समाचार

"३० वर्षदेखिका एमाले नेता बिद्रोहमा! 'तुरुन्त निष्कासन गर' भन्दै पार्टीलाई खुला चुनौती!"

"३० वर्षदेखिका एमाले नेता बिद्रोहमा! 'तुरुन्त निष्कासन गर' भन्दै पार्टीलाई खुला चुनौती!"

नेकपा (एमाले) को सर्लाही जिल्ला कमिटी सदस्य शंकरराम श्रेष्ठले आफूलाई तत्काल पार्टीबाट निष्कासन गर्न माग गरेका छन्। जिल्ला कमिटी अध्यक्ष राजनारायण साहले स्पष्टीकरण सोधेसँगै श्रेष्ठले कडा प्रतिक्रिया जनाउँदै पार्टी छाड्न चाहेको घोषणा गरेका हुन्।

लालबन्दी नगरपालिका–६ निवासी श्रेष्ठले पार्टीका कारण आफूलाई धेरै पीडा भएको उल्लेख गर्दै अब स्वतन्त्र रूपमा बाँच्न चाहेको बताएका छन्।

किन भयो विवाद?

एमाले सर्लाही जिल्ला कमिटीले माघ २० गते श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो। पार्टीको प्रतिष्ठा र अनुशासन उल्लंघन गर्दै सामाजिक सञ्जालमा निरन्तर नेतृत्वविरोधी स्ट्याटस लेखेको आरोपमा उनलाई सात दिनभित्र लिखित जवाफ दिन निर्देशन दिइएको थियो।

स्पष्टीकरण पत्रमा भनिएको थियो:
"तपाईंले पार्टी अनुशासन किन तोड्नुभयो? किन निरन्तर पार्टी विरोधी सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो? सात दिनभित्र लिखित स्पष्टीकरण नदिएमा पार्टी विधानअनुसार कारबाही अघि बढाइनेछ।"

श्रेष्ठको आक्रोशपूर्ण जवाफ

श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा जवाफ फर्काएका छन्। उनले आफू ३० वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेको बताउँदै पार्टीको कृपाले होइन, मेहनतले जिल्ला कमिटी सदस्य बनेको स्पष्ट पारे।

उनले लेखेका छन्:
"म नेकपा (एमाले) को संस्थापक सर्लाही जिल्ला कमिटी सदस्य हुँ। ३० वर्षअघि पनि पत्रकारितामा थिएँ, अहिले पनि सक्रिय छु। म कसैको कृपाले होइन, आफ्नो मेहनतले यहाँ पुगेको हुँ। अहिलेका केही नेताहरूको हर्कत म सहन सक्दिन। मलाई एमालेबाट तुरुन्त निष्कासन गर, म स्वतन्त्र भएर बाँच्न चाहन्छु।"

श्रेष्ठको यो घोषणाले एमालेभित्र खैलाबैला मच्चिएको छ। अब पार्टीले के निर्णय लिन्छ भन्ने चासो बढेको छ।

नेकपा (एमाले)