भारत–नेपाल स्टार्टअप पार्टनरशिपको पहिलो कार्यक्रम आईआईटी मद्रासमा, आवेदन खुला
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले आगामी महिनामा सुरु हुने भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (IN-SPAN) को पहिलो कार्यक्रमसम्बन्धी अभिमुखीकरण सत्र सन् २०२५ नोभेम्बर ४ गते आयोजना गरेको छ।
भारत र नेपालको स्टार्टअप इकोसिस्टमबीच सहकार्य र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुने पहिलो IN-SPAN कार्यक्रम सन् २०२५ डिसेम्बरमा भारतीय प्राविधिक संस्थान (आईआईटी) मद्रासमा सुरु हुने तालिका रहेको छ। यो ८-हप्ते पूर्ण रूपमा लागत–व्यहोर्ने (फुल्ली फण्डेड) प्रशिक्षण र नवप्रवर्तन कार्यक्रम हो, जसमा नेपालका स्टार्टअप प्रतिनिधिहरू सहभागी हुनेछन्। आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा सञ्चालन हुने यस मोड्युलमा तालिम, परामर्श (मेंटोरशिप) र इन्टर्नशिपका अवसरहरू समावेश गरिनेछ।

आईआईटी मद्रास प्रवर्तक अहिलेका अग्रणी इन्क्यूबेटरमध्ये एक हो, जसले अहिलेसम्म ४६ वटा स्टार्टअप इन्क्यूबेट गरिसकेको छ र १४ वटाले आफ्ना प्रविधिको व्यावसायिकीकरण गर्न सफल भएका छन्।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। उनले यो पहलले दुवै देशका नवप्रवर्तनशील युवाहरूबीच सहकार्य र अनुभव आदानप्रदानमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन्।

दूतावास परिसरमा भएको उक्त सत्रमा करिब १०० जना सहभागीहरू — स्टार्टअपहरू, सरकारी विभाग, वाणिज्य संघ, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल र विभिन्न शैक्षिक संस्थाबाट — उपस्थित थिए। साथै, वीरगंज र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको धरान क्याम्पसबाट करिब ६० जना सहभागीहरू भर्चुअल रूपमा सहभागी भए।
कार्यक्रममा आईआईटी मद्रासका प्रोफेसर गौरव रैना, प्रमुख वैज्ञानिक तथा सेन्टर फर ह्युमन सेन्ट्रिक एआईका प्रमुख, अनलाइनमार्फत सहभागी भएर आईआईटी मद्रास र प्रवर्तकको नवप्रवर्तन इकोसिस्टमबारे जानकारी दिए।

यसअघि, सोही दिन पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पनि यस्तै सत्र आयोजना गरिएको थियो, जसमा करिब ७० विद्यार्थी सहभागी भएका थिए।
आवेदनको म्याद सन् २०२५ नोभेम्बर १५ सम्म खुला छ। इच्छुक उद्यमीहरूले अनलाइन माध्यमबाट https://shorturl.at/Au8zh मा आवेदन दिन सक्नेछन्। छनोट प्रक्रिया आवेदनको मूल्याङ्कन र अन्तर्वार्ताका आधारमा हुने बताइएको छ।