समाचार

"पोल्याण्डमा नेपाली कन्सुलरको काण्डै काण्ड! मानव तस्करी र घूस प्रकरणले लियो उग्र मोड"

"पोल्याण्डमा नेपाली कन्सुलरको काण्डै काण्ड! मानव तस्करी र घूस प्रकरणले लियो उग्र मोड"

नेपाली कूटनीतिक संयन्त्रमा गलत व्यक्तिलाई जिम्मेवारी दिनु कत्तिको घातक हुन सक्छ भन्ने पछिल्लो उदाहरण पोल्याण्डको राजधानी वार्सामा देखिएको छ। अवैतनिक वाणिज्यदूत (कन्सुलर) डा. बोधराज सुवेदीमाथि मानव तस्करीदेखि गैरकानुनी शुल्क असुलीको आरोप लाग्दै आएको छ।

के हो विवाद?
जनवरी १७, २०२५ मा जर्मनीस्थित नेपाली राजदूतावासले मानव तस्करीसम्बन्धी उजुरी गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा सूचना पोस्ट गर्‍यो। कन्सुलर सुवेदीले उक्त सूचना आफ्नो आधिकारिक पेजमा सेयर गर्दै पीडितहरूलाई उजुरी दिन अनुरोध गरे। तर, यही पोस्टमुनि एक फेसबुक प्रयोगकर्ताले सुवेदीमाथि नै मानव तस्करीको आरोप लगाउँदै तीव्र आलोचना गरे।

थापा सूर्य नामक व्यक्तिले सुवेदीले पासपोर्ट नवीकरणमा ७५ ज्वलोटी लिने तर एनआरएनएमार्फत नवीकरण गर्दा ४० ज्वलोटी मात्र लाग्ने भन्दै भ्रष्टाचारको आरोप लगाए। सुवेदीले ती कमेन्टहरू हतारमा हटाए पनि थापाले वाणिज्य दूतावासको अफिसियल पेजमा पुनः उस्तै कमेन्ट पोस्ट गरे।

कूटनीतिक पदमै रहनु उपयुक्त?
एनआरएनए पोल्याण्डका एक पदाधिकारीका अनुसार, "सुवेदीमाथि लागेको संगीन आरोपका कारण उहाँले कूटनीतिक संयन्त्रको नेतृत्व गर्न सक्नुहुन्न। स्वेच्छिक रूपमा पद त्यागे राम्रो।"

यसअघि नै नेपाली कांग्रेसको भ्रातृ संगठन जनसम्पर्क समिति पोल्याण्डका अध्यक्ष नारायण चालिसेले परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गराएका थिए। तर, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उच्च राजनीतिक पहुँचका कारण उनलाई कन्सुलर पद दिइयो।

हाल, सुवेदीमाथि लागेको मानव तस्करी र गैरकानुनी शुल्क असुलीबारे परराष्ट्र मन्त्रालय तथा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा छानबिन भइरहेको छ। उनलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको स्रोतले बताएको छ।

पोल्याण्ड