"पूर्व मुख्य सचिवको ठहर: नेताहरूको ध्यान विद्यालय शिक्षामा मात्र, कृषि र रोजगारी बेवास्ता!"
नेपाल आजको कल्किजम रिसर्च सेन्टरद्वारा आयोजित ज्ञानतन्त्र बहस को चौथो एपिसोडमा बोल्दै, नेपालका पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदी ले राजनीतिज्ञहरू केवल विद्यालय शिक्षामा केन्द्रित रहेको आरोप लगाएका छन्।
नेपाल एक कृषि प्रधान देश भए पनि खेतीयोग्य जमिनहरू बाँझो बन्दै गएको बताउँदै, उनले "भर्टिकल फार्मिङ" जस्ता नयाँ प्रविधिहरूको प्रयोगको प्रयास भए पनि व्यावसायिक रूपमा सफल हुन नसक्ने र निर्यातमा कठिनाइ हुने चेतावनी दिए।
त्यसैगरी, उनले नेपालका विद्यालयहरू बिना उचित योजना खोलिएको उल्लेख गर्दै भने, "हामीले विद्यालयहरू पहुँचका आधारमा मात्र खोलेका छौं, जसले दीर्घकालीन असर पारिरहेको छ।" उनले प्राविधिक शिक्षामा अध्ययन गरेका व्यक्तिहरूले अनुसन्धान मात्र गर्ने तर वास्तविक किसानहरूलाई सिप नदिने प्रवृत्तिले नेपाललाई खाद्यान्न आयात गर्न बाध्य बनाएको पनि बताए।
बेरोजगारीका कारण लाखौँ नेपाली युवा विदेशिनु परेको विषयमा बोल्दै उनले "रोजगारीको अभावकै कारण परिवारहरू विखण्डन भइरहेका छन्" भने। उनले निजी विद्यालयहरू सरकारीभन्दा राम्रो हुने सोचाइलाई भ्रम भन्दै, सरकारी विद्यालयमै दक्ष शिक्षकहरू हुने र गुणस्तरीय शिक्षा दिन सक्ने बताए।
शिक्षा प्रणालीमा राजनीतिज्ञहरूको हस्तक्षेपबारे टिप्पणी गर्दै उनले "राजनीतिक नेताहरू विद्यालय शिक्षामा मात्र ध्यान दिइरहेका छन्, तर उच्च शिक्षामा योग्य र अनुभवी शिक्षकको छनोटमा चासो नै दिइएको छैन" भने। साथै, प्लस टु स्तरमा "जिवन उपयोगी सिप दिने व्यवस्था लागू गर्नुपर्ने" उनको सुझाव थियो।