारण र दिगो विकास भएको बताएका छन्।
दोहामा सोमबारदेखि सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन अन्तर्गत “सामाजिक विकासका तीन स्तम्भहरू — गरिबी निवारण, उत्पादनशील रोजगारी र सबैका लागि मर्यादित काम तथा समावेशीकरण” शीर्षकको उच्चस्तरीय गोलमेच सत्रलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको सफलता यी तीन आधारमा टेकेर मात्र सम्भव हुने बताए।
राष्ट्रपतिले भने, “गरिबी अन्त्य, रोजगारी सिर्जना र सामाजिक समावेशीकरण अमूर्त आदर्श होइनन्; यी नै शान्ति, सुव्यवस्था, समृद्धि र दिगो विकासका वास्तविक आधारस्तम्भ हुन्।”
उनका अनुसार विगत तीन दशकमा विश्वले सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि अझै ८० करोडभन्दा बढी मानिस चरम गरिबीमा जीवनयापन गर्न बाध्य छन्, लाखौं बेरोजगार छन्, र धेरै मानिस मर्यादित रोजगारीको खोजीमा देश छोड्न विवश छन्।
नेपालले गरिबी न्यूनीकरणलाई राष्ट्रिय प्राथमिकताको केन्द्रमा राखेको उल्लेख गर्दै उनले भने, “हामी स्वदेशमै रोजगारी सिर्जना गर्न, सीप अभिवृद्धि गर्न र डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा लगानी गरिरहेका छौं।”
राष्ट्रपतिले संविधानमा समावेश सामाजिक न्याय र समावेशीकरणलाई नेपालको मुख्य विशेषता बताउँदै अनौपचारिक र स्वरोजगार कामदारलाई समेत समेट्ने गरी योगदानमा आधारित सामाजिक सुरक्षा विस्तार भइरहेको जानकारी दिए।
उनले सार्वजनिक सेवा, शिक्षा र राज्यका निकायमा महिला, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायको सहभागिता उल्लेखनीय रूपमा बढेको बताए।
तर, उनले थपे, “जीवनस्तरमा स्थायी सुधार र स्वदेशमै आकर्षक रोजगारी सिर्जना गर्न अझै धेरै गर्न बाँकी छ।”
पौडेलले सुशासन र पारदर्शिताका लागि जवाफदेही संस्थागत ढाँचा आवश्यक रहेको बताउँदै हरित, डिजिटल र ज्ञानमा आधारित अर्थतन्त्रमा नयाँ अवसर पहिचान गर्न आग्रह गरे।
एजेन्डा २०३० को कार्यान्वयन र न्यून विकसित देशहरूलाई सहयोगका लागि विश्व समुदायबीच ऐक्यबद्धता सुदृढ गर्नुपर्ने उनको जोड थियो। “नेपाल त्यसका लागि सधैं तयार छ,” उनले भने।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा आइपुगेका राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी छन्। उनलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका उच्च अधिकारी र नेपाली राजदूतावासका प्रतिनिधिले स्वागत गरेका थिए।
राष्ट्रपति पौडेलले सम्मेलन सम्पन्न गरी कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ।