."मन्त्रीको गाडीलाई साइड नदिएपछि ३ ट्रकलाई कडा कारबाही! चालकहरूले लगाए सत्ता दुरुपयोगको आरोप"
कपिलवस्तु – लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको गाडीलाई साइड नदिएको भन्दै तीनवटा मालवाहक ट्रकलाई कारबाही गरिएको छ।
घटना कपिलवस्तुको हुलाकी राजमार्गमा घटेको हो, जहाँ पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा गइरहेको मन्त्री कार्कीको लु १ झ ७३७ नम्बरको गाडीलाई बाटो नछोडेको आरोपमा ट्रक चालकहरूलाई रोकि जरिवाना गरियो। कारबाहीमा परेका ट्रकहरू प्र १०२००१ ख ८४७३, ३३५१, र ९२०७ नम्बरका रहेका छन्। चालकहरूलाई पाँच सय रुपैयाँ जरिवाना गरिएको छ।
मन्त्रीका निजि सुरक्षा अधिकृत (पीएसओ) हवल्दार कृष्णबहादुर खत्रीले ट्रकहरू रोक्न आदेश दिँदै ट्राफिक प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका थिए।
तर ट्रक चालकहरू भने अन्याय भएको गुनासो गरिरहेका छन्। “हामी सामान्य गतिमा थियौं, मन्त्रीको गाडीले एक्कासि ओभरटेक गर्दै बाटो छेक्यो र जबरजस्ती जरिवाना तिरायो। हामीलाई सत्ताको दम देखाइयो,” चालक दिलबहादुर कटुवालले आक्रोश पोखे।
प्रत्यक्षदर्शीहरूका अनुसार मन्त्रीको गाडी आफैं पनि तीव्र गतिमा थियो। मन्त्री कार्की भैरहवामा आयोजना भएको जनस्वास्थ्य कार्यक्रममा सहभागी हुन बिहान ९ बजे भालुवाङबाट हिँडेका थिए। मन्त्रीका पीएसओ हवल्दार खत्रीका अनुसार ट्रक चालकहरूले गाडीको भिडियो खिच्न थालेपछि र हर्न बजाउँदा पनि बाटो नछोडेपछि कारबाही गरिएको बताए।
चालकहरू भने मन्त्रीकै आदेशमा प्रहरीहरूले उनीहरूलाई जबरजस्ती रोकेर जरिवाना तिराएको आरोप लगाइरहेका छन्। “कानुन हाम्रै लागि बनेको रहेछ, पेल्ने भने हामी गरिखानेलाई नै रहेछ,” एक चालकले दुखेसो पोखे।