गुल्मीमा भारतीय सहयोगमा विद्यालय भवनको शिलान्यास
काठमाडौं — नेपालको लुम्बिनी प्रदेशअन्तर्गत गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–३ मा रहेको श्री निन्यूखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने नयाँ भवनको शिलान्यास सम्पन्न भएको छ। शिलान्यास कार्यक्रम काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सलर गीतांजलि ब्रैंडन र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रूपमा गर्नुभएको हो।

भारत सरकारको आर्थिक सहयोगमा नेरु ३.८ करोड लागतमा निर्माण हुन लागेको उक्त विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत अघि बढाइएको हो। परियोजना धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ।
नयाँ पूर्वाधारमा फर्निचर, कक्षा कोठा तथा अन्य सहयोगी संरचनासहितको दुई तल्ले विद्यालय भवन निर्माण गरिने जनाइएको छ। शिलान्यास कार्यक्रममा गाउँपालिका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति प्रशंसा व्यक्त गरेका छन्।

नजिकका छिमेकी तथा विकास साझेदारका रूपमा भारत र नेपालबीच विभिन्न क्षेत्रमा बहुआयामिक सहकार्य रहँदै आएको छ। यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूले नेपालको विकास र समृद्धिको लक्ष्यमा भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरिएको छ।